मूर्ति फर्काऊ अभियान

स्व. लैनसिंह वाङ्देल

सन् १९६० को दशकमा काठमाडौँका बहाः, बही, टोल, गल्ली र चौर-मैदानबाट मूर्ति चोरी हुन थाल्यो। हाम्रा उमामहेश्वर, बुद्ध भगवान्, तारा, भैरव स्थानीय फटाहाले चोर्‍यो र दलाललाई बुझायो, अनि दलालले अन्तर्राष्ट्रिय आर्ट डिलरलाई बेच्यो। अनि मूर्तिहरू पुगे समुद्रपार, या धनाढ्यका प्राइभेट कलेक्सन सजाउन या त ठूला ठूला कला सङ्ग्रहालयको एसियन कक्षको एग्जिबिट बन्न। टोलवासीका पूजाआजामा फूल, अक्षता, अबिर, जल र प्रसाद ग्रहण गर्ने देवदेवी अब टलक्क टल्कने गरी स्पट्लाइट मुनि एउटा कलाकृतिका रूपमा सङ्ग्रहालय आगन्तुकसामु ठड्याइन्छन्। हाम्रा मूर्तिले भक्ति पाउँदैनन्, मानौँ ती कुनै मासिइसकेको सभ्यताका प्रतिनिधि हुन्, जसको मात्र पुरातात्त्विक र कलात्मक अर्थ छ। ती देव-देवताको आकार मात्र त्यहाँ छ। तिनको आत्मा र अस्तित्व यहाँ छ, जहाँ छन् भक्तजन। हाम्रो योजना हुनुपर्दछ हाम्रा भगवान्हरूलाई फिर्ता ल्याउने।

ग्रीसले पार्थेनन्बाट चोरी भएका सङ्गमरमरका मूर्ति फिर्ता गर्न दशकौँको अभियान लडिरहेछ। इजिप्ट, चीन, पेरु जताततैबाट चोरीका ऐतिहासिक कलाकृति फिर्ता गर्ने माग आइरहेछ, जो विशेषतः उपनिवेशकालमा स्थानान्तरण गरिएका थिए। नेपालको पनि सशक्त दाबी हुनुपर्दछ चोरिएका मूर्ति फिर्ताका लागि। र हाम्रो माग अरूको भन्दा पनि जायज छ, किनकि-

 

युर्गेन शिक

• हाम्रा मूर्तिहरू जीवित संस्कृतिका प्रतिनिधि हुन्, लोप भइसकेको पुरातात्त्विक संस्कृतिका नमुना होइनन्। स्थानीयवासीले पूजा गर्दा गर्दै चोरी भएका हाम्रा एक-एक मूर्ति पश्चिमा सङ्ग्रहालयमा अवस्थित छन्।

• सार्वजनिक थलोबाट लुटिएका यी मूर्तिहरू चोरी भएका हुन्, जबकि अन्यत्र चोरी भएको/नभएकोमा बहस र व्याख्या हुने गर्दछ।

चोरीको सांस्कृतिक वस्तु फिर्ता सम्बन्धी सन् १९७० को अन्तर्राष्ट्रिय सन्धि युनेस्को संस्था अन्तर्गत सञ्चालित छ। नेपालबाट चोरी भएका हजारौँ मूर्तिहरू (काठमाडौँ उपत्यकाबाट मात्र होइन, सिम्रौनगढदेखि पहाडका कुनाकन्दरासम्म) फिर्ता गर्नको लागि तथ्य, सिद्धान्त र नैतिकता सबै हाम्रो पक्षमा छन्। मात्र हामी क्रियाशील हुनसकेका छैनौँ। एउटा व्यवस्थित र सशक्त अन्तर्राष्ट्रिय अभियान थाल्ने हो भने एकातर्फ समुद्रपारबाट मूर्ति फिर्ता आउने क्रम शुरु हुनेछ भने अर्कोतर्फ नेपाली मूर्तिको भूमिगत बजार भाउ पनि घट्नेछ। जबसम्म हाम्रो मूर्ति फर्काऊ अभियानले गति लिँदैन हामीले यतिसम्मको सूचना भने अन्तर्राष्ट्रिय कला पारखी आर्ट डिलर तथा ठूला-साना सङ्ग्रहालयलाई दिन सक्दछौँ: “हाम्रो जीवन्त संस्कृतिको एउटा अंश, यी मूर्तिहरू चोरी भएर तिमीकहाँ आएको हो। आजै हामी ती मूर्ति फिर्ता ल्याइहाल्ने अवस्थामा छैनौँ, किनकि फेरि चोरी हुन सक्दछ। जति बेला घर फिर्ता ल्याइएका मूर्तिलाई हामी सुरक्षा दिन सक्दछौँ र फेरि चोरी हुँदैन भनेर हामी सुनिश्चित हुन्छौँ, त्यति बेलासम्म यी हाम्रा नासोको रूपमा तिम्रो कलेक्सन र म्युजियममा रहने छन्।”

नेपालमा आजसम्म मूर्ति फिर्ता अभियान शुरु हुन नसकेकोमा हामीभित्रको कमी-कमजोरी खोतल्न जरुरी छ। किन राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक उथलपुथलमाझ् हामी चोरिएका सम्पदा फिर्ता लेराएर सुरक्षा दिँदै हाम्रो समाजलाई सांस्कृतिक ऊर्जा दिन तम्सिएनौँ?

 

रमेश ढुङ्गेल

भाग्यवश काठमाडौँ उपत्यकाको महान् नेवार सभ्यताको सम्पदाको महत्वपूर्ण अंश रहेका चोरिएका मूर्तिलाई फिर्ता लेराउन पृष्ठभूमि तयार पार्न तम्सेका धेरै व्यक्तिहरू छन्। हामीलाई अभिलेखीकरणदेखि फोटोग्राफी, इतिहास र मूर्तिकलामा गहिरो ज्ञान र अध्ययन गर्ने क्षमता भएका व्यक्तिहरू चाहिन्छन्। यस्ता व्यक्ति मध्य-उपत्यकावासी छन् र विदेशी पनि। केहीको नाम लिनु पर्दा-

• स्व. लैनसिंह वाङ्देल जसले उपत्यका र बाहिरका बस्तीहरूमा मिहिनेत गरी तयार पारेका स्टोलनइमेजेस् अफ नेपाल (रोयल नेपाल एकेडेमी, सन् १९८९)।
• युर्गेन शिक, जर्मन लेखक र फोटोग्राफर, जसले वाङ्देलले जस्तै फोटोग्राफीय अभिलेखीकरण गरे र सन् १९९८ मा द गड्स आर लिभिङ द कन्ट्री पुस्तक प्रकाशित गरे।

रवीन्द्र पुरी

• इतिहासविद् रमेश ढुङ्गेल, जसले न्युयोर्क शहरको मेट्रोपोलिटन आर्टको एग्जिबिट कक्ष तथा भण्डारमा रहेका दर्जनौँ मूर्तिहरूको अध्ययन गरेर सन् २०१० मा लस्ट हेरिटेजः हिन्दु एण्ड बुद्धिस्ट आर्ट अफ नेपाल एट द मेट्रोपोलिटन म्युजियम अफ आर्ट प्रकाशित गरे।
• आर्किटेक्ट तथा संरक्षणविद् रवीन्द्र पुरी, जो चोरी भएर समुद्रपार लगिएका ५० मूर्तिको हुबहु प्रतिलिपि मूर्ति बनाउने अभियानमा जुटेका छन्। यी ५० मूर्तिलाई पनौतीमा एउटा सङ्ग्रहालय बनाएर मूर्ति चोरी बारेमा संवेदनशीलता जगाउने पुरीको योजना हो।

लैनसिंह वाङ्देल, युर्गेन शिक, रमेश ढुङ्गेल तथा रवीन्द्र पुरीको कामले हामीलाई उत्साह दिन्छ। उहाँहरूले गरेको काम र कैयन् अरू लागिपरेका विशेषज्ञ र चिन्तनशील नागरिकहरूको आडमा, आश गर्ने ठाउँ छ; हाम्रा मूर्ति फिर्ता लेराउने अभियान शुरु होस्। र धेरै वर्ष नबित्दै हाम्रा देवदेवीहरू आफ्नो थातथलो फिर्ता आउने क्रम शुरु होस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *