बर्माका ३ नेपाली हाकिम

हिमाल खबरपत्रिका (१६-२९ माघ २०६७) बाट

बर्मामा खटिएका तीन नेपाली हस्तीहरुको ज्ञान, अनुभव र सीप जन्मभूमि नेपालले प्रयोग गर्न पाउनुपर्छ। उनीहरू फर्किंदा समाज र मुलुकले प्रफुल्ल भएर स्वागत गर्नेमा कुनै शङ्का छैन।

कनकमणि दीक्षित
भाइराजा पाण्डे, रमेशमान श्रेष्ठ तथा विश्व पराजुली (बायाँबाट क्रमशः) बर्माको राजधानी ने ति प मा ४ जनवरी २०११ मा आयोजित बर्माको स्वतन्त्रता दिवस समारोहमा जाँदै।

काठमाडौं, कोटेश्वरका विश्व पराजुली र न्ह्योखाका रमेशमान श्रेष्ठ तथा धादिङका भाइराजा पाण्डे यतिवेला विकासका जल्दाबल्दा चुनौती र चरम भूराजनीतिक संवेदनशीलतामाझ् रहेको बर्माको पूर्व राजधानी रङ्गुन शहरमा विभिन्न संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख छन्। पराजुली संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को तर्फबाट बर्माका लागि सबै राष्ट्रसंघीय नियोगहरूको संयोजन तथा नेतृत्व गर्ने रेसिडेन्ट् कु-र्डिनेटर हुन्भने श्रेष्ठ बालबच्चा तथा महिला उत्थानको काम गर्ने युनिसेफका प्रमुख, अनि पाण्डे शरणार्थी हेरचाह गर्ने युएनएचसीआरका प्रमुख।

साढे पाँच करोड जनसङ्ख्या भएको बर्मा बडो विरोधाभासपूर्ण अवस्थामा छ― तेल, ग्यासलगायत विभिन्न खनिज, बहुमूल्य पत्थर र वनजङ्गलजस्ता सम्पदामा सम्पन्न तर शिक्षा, स्वास्थ्य, रोजगारी र मानवीय विकासका मापदण्डमा पछाडि। जनता चरम गरिबीमा पिल्सिएका छन् र अझै काठको पाङ्ग्रा भएको गोरुगाडा चलाउँछन्। सन् २००८ मा आएको नर्गिस नामको भीषण समुद्री आँधीले यहाँ एक लाख भन्दा बढीको ज्यान लियो, जबकि छिमेकी बङ्गलादेश यस्ता प्रकोपको सामना गर्न सक्षम भइसक्यो।

बर्माका सम्भावनालाई उसको वर्तमानले गिज्याइरहेछ। जनताले खुला समाजमा आफ्नो बाटो पहिल्याउन सक्ने अवस्था छैन। यहाँ सैनिक शासन छ, थान श्वे नामक अधिनायकका साथ पाँच जना रथीले मुलुक चलाएका छन्। दुई दशकभन्दा बढी नजरबन्द रहेकी बर्माकी नेतृ, नोबेल पुरस्कार विजेता आङ साङ सुची भर्खरै रिहा भएकी छन्, तर गएको नोभेम्बरको चुनाव रत्तिभर पनि स्वतन्त्र र निष्पक्ष भएन। सैनिक जुन्ताको इसाराअनुसारकै परिणाम आएको सो निर्वाचनमा आफ्नो वर्चस्व कायम गर्न सफल शासक वर्गले मुख्यतः विभिन्न जातीय विखण्डनकारी अभियान र पश्चिमा मुलुकहरूको हस्तक्षेपको खतरा देखाएर उग्रराष्ट्रवादको तथा आफूलाई एकदमै बौद्धमार्गी देखाएर धर्मको प्रयोग गरेको थियो।

धनी र गरिब, अधिनायकत्वको पकडमा रहेको अनि दक्षिण र दक्षिणपूर्वी एसियाबीचको महत्वपूर्ण भूराजनीतिक क्षेत्र गटेको मुलुक बर्मा (नयाँ नाम म्यानमार) मा खटिएका छन् तीन नेपाली हस्ती। चीन, रूस, आसियान र भारतको समेत आड पाएको जुन्ताले पश्चिमा मूलका मानिसलाई हत्पत्ति अन्तर्राष्ट्रिय नियोगका प्रमुख स्वीकार्न चाहँदो रहेनछ। अर्कोतिर, शाक्यमुनि बुद्धको जन्मस्थल भएको र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले बर्माको स्वतन्त्रता बचाउन सघाएकाले बर्मेलीहरू नेपालीलाई बडो सौहार्दताका साथ हेर्दा रहेछन्। बर्मामा उल्लेख्य सङ्ख्यामा रैथाने नेपाली भएका कारण पनि नयाँ राजधानी ने ति प का अधिकारीहरू अन्तर्राष्ट्रिय संस्थाद्वारा मनोनीत नियोग प्रमुखमा नेपालीको एग्रिमो परिपत्र सहर्ष स्वीकार्दा रहेछन्।

विश्व पराजुली

चार दशकअघि त्रिभुवन विमानस्थलको धावनमार्ग विस्तार हुँदा कोटेश्वर सरेको पराजुली परिवारका आठ दाजुभाइ-दिदीबहिनीमध्ये जेठा स्वर्गीय पत्रकार मुकुन्द पराजुली थिए भने कान्छा विश्व। पद्मोदय स्कूल र पाटन क्याम्पस हुँदै भारतबाट कृषि र व्यवस्थापन विशेषज्ञ बनेरकृषिविज्ञ रामप्रकाश यादवको निर्देशनमा कृषि आयोजना सेवा केन्द्र (एप्रोस) मा काम थालेका उनले सन् १९८२ मा दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा पहिलो अन्तर्राष्ट्रिय जिम्मेवारी प्राप्त गरे, युएन भोलुन्टिर को। त्यसपछि २३ वर्ष उनको करिअर विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मा बित्यो।

सुडानको आन्तरिक कलहमाझ् जनतालाई खाद्यान्न र राहत पुर्‍याउन इटालीको रोममा खटिए, भर्खर द्वन्द्व समाप्त भएको दक्षिण अफ्रिकाको मोजाम्बिकमा २० लाख विस्थापित तथा पूर्व विद्रोही रेनामो को व्यवस्थापन र पुनर्स्थापनामा लागे। डब्लुएफपीको सबैभन्दा ठूलो कार्यक्रम भएको बङ्गलादेशमा ब्राक, ग्रामिन र प्रोशिका जस्ता मेगा-एनजि तथा माइक्रो-क्रेडिट र ग्रामीण सडकका काममा संलग्न भए। ढाकामा तीन वर्ष खटिएपछि चार वर्ष इन्डोनेसियामा शहरी गरिबलाई सहयोग पुर्‍याउने कार्यक्रम चलाए। डब्लुएफपीको कन्ट्री चिफ हुन इजिप्टको काइरो पुगे र संसारकै सबैभन्दा ठूलो विपन्नका लागि सेफ्टीनेट सञ्चालनको अनुभव बटुले। गरिबलाई सुपथ मूल्यमा रोटी उपलब्ध गराउने सरकारको कार्यक्रमलाई सघाउन गहुँमा माइक्रो न्युटि्रएण्ट पोषण थप्ने योजना बनाए। इजिप्टको काममा उत्कृष्ट सिर्जनाका लागि सन् २००६ मा डब्लुएफपी रोमले पराजुलीलाई सम्मान गर्‍यो।

डब्लुएफपीका प्रतिनिधि पराजुली २००८ मा राष्ट्रसंघीय कार्यक्रमको संयोजकका रूपमा बर्मामा खटाइए। पश्चिमा देशहरूले लगाएको नाकाबन्दी तथा भूराजनीतिक कारणले समेत संवेदनशील बर्मामा यो पद सम्हाल्नुअघि ने ति प सरकारले उनका पूर्ववर्ती पदाधिकारीलाई पर्सना ननग्राटा घोषित गरी देश छोड्न लगाएको थियो। कार्यभार सम्हाल्न नपाउँदै पराजुलीले मे २००८ को समुद्री आँधी नर्गिस मा उद्धार र राहतको मानवीय कार्यमा लाग्नुपर्‍यो, त्यसलगत्तै र गत वर्ष महासचिव वान की मुनको भ्रमण सञ्चालन गर्नुपर्‍यो भने संयुक्त राष्ट्रसंघको विकास कार्य, मानवीय सहयोग तथा राजनीतिक पक्ष तीनै क्षेत्रमा कार्यभार सम्हाल्नु परेको छ।

पराजुलीको कार्य चार पदमा बाँडिएको छः मानवीय संयोजक, युएन संस्थाहरूको संयोजक, युएनडीपीको प्रतिनिधि तथा महासचिव वान की मुनको राजनीतिक गुड अफिसेस् कार्यान्वयन प्रतिनिधि। सत्ताका मुख्य पात्रहरूसँग पश्चिमा राजदूतहरूको न्यून पहुँच भएको अवस्थामा पराजुली सबैका लागि महत्वपूर्ण माध्यम बन्ने गरेका छन्। नोभेम्बरको चुनावलगत्तै र आङ साङ सुचीको रिहाइअघि न्युयोर्क मुख्यालयबाट आएका उच्च पदाधिकारी इब्राहिम गाम्बारी र त्यसपछि सतिस नाम्बियारसँग सत्ताध्यक्ष थान श्वेको उच्चस्तरीय भेटमा उनको पनि संलग्नता थियो। सुचीको रिहाइपछि पराजुली विकाससम्बन्धी छलफलका लागि उनको निवास पनि पुगेका थिए।

बर्मामा तीनै ठूला युएन संस्थाका प्रतिनिधि नेपाली भएकाले अप्ठेरो अवस्थामा राजनीतिक, विकास तथा मानवीय सहयोग तीनै क्षेत्रमा काम गर्न सजिलो भएको बताउँछन्, ५४ वर्षका पराजुली। “पाण्डेजी र रमेशजी जस्ता सहकर्मी हुँदा संयुक्त राष्ट्रसंघकै क्रियाकलापमा राम्रो प्रभाव परेको छ। हामी एकापसमा सौहार्दतासहित बहस र सूचना आदान-प्रदान गर्छौं र जटिल विषयहरूबारे निष्कर्ष निकाल्छौं।”

भाइराजा पाण्डे

धादिङका भाइराजा पाण्डेले दिल्ली विश्वविद्यालयबाट कानुन पढेपछि काठमाडौंको नेपाल ल क्याम्पसमा पढाए अनि अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयबाट एलएलएम गरे। त्यसपछि सन् १९८३ मा राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरमा सम्मिलित पाण्डे संसारका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेर आफ्नो करिअरको अन्तिम एसाइन्मेन्ट मा बर्मा आएका हुन्। पाण्डेको अनुभव द्वन्द्वग्रस्त जनमानस र विशेषगरी शरणार्थीको राहतमा छ।

युएनएचसीआरमा झ्ण्डै तीन दशक काम गर्दा विश्वका डरलाग्दा हट स्पट मा खटिएका पाण्डे मुजाहिद्दीनले अफगानिस्तानमा सोभियत युनियन विरुद्ध लडाईं छेड्दा सन् १९८५ मा पेशावरमा थिए भने त्यसलगत्तै दुई वर्ष सोमालिया, एक वर्ष इरान अनि सिरिया र इजिप्टमा खटिए। इरानले अफगानिस्तानी शरणार्थी फिर्ता धकेल्न खोज्दैथियो, उता इराकमा अमेरिकी आक्रमण (पहिलो गल्फ युद्ध) का कारण सिरियाली राजधानी दमास्कसमा इराकी शरणार्थी इरिए। इजिप्टमा हुँदा दक्षिण सुडानका शरणार्थीको रेखदेखको जिम्मा पाएका पाण्डेले कङ्गो, लिविया, इजिप्ट, इथिपिया र केन्यामा छरिएका ती शरणार्थीलाई गृहयुद्धको अन्त्यपछि घर फर्काउने काम पनि गर्नु पर्‍यो। एक महिनाअघि जनमत सङ्ग्रहमा दक्षिण सुडानले स्वतन्त्र हुने निर्णय लिएको छ।

५८ वर्षीय पाण्डे चेच्निया अपरेसन प्रमुख हुँदाको अनुभवलाई सबैभन्दा महत्वपूर्ण मान्दछन्। चेच्नियाले रसियाबाट स्वतन्त्र हुन खोजेकाले त्यस क्षेत्रमा ठूलो तनाव थियो, रूसी फौजी कारबाहीमाझ् महिला र बालबच्चा बढी जोखिममा थिए। पाण्डेअघिका युएनएचसीआर अधिकारी ११ महिना अपहरणमा परेका थिए।

पछिल्ला केही वर्ष दक्षिणपूर्व एसियामा बिताएका पाण्डेले ब्याङ्कक्मा रहँदा लास्, कम्बोडिया र भियतनाममा शरणार्थी रेखदेख गर्ने र बर्माको पृथकतावादी विद्रोहबाट थाइल्यान्ड पुगेका केरेन तथा केरेनेनी शरणार्थीलाई राहत पुर्‍याउने काम गरे। रङ्गुन आएपछि बर्मा भित्रैबाट यो शरणार्थी समस्या सल्ट्याउने जिम्मेवारी आएको छ। अधिकांश बर्मेली बौद्धमार्गी र धेरै इसाई पनि छन्। उत्तर पश्चिम बर्माका मुसलमान जाति रोहिङ्गयालाई अपनाउन बर्मेली सत्तालाई गाह्रो परेकाले त्यहाँ उत्पन्न शरणार्थी समस्या सुल्झाउने प्रयासमा पनि पाण्डे लागेका छन्।

बर्मामा कूटनीतिको एउटा अनौठो पाटो छ― गोल्फ डिप्लोमेसी। यहाँका सत्ताधारी जनरलहरू सबै गोल्फ खेल्ने र जङ्गलको बीचमा बनेको राजधानी ने ति प मा धेरैजसो कूटनीतिक सम्पर्क बाहिर रहने हुनाले यो खेलको महत्व धेरै छ, बर्मामा। विश्व पराजुली र भाइराजा पाण्डे दुवै गोल्फ खेल्दै सरकारको नेतृत्वसँग महत्वपूर्ण विषयमा वार्ता गर्छन्। पाण्डेको त गोल्फमा पनि राम्रै हात बसेको छ। बर्मेली स्वतन्त्रता दिवसको अवसरमा ने ति प मा सरकारद्वारा आयोजित उच्च अधिकारी-कूटनीतिज्ञ टुर्नामेन्टमा पाण्डे हरेक क्याटोगरी मा पहिला भएका थिए।

“म्यानमारमा तीन महत्वपूर्ण युएन संस्थाका प्रमुख नेपाली भएकाले बर्मेली जनताका लागि काम गर्न सजिलो भएको छ”, पाण्डे भन्छन्, “विश्वजीलाई राजनीतिक तथा कूटनीतिक अभिभारा बढी छ भने बालबच्चा तथा महिलामा केन्द्रित काम गर्ने रमेशजीको बजेट ठूलो छ। मेरो काम नितान्त मानवीय राहतमा केन्द्रित छ। रमेशजी र मेरो उपस्थितिका कारण विश्वजीको समन्वयकर्ताको काम सजिलो भएजस्तो लाग्छ।”

रमेशमान श्रेष्ट

५८ वर्षीय रमेशमान श्रेष्ठले आनन्दकुटीबाट स्कूल, अस्कलबाट बीएस्सी अनि भारत, हल्यान्ड र इजरायलमा जनस्वास्थ्य, मानवशास्त्र तथा ह्युमन न्युटि्रसनको पढाइ गरे। त्रिभुवन विश्वविद्यालयको अनुसन्धान विभागमा काम गर्दा ४८ जिल्ला घुमेका उनको इन्स्टिच्युट अफ मेडिसिनका विद्यार्थीलाई फिल्ड टि्रपमा लैजाँदा जनस्वास्थ्यमा चाख बढ्यो।

काठमाडौंमा सन् १९८२ मा युनिसेफसँग आवद्ध भएर चार वर्षपछि अन्तर्राष्ट्रिय क्षेत्रमा काम गर्न पुगेका श्रेष्ठले उक्त संस्थामा २५ वर्ष बिताएका छन्। शुरुमा स्वास्थ्य तथा न्युटि्रसनको प्रमुख भएर दक्षिण अफ्रिकी मुलुक मालावीमा काम गरे र त्यसपछि बालसुरक्षाका लागि भियतनाम खटिए। त्यतिवेला युनिसेफमा वरिष्ठ पद सम्हालेका कुलचन्द्र गौतम (हे. बक्स) सामु एउटा प्रस्तुति गरेको उनी अहिले पनि सम्झ्न्छन्। सन् १९९४ मा माल्दिब्सको लागि युनिसेफ प्रमुख भएर पहिलो गल्फ युद्धताका १९९७ मा उत्तरी इराकको कुर्द समुदायलाई सहयोग गर्न अर्बिल शहरमा दुई वर्ष काम गरे। अफ्रिकामा युनिसेफको घाना तथा यमन अफिसको प्रमुखहुँदै अहिले अन्तिम असाइन्मेन्ट मा रङ्गुनमा छन्। बर्मा आएपछिको नौलो अनुभवबारे उनी भन्छन्, “म्यानमारमा तीनवटा युएन संस्थाका प्रमुख नेपाली छौं, यस्तो मैले कतै पाएको थिइनँ। हामी तीन जनाको स्वभाव फरक छ, तर हामी एकअर्कालाई विश्वास गर्छौं भने यहाँका सरकारी पक्षसँग पनि विश्वासको वातावरण बनाउन सफल भएका छौं।”

हुन पनि तीनैजना नेपाली हाकिमको स्वभाव विल्कुलै अलग छ। अग्ला कदका स्पोर्टस्म्यान पाण्डे हरदम जिस्किरहन्छन्, चुपचाप रहने खालका श्रेष्ठ भेटघाटमा अलिबेरपछि मात्र खुल्छन् भने पराजुली सबैलाई मद्दत गर्न अग्रसर र मिजासिला छन्। सबै नेपाली हाकिमका श्रीमती (मीना पाण्डे, मञ्जु श्रेष्ठ र कल्पना पराजुली) ले उनीहरूलाई सामाजिक र पारिवारिक रूपले टेवा दिएका छन्, नत्र हरेक दुई-चार वर्षमा ड्युटी स्टेसन फेर्नुपर्ने पेशामा परिवारसामु चुनौतीहरू त हुन्छन् नै।

नेपालको कमजोर शिक्षा अवस्थालाई झ्ेलेर पनि नेपालीहरू कसरी यस्तो अन्तर्राष्ट्रियस्तरको व्यावसायिक हुन पुगेका हुन् भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, “हाम्रा स्कूलहरूले जीवनको लागि धेरै तयारी गरिदिन सक्दैनन्। किताबमा पढेको कुरा आफैं बुझन र जीवनमा उतार्न कोशिश गर्नुपर्छ, जोखिम मोल्न तयार हुनुपर्छ।” बर्मा र अन्यत्र पनि आफूले औपचारिक-अनौपचारिक हिसाबले पढेका/बुझेका कुरा प्रयोगमा ल्याउन खोजेका श्रेष्ठ थप्छन्, “पठनपाठन भनेको विश्लेषणात्मक चिन्तनलाई सहयोग दिने खालको हुनुपर्छ। मैले विकास विशेषज्ञको रूपमा आफ्नो ज्ञान अरूलाई हेरेर, बुझेर पाएको हुँ।”

बर्माका यी तीन इन्टरनेसनल सिभिल सर्भेन्टस् को सफलतालाई एउटै सूत्रले बाँधेको देखिन्छ― आफूलाई आफैंले सपार्ने अठोट। उपत्यका र जिल्लाका मध्यमवर्गीय परिवारबाट आएर, मुलुकभित्रकै स्कूल-कलेजमा पढेर पनि उनीहरूले सेल्फ स्टडी गर्दै आ-आफ्नो विशेषज्ञता पहिल्याए― पराजुलीले कृषि र व्यवस्थापन, श्रेष्ठले स्वास्थ्य र पोषण अनि पाण्डेले अन्तर्राष्ट्रिय कानुन तथा मानव सुरक्षा।

अवकाशपछिको उपयोग
पाण्डे र श्रेष्ठ अवकाशको उमेरमा पुगेका छन्, पराजुलीको केही वर्ष बाँकी छ। बर्माका यी हस्तीहरूको ज्ञान, अनुभव र सीप जन्मभूमि नेपालले प्रयोग गर्न पाउनुपर्छ। दशकौंदेखि दक्ष युवाशक्ति पलायन हुन थालेको र बौद्धिक तथा व्यावसायिक क्षेत्रमा खडेरी पर्दै आएको नेपाललाई थोरै कर्मठ र क्षमतावान् व्यक्ति फर्कंदा पनि धेरै हुनेछ। अन्तर्राष्ट्रिय अवस्था र तौरतरिका बुझेका श्रेष्ठ, पाण्डे र पराजुली जस्ता देशको लागि योगदान गर्न सक्ने र चाहना राख्ने हजारौं क्षमतावान् नेपाली विश्वभरि छन्, जसको क्रियाशीलताले देशको अर्थतन्त्र, भूराजनीति, सामाजिक उत्थान, विकास निर्माण- हरेक क्षेत्रमा राम्रो प्रभाव पार्नेछ। अवकाश भएपछि होस् या नहुँदै; उनीहरू फर्किंदा समाज र मुलुकले प्रफुल्ल भएर स्वागत गर्नेमा कुनै शङ्का छैन।


के के गल्ती नगर्नू

बर्मामा नेपालीले विशेष स्वागत पाउनुमा ऐतिहासिक कारण छन्। उपनिवेशकालमा गोरखा सैनिकको प्रयोग भएका वेला बर्मामा धेरै जनजाति मूलका नेपाली तैनाथ थिए। दोस्रो विश्वयुद्धमा मलेसियालाई जितिसकेको जापानी फौजलाई बर्मा लिन नदिन भएको घमासान लडाईंमा बर्मा र त्यतिवेलाको बृहत् आसामको मैदानमा धेरै नेपालीको ज्यान गयो। आफ्नो स्वतन्त्रताको लागि नेपालीले रगत दिएको सम्झ्ना अझै छ, बर्मेली जनता तथा शासक वर्गमा। धेरै पहाडे बाहुन-क्षेत्री मूलका नेपाली असम र बर्मा बसाइँ सर्नुको कारणचाहिँ गैरसैनिक क्षेत्रमा जीविकोपार्जन गर्न थियो। उनीहरू त्यस क्षेत्रका घनाजङ्गल फडानी गर्दै खेती र पशुपालन गर्न बसाइँ सरेका थिए। समयचक्रसँगै बर्मेली नेपालीको अवस्था राम्रो हुँदै गयो र आज नेपाली र बर्मेली दुवै भाषामा पोख्त यी बर्मेली नेपाली राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा कार्यरत छन्, विशेषगरी रुवी, नीर र अन्य बहुमूल्य पत्थरको कारोबारमा। तेल र ग्यास, बहुमूल्य पत्थर, जलविद्युत् तथा विकसित कृषिका कारण बर्मा सम्पन्न मुलुक हुने दिशामा छ भने यसको फाइदा बर्मेली नेपालीले पनि लिनेछन्। धेरै बर्मेली नेपाली बसाइँ सरेर थाइल्यान्ड पनि पुगेका छन्।

बौद्धमार्गी बर्मेलीहरूका लागि नेपाल आकर्षणको थलो बन्नुको कारण लुम्बिनीप्रतिको चासो पनि हो। विश्व पराजुली भन्छन्, “नेपालले गत दुई दशकमा सामना गर्नुपरेका चुनौतीले हामीलाई केही पाठ सिकाएको छ। आजसम्म हामी अल्पविकसित देशकै पङ्क्तिमा र त्यसमा पनि द्वन्द्वको अवस्थामा भएकाले कसैकसैले त भन्छन् पनि― तिमीहरूको आफ्नै हालत त्यस्तो छ, के सिकाउलाउ हामीलाई? तर, हामी पनि भन्न सक्छौं नि बर्मेली मित्रहरूलाई― के-के गल्ती नगर्नु भनेर!

Leave a Reply

Your email address will not be published. Required fields are marked *