पाटन ढोका, समृद्धिको द्वार !

हिमाल खबरपत्रिका (२९ पौष – ५ माघ, २०७५) बाट

पाटन शहरको हरेक कुनामा बजार र संस्कृति थप फस्टाउन पाटन ढोकालाई व्यवस्थित गरिनुपर्छ ।

मल्लकालदेखि नै भक्तपुर र पाटन शहर दशनामी सन्यासी मठद्वारा सुसज्जित रहिआएका छन्, यहाँका बहाः र बहीःजस्तै । भक्तपुरका मठहरू दत्तात्रेय मन्दिर छेउछाउ छन् भने पाटनमा भारती, पुरी र गिरीद्वारा सञ्चालित सात मठ विभिन्न ठाउँमा छरिएका छन्/थिए ।

पाटनको सम्पदामध्ये गनिनुपर्ने यी सात मठमध्ये तीन वटा त ध्वस्त भइसके — सोतो मठ, भोलखेल गणेश मठ तथा तुमबहाःमा रहेको मठ । बाँकी रहेका चल्खु मठ, बालुखा मठ, तुइलाको मठ र छायबहाःमा रहेको मठ पनि विभिन्न कारण जीर्ण छन् ।

विलीन हुँदै गएका यी मठहरूको अवस्था कति दयनीय छ भन्ने थाहा पाउन चल्खु मठलाई हेरे पुग्छ । पिम्बहाः पोखरीको दक्षिण–पश्चिममा रहेको यो मठ नेपाल संवत् ९२६ (सन् १८०५) मा सुन्दर पुरीले स्थापित गरेका थिए ।

अष्टमातृकासहितको पाटन ढोका । तस्वीरः मोनिका देउपाला

यहाँ मुख्य बानेश्वर महादेवको शिवलिङ्ग र मन्दिर छ भने विष्णुपादुका र विभिन्न देवदेवीका मूर्ति पनि छन् । जीर्ण बन्दै गएको यो मठमा कलात्मक झ्यालहरू कुहिंदै छन्, खुला ठाउँसमेत घेराबेरा गरेर भाडामा लगाइएको छ, बगैंचा मासिंदैछ ।

११–१७ कात्तिक २०७५ को ‘उकालो लाग्दा’ स्तम्भमा मैले पाटनको अशोक हल नजिक रहेको हेमापुर महाविहारको वर्णन र तस्वीर प्रस्तुत गरेको थिएँ (हे. हेमापुर महाविहार, यतवहाः। हेमापुर महाविहारसँगै चल्खु मठ आस्थाको केन्द्र र वास्तुकलाले सुसज्जित सम्पदा हो ।

साथै, नेपालमण्डललाई उत्कृष्ट सांस्कृतिक वजन दिलाउने नमूना पनि । तर आधुनिकीकरण, परिवार र समुदाय क्षयीकरण, बसाइँसराइ आदि कारण यी मठ, बहाः, मन्दिरहरू भत्कँदैछन् । संरक्षणमा जति ढिलो गर्‍यो उति नै सोतो मठ र भोलखेल मठ जस्तै अन्य स्थान पनि भत्किने, भत्काइने छन् र सम्पदासँगै सामाजिक र आर्थिक सम्भावनाहरू मेटिनेछन् ।

हेमापुर महाविहार (यतबहाः) । तस्वीरहरु: कनकमणि दीक्षित

यी स्थानको जगेर्ना आर्थिक चहलपहलबाट हुन्छ, जसको मुख्य आधार पर्यटन नै हो । द्वन्द्व र संक्रमणकालको अन्त्यसँगै स्वोठ टोल (म∙लबजारबाट उत्तर) मा स्वस्फूर्त रूपमा गुणस्तरीय ‘होमस्टे’ शुरु भएका छन् ।

पाटन दरबार परिसरको जीर्णोद्धार र पुनर्निर्माणले पनि ललितपुरको ‘भित्री शहर’ लाई ऊर्जा दिइरहेको छ । विगतमा भट्टी रहेका कवलहरू विशेषगरी चिनियाँ मागको कारण आज टिलिक्क टल्कने मूर्तिकलाको शोरुम र इम्पोरियम बनेका छन् ।

धेरै ठाउँमा पुख्र्यौली निवास भत्काएर नयाँ भवन बनाउँदा पनि परम्परा झल्काउन चासो र चाख दिएको देखिन्छ । काठमाडौंको रानीपोखरीको बेहालसामु पाटनको पिम्बहाः पोखरीको उत्थान छिटो, छरितो र सम्पदाप्रेमी हिसाबले गरिएको छ ।

पाटन दरबार क्षेत्रमा हरेक साँझ हुने जनमानसको घुइँचोले यस स्थलको आकर्षण दर्शाउँछ । विदेशी पर्यटकका कारण ‘होमस्टे’ हरू फस्टाएका छन् भने आन्तरिक पर्यटकको चहलपहलसँगै भित्री गल्लीका रेस्टुरेन्ट, कफी शप र मिठाई पसलको व्यापार बढेको छ । चल्खु मठ र हेमापुर महाविहार जस्ता प्राङ्गणमा पनि उत्साह र ऊर्जा थप्न अझै धेरै खर्च गर्ने, रात बिताउने, सम्पदामा चासो राख्ने पर्यटक चाहिएको छ ।

चल्खु मठको द्वार ।

पर्यटकको संख्या बढाउने एउटा उपाय हाम्रो हातैमा छ, ऐतिहासिक पाटन ढोका (यल ध्वका) लाई पर्यटक अनुकूल बनाउने । यसको लागि कतिपय काम त भइसकेको छ — स्थानीय शान्ति युवा क्लबको पहलमा पाटन ढोका सिंगारिएको छ, ढोकामा पौभा कलाकार लोक चित्रकारको अगुवाइमा अष्टमातृका उतारिएका छन् । यसको साथै भित्री सडकमा विश्व ब्याङ्कको सहयोगमा राम्ररी ढुंगा छाप्ने काम भएको छ ।

पाटन ढोकाको भित्रपट्टि यस्तो साजसज्जा र व्यवस्थापन भइसक्दा बाहिरपट्टि भने अस्तव्यस्तता बढेको छ, विशेषगरी बुद्धनगरबाट वागमतीको नयाँ पुलहुँदै पुल्चोकतिर आउने गाडीको चापले ।

यो ट्राफिक व्यवस्थित गर्दै पाटन ढोकामा रहेको वर्तमान बसपार्कलाई बस स्टपमा परिणत गर्नु आवश्यक छ, जो धेरै अघिदेखिको माग हो ।

सहज बस स्टप बनाउन पाटन क्याम्पसले तीन दशकअघि उपलब्ध गराएको जग्गा व्यावसायिक बसहरू पार्क गर्ने ठाउँ बनेको छ । यस प्राङ्गणमा ट्राफिक व्यवस्थापनसहित टुरिस्ट बस, ट्याक्सी स्ट्याण्ड तथा राम्रो बस स्टप सञ्चालन हुनुपर्छ ।

पाटन ढोकालाई यसरी चलायमान बनाउँदा पाटन शहरको गल्ली गल्ली नसा–नसामा थप आर्थिक ऊर्जा सञ्चार हुनेमा शंका छैन । त्यसपछि चल्खु मठ होस् वा हेमापुर महाविहार, यी सम्पदा स्थलहरूको दिन फिर्न समय लाग्ने छैन ।

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *