पहाडिया पाटेबाघ !

हिमाल खबरपत्रिका (५ -११ असोज, २०७६) बाट

बाक्लो मानव बसोबासका कारण वन्यजन्तुको ‘ह्याबिट्याट’ बिथोलिएको छ, नत्र भूटानका पहाडमा जस्तै नेपालका डाँडाहरूमा पनि पाटेबाघ भेटिने थिए।

प्रह्लाद योञ्जनको स्वचालित ‘क्यामरा ट्र्याप’ ले भूटानको पहाडमा खिचेको पाटेबाघ । तस्वीरः नेपाली टाइम्स

नेपालको पहाडी भेकमा, सामुदायिक जङ्गल बाक्लिएको बेला, ‘बाघ’ देखिएको खबर बढ्दो छ । तर पाटेबाघ, अर्थात् ‘रोएल बेङ्गाल टाइगर’ समथरका जङ्गल बाहेक चुरेभन्दा माथिको महाभारत लेकमा बसोबास गरेको प्रमाण छैन । चलनचल्तीको भाषामा स्थानीयले चितुवा (‘स्पटेड् लेपर्ड’) लाई बाघ भन्दै आएको अनुमान गर्न सकिन्छ ।

तर पनि नेपालका पहाडमा पाटेबाघ कहिल्यै थिएनन्, अथवा भोलि हुनै सक्दैनन् भन्ने होइन । किनकि नेपालबाट पूर्व पर्ने लगभग एकै पहाडी शृंखला अन्तर्गतको भूटानमा ४००० मिटर भन्दा माथिसम्म पाटेबाघ भेटिएको प्रमाण छ । यसको अर्थ, हाम्रा फुल्चोकी टुप्पा, घान्द्रुक अथवा अन्तुडाँडामा पनि पाटेबाघ भेटिन सक्छ । तर, चितवन, बर्दिया निकुञ्जभित्र होस् वा बाहिरका जङ्गल, ७००–८०० मिटर उँचाइ भन्दा माथि अहिलेसम्म पाटेबाघ भेटिएको छैन ।

हिमालय क्षेत्रको पहाडमा पाटेबाघ फेला पारेका थिए, नामी ‘फिल्ड बायोलोजिस्ट’ स्व. प्रह्लाद योञ्जनले । रेड पान्डामा विद्यावारिधि गरेका योञ्जन हात्ती, पाटेबाघ, हिउँचितुवा इत्यादिको ‘ह्याबिट्याट’ अनुसन्धान गर्थे, र एशियाली वन्यजन्तुको विश्व प्रख्यात वैज्ञानिक थिए । चितवन राष्ट्रिय निकुञ्जको पहिलो गैंडा गणना उनैको नेतृत्वमा भएको थियो, सन् १९७८ मा ।

भूटानको मध्यभागमा पर्ने थ्रुम्सिङ्गला राष्ट्रिय निकुञ्जका लागि ‘कन्सर्भेसन प्लान’ बनाउन खटिएका मेरा मित्र प्रह्लाद हप्तौं एक्लै खर्क र पाखो घुम्दै थिए । फेब्रुअरी २००१ को कुरा हो, ४११० मिटर उँचाइको पाखोमा उनले कुनै एउटा ‘बिग् क्याट’ प्रजातिको पाइलाको डोब देखे । उनको अनुभवले यो पाटेबाघको भन्ने बतायो, तर इतिहासमा यो उँचाइमा पाटेबाघ भेटिएको कथन या प्रमाण कतै थिएन ।

प्रह्लाद योञ्जन

प्रह्लादले अकाट्य प्रमाण जुटाउन २७६५ मिटरको उँचाइमा ‘क्यामेरा ट्र्याप’ राखे, जसले आसपासमा जनावर आइपुगे स्वचालित तस्वीर खिच्ने क्षमता राख्दथ्यो । क्यामेराले खिचेका धेरै रोल फिल्म उनले नेपालमा धुलाउन लेराए, किनकि भूटानमा त्यो सुविधा थिएन ।

फिल्म रोलका सयौं फ्रेममध्ये एउटा फ्रेममा रातको समय फ्ल्यासको उज्यालोले एउटा पाटेबाघ समायो । यसरी विश्वमै पहिलो पल्ट १००० मिटर भन्दामाथि पाटेबाघ पाइएको प्रमाणित भयो ।

६० वर्षकै उमेरमा प्रह्लाद योञ्जनको निधन अक्टोबर २०११ मा भयो । त्यो पाटेबाघको फोटोको लागि न भूटानी सरकार न वैज्ञानिक समुदायबाटै उनको कदर भयो । शायद नेपाली नागरिकले पत्ता लगाएको कुरा भूटान सरकारले स्वीकार्न चाहेन ।

उता सन् २०१० मा बीबीसी टेलिभिजनको एउटा टोलीले आफैंले भूटानको त्यो उँचाइमा पहिलो पल्ट पाटेबाघ फेला पारेको भन्दै फट्याइँका साथ सनसनीपूर्ण कार्यक्रम पेश गर्‍यो । प्रह्लाद आफ्नो काममा लागे, आफ्नो तस्वीरको ‘क्रेडिट’ नपाएकोमा असन्तुष्टि सार्वजनिक गरेनन् ।

प्रह्लादको त्यो तस्वीर अद्भुत छ, रातको समय पाइला चाल्दैछ बाघ, र त्यो उँचाइको थप प्रमाणको रूपमा छेवैका हिमाली फूल ‘प्रिमुला’ समेत देखिन्छ, जो हिमाली लेक–खर्कमा मात्र पाइने प्रजाति हो । तस्वीरमा देखिएका दुई प्रिमुला फूलबारे प्रह्लाद बडो उत्साहित थिए ।

भूटानी लेकमा कसरी पाटेबाघ पाइयो त भन्ने अहं प्रश्नबारे प्रह्लाद योञ्जनले मलाई भनेको सम्झन्छुः “नेपाल र भारतका पहाडमा मानव बसोबासले वन्यजन्तुको ‘ह्याबिट्याट’ खल्बल्याएको छ भने भूटानको वातावरणीय अवस्था र राष्ट्रिय नीति बेग्लै खालको छ । त्यहाँ वनजङ्गल समथरदेखि अटुट ‘ट्रि लाइन’ सम्म पुगेको छ । यसरी पाटेबाघ मात्र होइन यिनलाई चाहिने आहार जनावर पनि यसैगरी माथि–तल गर्न सक्छन् ।”

नेपालबाट पूर्व पर्ने लगभग एकै पहाडी शृंखला अन्तर्गतको भूटानमा ४००० मिटर भन्दा माथिसम्म पाटेबाघ भेटिएको प्रमाण छ । यसको अर्थ, हाम्रा फुल्चोकी टुप्पा, घान्द्रुक अथवा अन्तुडाँडामा पनि पाटेबाघ भेटिन सक्छ ।

प्रह्लादको अर्को तर्क पनि थियोः “भूटानका पहाडमा टाकिन नामको विशेष जङ्गली चौपाया पाइन्छ, जसको ‘साइज्’ को कारण पाटेबाघको राम्रो आहारा बन्यो, त्यसैले पनि हुन सक्दछ, यो जनावर यसरी पहाड चढेको ।”

नेपालका थोरै वन्यजन्तु र वातावरण विशेषज्ञमध्ये धेरैलाई सन् २००६ सेप्टेम्बर २३ को ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान लियो । यस्तै क्षति नेपाली समाज र वातावरणले लियो जब साइकल सवार प्रह्लाद योञ्जनलाई काठमाडौंको बल्खुमा एउटा ट्रकले धक्का दिएर ज्यान लियो । समाज र विज्ञानलाई परेको यसको क्षति मापन गर्न सकिंदैन ।

प्रह्लादले मेरा एक मित्रसँग नेपालको पाटेबाघ संरक्षण सम्बन्धी सरकारी र गैरसरकारी क्रियाकलापबारे असन्तुष्टि जनाएका थिए । भनेका थिए, “पाटेबाघ बचाउनु भनेको ‘ह्याबिट्याट’ बचाउनु हो । तडकभडक विज्ञान नै चाहिंदैन पाटेबाघ बचाउन, मात्र निष्ठा र साधारण सुझबुझ भए पुग्छ ।”

प्रखर वैज्ञानिक, तर्क र विवेकका धनी, अनुसन्धान र प्रमाणका हिमायती प्रह्लाद योञ्जन हामीसित छैनन् । उनको सम्झनामा के गर्ने ? कुनै आरक्षण, हिमाली चुचुरा या लोकमार्गलाई उनको नाममा नामकरण कसैले सोच्दा हुन् । प्रदेश–३ सरकारले यसै वर्ष वैशाखमा रसुवाको स्याफ्रुदेखि क्यान्जिनसम्मको लाङटाङ पदमार्गलाई ‘डा. प्रह्लाद योञ्जन रेड पान्डा पदमार्ग’ नामकरण गरेको छ ।

राम्रो हुन्थ्यो, नेपालको तराईदेखि पहाड र हिमालसम्म एउटा वन्यजन्तु ‘करिडर’ बनाउने । जहाँ सके समथरको पाटेबाघ समेत बेसीबाट लेक–खर्कतर्फ जाने बाटो बनोस् । प्रह्लाद योञ्जनलाई सम्झने सबैभन्दा राम्रो बाटो यो हुन्थ्यो कि ?

 

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *