धुमधामको घुमघाम काठमाडौं-पेशावर

हिमाल खबरपत्रिका (१६-२९ मंसिर, २०६८)बाट

नेपालमा आन्तरिक पर्यटन फस्टाएको छ भने समुद्रपार जान पैसा र भिसाको चुनौती छ। नेपालीलाई दक्षिण एसियामा पनि घुमघामको ठूलो सम्भावना छ। यहाँ कार, बस, रेलगाडीको यात्रा गर्दै पुग्न सकिने अनेकन रोमाञ्चक सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक थलो छन्। भारतीयलाई लगभग असम्भव पाकिस्तान भ्रमण समेत नेपाली भएका कारण हामीलाई सहज छ। तर हामी भारतको परम्परागत तीर्थाटन र शैक्षिक भ्रमण भन्दा बाहिर निस्कन सकेका छैनौं।

भर्खरै हामीले ४० वर्ष पुरानो भक्सवागनको बिटल कारमा काठमाडौं-पेशावर ११०० माइल यात्रा गर्‍यौं। भ्रमणको उद्देश्य थियो― नेपालस्थित स्पाइनल इन्जरी केन्द्रलाई केही रकम जुटाउने, दक्षिणएसियामा स्पाइनल इन्जरी पुनर्स्थापनाबारे जनचेतना जगाउने र स्थलमार्ग भएर नागरिक सम्बन्ध विस्तारको सन्देश दिने। यो उपमहाद्वीपमा जनता-जनताबीच वास्तविक सम्पर्क बढाउन हवाई मार्ग भन्दा स्थलमार्गकै प्रयोग बढी उपयोगी छ।

 

बिटलभित्र शान्ता दीक्षित र लेखक ।

स्पाइनल बिटल कारमा शान्ता र म थियौं भने व्याकअप जीपमा बिटल विशेषज्ञ नरेश नकर्मी र स्पाइनल केन्द्रका सहयोगी। नेपाली नागरिक भएकाले भारत पस्न खुला सिमाना नै भयो र पाकिस्तान जान पनि सहजै भिसा प्राप्त भयो। मोटर लिएर जान अलि गाह्रो थियो, तर भारतीय र पाकिस्तानी दूतावासको पहलका कारण त्यो पनि सहज भयो। हामी बाटो लाग्यौं।

पूरै मुलुकलाई प्रतिनिधित्व गर्ने गरी सिंगारिएको शीतलनिवास प्राङ्गणमा राष्ट्रपति रामवरण यादवबाट हाम्रो बिदाइ भयो। समारोहमा धेरै साथी-सहयोगी उपस्थित थिए। मित्र स्वयम्भू तुलाधरले गाडीको एकापट्टिको रियर भ्यू मिररमा खादा बाँधिदिए भने अर्कोपट्टि आनी छोइङ डोल्माले। यसरी खादा फर्फराउँदै हिँडेका हामीलाई बिदाइ गर्न कलङ्कीसम्म अरू सात वटा बिटल आए। केही घण्टापछि भरतपुर अस्पतालमा हाम्रो स्वागत गरियो। अस्पतालका डा. कृष्ण खनाल लगायत अरू पदाधिकारीसँग स्पाइनल पुनर्स्थापन युनिट स्थापना गर्ने कुराकानी भयो। भरतपुर अस्पतालले रु.५० हजारको सहयोग गरेर हाम्रो रकम सङ्कलन अभियान र यात्राको हौसला बढाइदियो।

 

ताजमहलमा पूरै स्पाइनल बिटल टिम र बिटलमा कोरिएको नक्सामा आफ्नो जिल्ला प्युठान देखाइरहेको जालन्धरको रेस्टुरेण्टमा काम गर्ने नेपाली ठिटो सुरज थापासँग (तल)।

इलम दीक्षित

भोलिपल्ट बिहान भैरहवाबाट हिँडेपछि सीमावर्ती सुनौलीमा पर्यटन उद्यमी लकी सिंहको ढावामा कुरा चल्यो― हामी भगवान बुद्धको जन्मक्षेत्रबाट बौद्ध धर्मको उद्गमस्थल प्राचीनकालीन गान्धार जाँदैछौं। यो आफैंमा रोमाञ्चक अनुभूति थियो। लकी सिंहले त्यसै दिनको हिन्दुस्तान पत्रिका देखाए― हाम्रो अन्तिम लक्ष्य पाकिस्तानको पेशावर शहरमा ६० वर्षपछि गोरखनाथ मन्दिर खुलेको खबर भएको। हामी त्यो दिन नाथ सम्प्रदायको केन्द्रबिन्दु गोरखपुर जाँदैथियौं अब पेशावरको गोरखनाथ पनि हाम्रो भ्रमण तालिकामा थपियो।
गोरखपुर पार गरेपछि हाम्रो स्पाइनल बिटलले भारतमा बन्दै गरेको ४-६ लेनको डिभाइडेड हाइवेको स्वाद लिन पायो। नेपाली बाटोघाटोमा प्रतिघण्टा मुश्किलले ६० किमी गुड्न पाएको स्पाइनल बिटल भारतमा मजाले ११५ किमी दगुर्‍यो। वास्तवमा भारत भन्दा पहिले चौडा मोटर वे बनाएको प्रम नवाज सरिफको पालामा पाकिस्तानले हो, तर अहिले भारतको नेशनल हाइवे अथरिटीले पनि जताततै सुपर-सडकहरू बनाएको छ।

हामीलाई कतै स्थानीय स्पाइनल इन्जरी चिकित्सकहरूले स्वागत गरे भने कतै भारत-पाकिस्तान शान्ति अभियानमा लागेका जुझारु र पुराना मित्रहरूले। नयाँदिल्लीमा स्वागतमा उभिएका थिए, पत्रकार तथा दक्षिण एसियाली शान्तिकर्मी कुलदीप नायर। दिल्लीबाट बिदाइ गरे कलाकार ‘म पुरीले, जिस्की-जिस्की स्पाइनल बिटललाई शुभयात्रा भन्दै ढोगेजस्तो गरेर। बिदाइ गर्ने अर्का सज्जन थिए, भारतमा स्पाइनल चोट पुनर्स्थापनाका अगुवा मेजर एचपिआर आहलुवालिया। उनले सन् १९६५ मा सगरमाथा आरोहण गरेर बनेपाहुँदै काठमाडौं फर्केको सम्झ्ना गर्दै भने, “आज त्यही बनेपा नजिकै स्पाइनल केन्द्र नेपाल छ।” यो लेखकलाई हौस्याउँदै आहलुवालियाले सुझाव दिए, “दक्षिण एसियाली स्पाइनल इन्जरी पुनर्स्थापना सञ्जाल निर्माणको तयारी पनि गर्नुहोला।” र; त्यसै गरियो पनि।

दिल्ली विश्वविद्यालयमा तीन वर्ष कानून पढ्दा समेत आगरा शहर नपुगेको मलाई यसपालि स्पाइनल बिटलले त्यहाँ पुर्‍याइदियो। सोचेभन्दा भव्य पाएँ मैले त्यहाँ ताजमहल, तर बढी रोमाञ्चक लाग्यो औरङ्गजेवले शाहजहाँलाई सात-सात वर्ष कैद गरेको नजिकैको आग्ररा किल्ला, जहाँबाट मुगल साम्राज्यले यस उपमहाद्वीपमा ३३१ वर्ष आधिपत्य जमाएको थियो। आगरा गढीको एक-एक ढुङ्गाले त्यो इतिहास बोलेजस्तो लाग्यो।

स्पाइनल बिटलले इतिहासका अर्का महत्वपूर्ण पात्र शेर शाह शुरीलाई पनि हाम्रो टिमसामु ल्याइदियो। वर्तमान बिहारमा जन्मेका यी अफगान सुल्तानले आगरा किल्लाबाटै राज गरेका थिए, बाबरका छोरा हुमायूँलाई भगाएर। सामरिक पक्षमा दक्खल भएका प्रशासक शेर शाहले व्यापार र राजकाजको लागि आजको बङ्गालदेखि अफगानिस्तानसम्म एउटा राजपथ व्यवस्थापन गरेका थिए। मौर्यकाल पहिले उत्तरपथ भनिने यो सडक नै आजको ग्रान्ड ट्रङ्क रोड (जीटी रोड) हो। बाल्यकालमा म बिहार ससरामस्थित शेर शाह शुरीको मकबरा पुगेको थिएँ भने स्पाइनल बिटलमा हामीले जीटी रोड समायौं, लखनऊ नजिक आगरा हुँदै दिल्लीसम्म जाने र दिल्लीबाट अमृतसर पुग्ने नेशनल हाइवे एनएच-२ मा। वागा-अटारी सीमानाका पार गरेपछि एकापट्टि लाहोरबाट इस्लामावाद-पेशावर जाने मोटर वे छ भने अर्कापट्टि जीटी रोडको अस्तित्व पनि यथावत् छ।

शेर शाह शुरीको राजधानी आगराबाट उत्तर लाग्दा ठाउँ-ठाउँमा परापूर्वकालका १२-१५ फिटका काँसका स्तम्भ देखिन्छन् भन्ने सुनेको थिएँ, तर एउटा मात्र देख्न पायौं। उहिले बटुवालाई शीतल छहारी दिने बडेमानका बरका रूख र पोखरी भने पाकिस्तानी पञ्जाबका ठाउँ-ठाउँमा मनग्गे भेट्यौं। रावलपिण्डी नजिकको विशाल रोहतास किल्ला पुग्यौं, जुन इरान भागेका हुमायूँ फर्केर आएको खण्डमा रोक्न शेर शाहले ठड्याएका थिए।

यस भ्रमणमा हामीले आध्यात्म र धर्मको सांस्कृतिक पक्ष पनि राम्रैसँग पहिल्यायौं। पेशावरस्थित गोरखनाथ मन्दिरको धुनीसामु पुजारीसँग समस्या र चुनौतीका कुरा गर्‍यौं भने इद-उल-जोहाको दिन ताजमहल पुग्दा इस्लाम धर्मावलम्वीहरूसँग काँधमा काँध मिलायौं र गुरु नानकको जन्मदिनको अवसरमा कपालमा रुमाल बाँधेर झ्कमक उज्यालो पारिएको हर्मिन्दर साहेवको दर्शन गर्‍यौं।

 

स्टेफेन मल्डून
दिल्लीमा भारतीय पत्रकार कुलदिप नायरको न्यानो स्वागत र दिल्लीबाट बिदा गर्र्दै चलचित्र कलाकार ओम पुरी (तल)

यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष पुरानो र नयाँ दक्षिण एसियाली मित्रताको निरन्तरता र सुरुआत थियो। चण्डिगढबाट अमृतसर नपुग्दै जालन्धर नजिकै सडकछेउको मायुरी रेस्टुरेन्टमा प्युठानका ११ वर्षीय सुरज थापाले काम गरिरहेको पायौं। उनी त्यहाँ पुग्नुको विवशताले बितेका १५ वर्षको नेपालको कहालीलाग्दो राष्ट्रिय अवस्था दर्साउँथ्यो। तर त्यो फुर्तिलो ठिटोलाई रेस्टुरेन्ट मालिकले माया गरेर राखेको देख्दा भने खुसी लाग्यो। हाम्रो बिटल कारको साइडमा कोरिएको काठमाडौंदेखि पेशावरसम्मको नक्सामा बालक सुरजले प्यूठान खोजेको तस्बिर छोरा इलमले खिचेको छ। पूरै द ग्रेट नेपाल-भारत-पाकिस्तान स्पाइनल बिटल राइडको मलाई सबैभन्दा मन परेको तस्बिर त्यही हो।

नेपाल-भारतको भैरहवा-सुनौली सिमानामा जतिको हलचल र आवतजावत भारत-पाकिस्तानको वागा-अटारीमा नहुनु दुर्भाग्य हो। सिमानामा तारबार र कडा सुरक्षाले दुवै पक्षको अर्थतन्त्रलाई असर पारेको तथा दुवैतर्फका जनतालाई अलग बनाउँदै लगेको छ। गरिब देशका सिमानामा हुने कडिकडाउले सबैभन्दा गरिब जनतालाई नै धक्का दिन्छ। यो कुरा काठमाडौंका बुद्धिजीवीले पनि बुझिदिए हुन्थ्यो।

वागा-अटारीमा बेलुकीपख दुवै पक्षका सैनिकले आ-आफ्नो राष्ट्रियता झ्ल्काउने सैन्य-तमासा देखाउँछन्। एकातर्फ वन्दे मातरम् घन्किन्छ भने अर्कोतर्फ पाक सर्जमीन। दुवैतर्फ दर्शकहरूको जमात बलिउडको रोमाञ्चक फिल्म हेरे झै रमाउँछन्। तर मलाई लाग्यो, हामी त्यहाँ एकातर्फ राग र अर्कोतर्फ कव्वाली गुन्जने दिनको प्रतीक्षामा बस्नुपर्छ। अर्को कुरा, भारत-पाकिस्तान सम्बन्ध सुध्रनुको प्रत्यक्ष-अप्रत्यक्ष आर्थिक र भूराजनीतिक फाइदा नेपालको समाज र अर्थतन्त्रमा पनि पर्छ। वागा-अटारी काँडेतार नेपाली सिमानाबाट धेरै टाढा छैन।

 

वागा-अटारी सीमानाका भएर भारतबाट पाकिस्तान छिर्दै बिटल (माथि) र पेशावरमा ६० वर्षपछि खुलेको गोरखनाथ मन्दिर ।

स्पाइनल बिटल नारायणघाटबाट सीधा पूर्व-पश्चिम राजमार्ग र पश्चिम नाका टनकपुरहुँदै छोटो बाटो अमृतसर र लाहोर पुग्न पनि सक्थ्यो। तर उत्तरप्रदेशका गोरखपुर, लखनऊ र आगरासँग सम्बन्धको सम्भावना बुझनुथियो, किनकि आधुनिक युगमा हामी अति नै नयाँदिल्ली केन्द्रित भएका छौं। त्यस्तै भूराजनीतिले दूरीमा राखेका लखनऊ र आगरा तथा रावलपिण्डी र पेशावर जस्ता ऐतिहासिक शहर भौगोलिक र सांस्कृतिक हिसाबले कति नजिक छन् भन्ने प्रमाण पनि पेश गर्नुथियो। राम्रो बाटो, मजबुत गाडी र नरेश नकर्मीको उपस्थितिको ढाडसले भ्रमण राम्ररी फत्ते भयो। कतै सानोभन्दा सानो दुर्घटना पनि भएन। बरु काठमाडौंमै घरमा पार्क गर्दा गाडीलाई हल्का ठेस लागेको थियो।

राष्ट्रपति भवन शीतलनिवासमा स्पाइनल बिटल यात्राको बिदाइ हुँदा आएका फोटोग्राफर विकास रौनियार, शिव गाउँलेले नेतृत्व गरेको नेपाल पत्रकार महासंघको टोलीमा सामेल भएर इस्लामावाद आइपुगे। उक्त शहरको भव्य फैसल मस्जिदको छेउमा उनीसँग स्पाइनल बिटल टिमले एउटा फोटो सुट पनि गर्‍यो। यसरी कतै नयाँ मित्रता बनाउँदै, कतै पुरानोलाई निरन्तरता दिँदै हाम्रो यात्रा टुङ्गियो, पेशावर शहरमा।

नेपालदेखि नै केही शुभेच्छुकले अफगानिस्तान-पाकिस्तान सिमाना नजिकको खैबर-पख्थून्वा क्षेत्रसम्म नजानु राम्रो भन्ने सुझाव दिएका थिए। तर, हाम्रो टोलीले पूरै यात्रा गर्ने निधो गर्‍योर ठूलो चौडा मोटर वेमा ११५ किमी प्रतिघण्टाको गतिमा मरुभूमि क्षेत्रतर्फ लाग्यो। शहरको प्याराप्लेजिक सेन्टरमा पुग्दा हामीलाई नेपालको आफ्नै स्पाइनल केन्द्र पुगेजस्तो भयो― दुवै संस्थाले स्पाइनल चोट लागेकाहरूको शारीरिक, मानसिक तथा जीविकाको पुनर्स्थापनामा जोड दिएकाले। ठूलो स्वागत तुलमुनि हाम्रो गाडी आउँदा ताली घन्कियो, एक बालकले फूलको गुच्छाले स्वागत गरे। हाम्रो गाडीको देवनागरी नम्बर प्लेटले यहाँ पनि जिज्ञासा जगायो।

स्पाइनल चोटबाट पीडितहरूको व्यथा यहाँ पनि नेपालको जस्तै थियो― रूखबाट खसेको, भीरबाट लडेको, बस-ट्याक्टर दुर्घटनामा परेको। तर यहाँ बच्चाबच्ची बढी देख्यौं। ड्रोन आक्रमण, गोली प्रहार र आत्मघाती बम हमलाका घाइते पनि धेरै थिए।

प्याराप्लेजिक सेन्टरबाट शान्ता, नरेशजी, सुमनजी र इलम लाग्यौं पेशावरको पुरानो शहरको घुईंचोभित्र। हामीलाई जानुथियो, ६ दशकपछि ढोका खुलेको गोरखनाथ मन्दिर। त्यहाँ धुनी रहेछ। हामीले मनमनै त्यहाँ गोरखाका गोरखनाथ र गोरखपुरका गोरखनाथका शुभकामना सन्देश पेश गर्‍यौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *