को निप्पल, को बटन् !

हिमाल खबरपत्रिका (३ -९ भाद्र, २०७५) बाट

डनल्ड ट्रम्पले नेपाल के हो, कहाँ छ भन्ने नजानेको खबर नियास्रो मान्नुपर्ने कारण होइन ।

अक्सर हामी संसारसामु नेपाल चर्चामा आएन भनेर चिन्ता गर्छौं । तर, के कुरा बिर्सन्छौं भने, ‘बोरिङ’ मुलुकमा नै शान्ति छाएको हुन्छ, जनता सन्तुष्ट हुन्छन् र समृद्धि पनि अक्सर प्राप्त भएको हुन्छ । राम्रो कामको लागि चिनिनु त राम्रै हो । तर, यो कुरा पनि ख्याल गरौं, जो पत्रकारितामा प्रचलित एउटा थेगोले बताउँछ– ‘कुकुरले मान्छे टोक्दा खबर बन्दैन, मान्छेले कुकु टोक्यो भने बन्छ ।’

नेपालका जेजति नराम्रा खबर बाहिर जानुथियो, ती द्वन्द्वकालमै गए । माओवादी हिंसा तथा राज्यको प्रतिहिंसा र चेपुवामा परेका जनताको पीर र पीडाको खबर १० वर्षसम्म संसारभर छायो । द्वन्द्वकालले जनतालाई असह्य भोगाइ त दियो नै, अर्थतन्त्र बिग्रियो, राज्य कमजोर भयो, समाजमा वैरभाव बढ्यो र आम नागरिकको आत्मबल खस्कियो ।

धन्न, संक्रमणकालको बेला नेपाल अन्तर्राष्ट्रिय मिडियाको ‘हेडलाइन’ बाट हरायो । २०७२ सालको भूकम्पका कारण मुलुक नखोजेको चर्चामा एक्कासि फेरि आयो । भारतीय नाकाबन्दीका बेला मिडिया फेरि अलि अलि जाग्यो ।

अहिले नेपाललाई देशभित्र र समुद्रपारकाले बिर्सेजस्तो छ । जुन राम्रो कुरा हो, र यही हो शान्तिको उल्टो संकेत पनि । मिडिया सन्नाटाको यही अवस्थालाई प्रयोग गरी राजकाज सपार्ने, अर्थतन्त्र जगाउने, अन्तरसामुदायिक सम्बन्ध सुधार्ने ऐजन ऐजन काममा लाग्नु छ ।

मिडिया सन्नाटालाई अलि खल्बल्याउने काम गएको हप्ता अमेरिकाको ह्वाइट हाउसबाट, अझ भन्नै पर्दा राष्ट्रपति डनल्ड ट्रम्पको मुखारबिन्दबाट भयो । सारमा भन्नुपर्दा नेपाल र नेपाली ट्रम्पको दृष्टि र पहुँचबाट जति पर बस्यो, उत्ति नै राम्रो । उनी विवेकहीन छन्, जातीय द्वेष र ‘स्त्रीद्वेष’ पाल्छन् र अन्तर्राष्ट्रिय अर्थ–व्यवस्था र भूराजनीतिमा अन्धाधुन्द प्रहार गर्दैछन्, जसले संसारलाई अनिश्चित मार्गमा धकेलेको छ ।

ट्रम्पको मामलामा ‘अन्डर द रेडार’ बस्नु नै राम्रो हो । तर, हामीलाई के थाहा थिएन भने, अमेरिकी राष्ट्रपति नेपालको अस्तित्वबारे नै बेखबर रहेछन् । अब भने हाँस्नु कि रुनु भयो ।

कुरो यस्तो रहेछ, १३ अगस्टमा खबर पोर्टल पोलिटिको मा प्रकाशित डेनिएल लिपम्यानको खबर अनुसार, सन् २०१७ जूनको तेस्रो हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुअघि ह्वाइट हाउस स्टाफले ट्रम्पलाई ‘ब्रिफिङ’ गर्दै थिए । हुन त उनीहरूलाई थाहा थियो, विश्व भूगोल कूटनीतिबारे ट्रम्प कति अनभिज्ञ थिए भनेर ।

‘टाइम जोन’ बारे केही नजान्ने ट्रम्पले वासिङ्गटनमा मध्याह्न र टोक्योमा मध्यरात हुँदा फोन गर्न खोज्दथे, उता पनि दिन नै ठानेर । यसै गरी ट्रम्पले आफ्ना सहयोगीलाई सोधेछन्, मोदी आफ्नी श्रीमती लिएर आउँदैछन् कि भनेर !

दक्षिणएशियाको नक्शाबारे ट्रम्पको शून्य ज्ञानबारे भने ट्रम्पको स्टाफर नै चकित परे, जसले पोलिटिको का संवाददातालाई नाम नखुलाउने शर्तमा सबै बताए । ती स्टाफरले भने, ‘उनलाई ती देश (नेपाल र भूटान) बारे थाहै रहेनछ, सबै (हिमाली क्षेत्र) भारत अन्तर्गतका ठानेका रहेछन् । यसरी सोधे किः ‘बीचका यी चाहिं के हुन् ?’

ट्रम्पको मिटिङमा बसेका दुई–दुई जना स्टाफरले पोलिटिको लाई बताए अनुसार, नेपाल भनेर चिनाइएपछि ट्रम्पले ‘निप्पल’ उच्चारण गरे, भूटानको नामलाई जानी जानी बंग्याएर हाँस्दै ‘बटन्’ भने ।

ट्रम्पले नेपाल कहाँ छ भनेर थाहा नपाउनुलाई ठीकै मान्नुपर्छ । किनकि उनको नजरमा जो पर्छ, त्यो मुलुकसँग जोरी खोजिहाल्छन् । भारतकै कुरा गरौं, या टर्कीसँग एक्कासि शुरु भएको व्यापार युद्ध हेरौं, या युरोपियन युनियनसँगको वर्तमान शीतयुद्ध ।

स्कूलमा पक्कै भूगोलमा फेल भएका डनल्ड ट्रम्पलाई गएको हप्ता अमेरिकी टेलिभिजनका नामूद प्रस्तोता र हास्यकलाकार स्टिफन कोल्बेरले भूगोल (‘जोग्राफी–१०१’) को पहिलो कोर्स पढाउन जमर्को गरे । कोल्बेरले आफ्नो कार्यक्रममा भूगोलको नक्शा देखाएर ट्रम्पलाई यति बताए, कहाँ पर्छ ‘निप्पल’ अनि कहाँ छ ‘बटन्’ । हेर्नुस् तस्वीर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *