‘स्मार्ट सिटी’ कि ‘स्टुपिड सिटी’ ?

हिमाल खबरपत्रिका (१६-२२ चैत, २०७६) बाट

बन्दाबन्दीमा माइतीघर मण्डल र सिंहदरबार अगाडिकाे सडक ।

बन्दाबन्दीको सडकमा हुइँकिंदा — आजको व्याप्त ‘सडक सोच’ बदल्ने हो भने मात्र हामी उपत्यकालाई बसोबासलायक सुझबुझको शहर बनाउन सक्छौं ।

मोटर हुइँकिरहेछ रित्तो सडकमा । लगनखेल, बागमती पुल, थापाथली हुँदै माइतीघर मण्डल, सिंहदरबार अघिल्तिर पहरा दिइरहेका पृथ्वीनारायण शाह छेउ हुँदै डिल्लीबजार, नक्साल अनि धुम्बाराही । जम्माजम्मी ९ मिनेट । मोटरभित्रैबाट खिचिरहेछु यो फूटेज, अनौठो दृश्य, ‘कोरोना समय’ को काठमाडौं ।


 थापाथलीदेखि डिल्लिबजारसम्म

कोरोनाभाइरस (कोभिड–१९) महामारीको यो घडीमा परिवार र समाजलाई कसरी सुरक्षित राख्नेमा सरकार र समुदायको ध्यान केन्द्रित छ । सँगसँगै प्रत्येक नागरिकले महामारी पार लागेपछि यसबाट के सिक्ने र आउँदा दिनमा सामाजिक न्याय सहितको गाउँ शहरको समाज कसरी निर्माण गर्ने भन्नेमा चिन्तामग्न छन् ।

मलाई पनि बन्दाबन्दीको ९ मिनेटको त्यो मोटर यात्राले केही सोच्ने अवसर जुरायो । वाह ! काठमाडौंका सडक सधैं यस्तो जहिल्यै भइदिए पो, जस्तो पनि लाग्यो । तर, यो कसरी सम्भव छ जब काठमाडौं शहरकै जनसंख्या १४ लाख नाघिसक्यो, लगभग ४० लाख नागरिक धान्ने उपत्यका पुरै शहरीकरण भइसक्यो, यत्तिका मानिसलाई सडक त चाहियो !

कोरोनाभाइरसबाट बच्न गरिएको बन्दाबन्दीको अवधि सकिएपछि सम्भवतः हामी पुनः पहिलेकै रफ्तारको भौतिक संरचना निर्माण, प्लटिङ, मोटर गाडी खरीद र सडक विस्तारमा फर्कनेछौं । केही दिनको बन्दाबन्दीले मात्र पनि धमिलोबाट निलो देखिएको आकाश र वायु प्रदूषणको कमीले हामीलाई पुनः त्यही बाटोमा फर्कन प्रेरित नगर्नुपर्ने हो, तर अनुभव बताउँछ हामीलाई यो ‘कोरोना बन्दाबन्दी’ बिर्सन त्यति बेर लाग्ने छैन ।

सके त कोरोनाभाइरसको त्रासबीच हाम्रो सोंचको तौर तरिका बदल्ने हो — अर्थतन्त्रलाई सक्दो आत्मनिर्भर बनाउने, जनस्वास्थ्यको स्तर बढाउने, बाँझाे जमीनलाई पुनः उब्जनी तर्फ लग्ने, गाउँ–गाउँका नागरिकमा प्रगतिको सुनिश्चिततासहित ऊर्जा र उत्साह थप्ने ।

शहरको हकमा जस्तो खाले ‘स्मार्ट सिटी’ को परिकल्पना पस्किएको छ, त्यो त ‘स्टुपिड सिटी’ निर्माणको बाटो हो । ‘स्टुपिड सिटी’, जहाँ अग्ला भवन र चौंडा सडक निमार्णमा जोड दिइन्छ, प्राचीन बस्ती र सम्पदा बिना हिच्किचाहट भत्काइन्छन्, जहाँ शहरवासीलाई चाहिने बगैंचा, फुटपाथ, साइकलमार्ग, नदी छेउ ‘प्रोमेनाद’, खेलमैदान, संग्रहालय, रंगमञ्च, टहल्ने ‘प्लाजा’, ‘ह्वीलचेयर–मैत्री’ सेवा केही पाइँदैन ।

के साथैका दुई भिडियो फूटेजमा जस्तो खुला सडक देख्न अर्काे महामारी, नाकाबन्दी, नेपाल बन्द वा चक्काजाम नै कुुर्नुपर्ने हो ? रित्तै सडकले त कसैको भलो गर्दैन, तर सडकमा चाप त घटाउन सकिन्छ, जसले सबै शहरबासी, वातावरण र अर्थतन्त्रलाई राम्रो गर्छ । तर त्यहाँ पुग्न आजसम्मको ‘सडक सोच’ परिवर्तन गर्नुपर्छ ।

सडक जति चौडा गर्यो, ट्राफिक जाम घट्दैन बरु यसको चौडाइसँगै सवारी थपिन्छ, जामको समय भयावह गरी लम्बिन्छ । चाहिने त सडक विस्तारभन्दा सार्वजनिक यातयातको विस्तार हो । देशको अर्थतन्त्रले भूमिगत आकाशे मेट्रो या मोनोरेल धान्दैन, त्यसैले सडकको चौडाइ हेरिकन ठूला–साना बस र बस सेवा प्रदायकबीचको समन्वयमा पारवहन सञ्जाल अर्थात् ‘पब्लिक ट्रान्सपोर्ट नेटवर्क’ चाहिएको हो ।

आवतजावतको यस्तो पारवहन सञ्जाल नहुँदा उपत्यकाका नागरिकले धेरै सास्ती भोग्नु परेको छ । सवारीको अत्यधिक चापले सहजै कतै पुग्न सकिंदैन । डिजल, पेट्रोल र धुवाँधुलोको प्रदूषणले शहरवासीको जनस्वास्थ्य बिगारिरहेको छ । यसको एउटा समाधान हो, सयौंमा मात्रामा भित्र्याइनुपर्ने बिजुली बस । जसको प्रयोगले शहरी अर्थतन्त्र र जनताको स्वास्थ्य दुबैलाई बचाउँछ ।

सकारात्मक कुरा, यस्तै यस्तै ‘सडक सोच’कै अवधारणामा आधारित भएर सरकारले ‘उपत्यका यातायात प्राधिकरण’को परिकल्पना गरेको छ । सम्बन्धित विधेयक राष्ट्रियसभामा पेश पनि भइसकेको छ, तर संसद पनि कोरोनाभाइरसको शिकार बनेको छ, अहिले ।

सामान्यतः हामीलाई रातिको समय बाहेक लगनखेलबाट नक्साल हुँदै धुम्बाराही पुग्न ४५ मिनेटदेखि एक घण्टा १५ मिनेटसम्म लाग्छ । तर, ‘कोरोनाभाइरसको बन्दाबन्दी’मा यो दुरी छिचोल्न मात्र ९ मिनेट लाग्यो । सही ‘सडक सोच’ अन्तर्गत स्थापित सार्वजनिक यातायातले चाप घटाउने हो भने सामान्य अवस्थामा बढीमा आधा घण्टामा यो दुरी पार गर्न सकिनु पर्ने हो ।

त्यसैले ‘वास्तविक स्मार्ट सिटी’ बनाउन कोरोनाभाइरसकाल सकिएर स्थिति सामान्य हुने बित्तिकैै विधेयक पारित भएर प्राधिकरण ऐन बन्नुपर्छ र उपत्यकामा सार्वजनिक यातायात सञ्जाल निर्माणको काम सम्पन्न हुनुपर्छ । सोच सुधारे सुध्रन्छ सडक !


डिल्लिबजारदेखि थापाथलीसम्म

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *