सेनाको भवन पुरातत्वलाई

हिमाल खबरपत्रिका (२०-२६ जेष्ठ , २०७५) बाट

छाउनीस्थित पुरातत्व विभागको राष्ट्रिय संग्रहालय (न्याशनल म्युजियम) को केही जग्गा सट्टापट्टा गरी महाँकालस्थानको भवनमा राष्ट्रिय संग्रहालयको केही महत्वपूर्ण अंश स्थानान्तरण होस् ।

नेपाल सेनालाई आफूले निर्माण सम्पन्न प्रायः गरेको टुँडिखेलको महाँकालस्थानस्थित ‘बिजनेस कम्प्लेक्स’ अहिले निलौं कि ओकलौं भएको अनुभूति हुन्छ ।

इतिहास गाँसिएको यो ९० वर्ष पुरानो पुरातात्विक महत्वको त्रिचन्द्र मिलिटरी अस्पताल भत्काउन जायज थिएन । तर राजनीतिक, निजामती तथा नगर नेतृत्वले सेनाको कामकारबाही सामु हच्किने अवस्थाको नाजायज फाइदा लिंदै जर्साबहरुले पुरानो अस्पताल २०७१ सालमा भत्काएनन् मात्र, काठमाडौं महानगरपालिकाको इजाजत बेगर ९ तले नयाँ भवन ठड्याइछाडे ।

त्यति मात्र होइन, हिमाल का रामेश्वर बोहराले रिपोर्ट गरे जस्तै ४५९ शैय्याको अस्पताल बनाउने कुरा त बहाना मात्र रहेछ– ध्येय चाहिं पैसा कमाउने । २५ भदौ २०७४ मा बन्दै गरेको ‘बिजनेस कम्प्लेक्स’ लाई भाडामा लगाउने बोलपत्र नै आह्वान भयो ।

‘पाकिस्तान मोडल’ मा जाने हो भने त नेपाल सेनाले व्यावसायिक भवन मात्र किन, ब्यांक, कारखाना, विमानसेवा, सर्वत्र नाफामूलक काममा लागे भइहाल्यो । यसै अन्तर्गत उपत्यकाको व्यापारिक केन्द्रमा पैसा कमाउने काम गरे भइहाल्यो । तर लोकतान्त्रिक परिपाटी अनुसार सेनाले सैनिक काममा मात्रै ध्यान देओस् र यताउता आँखा नलगाओस् भन्ने धारणा उचित छ ।

१९८२ सालमा निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल ।

नेपाल सेना एउटा गर्व गर्न सकिने अन्तर्राष्ट्रियस्तरको क्षमता, मूल्य र मान्यता बोकेको सैन्यशक्ति होस्, यसलाई चाहिने जति ऊर्जा र उपकरणमा सरकारले कुनै कमी आउन नदेओस्, तर बेलाबखत जर्साबहरूमा देखिने ‘सिभिलियन व्यवसाय मोह’ मा नियन्त्रण जरुरी छ । यसले सेनाको लक्ष्य खलबलिन दिंदैन भने मुलुकको लोकतन्त्रलाई पनि हलचलबाट बचाउँछ ।

यस सैद्धान्तिक पृष्ठभूमिमा सेनाले व्यापारिक प्रयोगमा ल्याउन चाहेको यस नयाँ भवनको प्रयोग गर्ने कसरी ? पंक्तिकारको सल्लाह यस्तो छ– ऐतिहासिक र पुरातात्विक विषयसँग मिल्दोजुल्दो काममा प्रयोग होस् । सुझाव छ– छाउनीस्थित पुरातत्व विभागको राष्ट्रिय संग्रहालय (न्याशनल म्युजियम) को केही जग्गा सट्टापट्टा गरी महाँकालस्थानको भवनमा राष्ट्रिय संग्रहालयको केही महत्वपूर्ण अंश स्थानान्तरण होस् ।

द्वन्द्वकाल पश्चात् नेपालमा इतिहास तथा पुरातत्व विधा अपहेलित भएको जगजाहेर छ । न विद्यालयमा पढाइन्छ, न सामाजिक डिस्कोर्समा इतिहास र पुरातात्विक विषयलाई स्थान दिइन्छ । हामीलाई ‘इतिहासविहीन’ मुलुकमा परिणत गर्न कतिपयको चेष्टा पनि होला र इतिहासको बेग्लाबेग्लै व्याख्या पनि हुन सक्ला, तर समयचक्रको शून्यतामा कुनै समाज टिक्न सक्दैन । र, बिर्सनुहुँदैन कि धार्मिक, सांस्कृतिक, वास्तु तथा कलाकृति मात्र होइन, इतिहासकालको दस्तावेजमा समेत नेपाल दक्षिण एशियाली सभ्यताको अग्रणी पंक्तिमा पर्दछ ।

काठमाडौं महानगरपालिका वडा नं. २२ मा रहेको त्रिचन्द्र मिलिटरी अस्पतालको १२ रोपनी जग्गामा अन्डरग्राउण्ड सहितको नयाँ ९ तले भवन ३ लाख १५ हजार वर्गफिटको बनाइएको छ । यहाँ राष्ट्रिय संग्रहालयको ‘स्याटलाइट केन्द्र’ बनाउने हो भने सर्वसाधारण, स्कूल/कलेजका विद्यार्थी तथा पर्यटकलाई आकर्षक थलो हुनेछ । यस्तो इमारतले संस्कृतिदेखि अर्थतन्त्रसम्मलाई टेवा पु्‍र्‍याउने छ ।

नेपालको भौगर्भिक उत्पत्तिदेखि ‘प्रिहिस्ट्री’, मानव बसोबास, मध्यकालीन इतिहासदेखि शाह, राणाकाल हुँदै प्र्रजातान्त्रिक, लोकतान्त्रिक युग, द्वन्द्वकाल हुँदै विभिन्न पहिचानका आन्दोलन लगायत नयाँ संविधानसम्म सम्मिलित प्रस्तुति गर्ने राष्ट्रिय संग्रहालयले नेपालको नयाँ सांस्कृतिक युगको शुरुआतको संकेत पनि गर्नेछ । संग्रहालयले गोरखाली पूर्वज तथा नेपाल सेनाको इतिहास पनि उजागर गर्ने नै भयो ।

इतिहासविद्, संग्रहविद्, पुरातत्वविद्, मानवशास्त्री आदिले यस म्युजियममा गर्ने अनुसन्धान र युगयुगको गरिने आकर्षक प्रस्तुतिले समाजमा आफ्नो विगतप्रति चासो र कौतूहल जगाउनेछ ।

युवालाई यसरी संस्कृति, इतिहाससँग जम्काभेट गराइँदा आईटी, इन्जिनियरिङ, डाक्टरी तथा बिजनेस म्यानेजमेन्ट मात्र नभई अन्य क्षेत्रमा पनि पठनपाठन र करिअर बनाउन सकिन्छ भन्ने विश्वास र उत्साह मिल्छ ।

पर्यटकहरूलाई त शहरको मुटुमा अवस्थित यो म्युजियमले एकै थलोमा प्राचीन इतिहास मात्र नभई आधुनिक युगसम्मको चिनारीले गर्दा नेपालको मानवीय विविधता, राजनीतिक उथलपुथलदेखि अनेकन् आकर्षणहरूको गहिराइ खोतल्न सहयोग गर्नेछ ।

नेपाल सेनाको छाउनीस्थित सैनिक अस्पतालको छेवैमा छ, राष्ट्रिय संग्रहालय । पहिला त सरसल्लाह सहित चाहिएजतिको छाउनी संग्रहालयको जग्गा सट्टापट्टा गर्ने निर्णय नेपाल सरकारको नेतृत्वले लिनुपर्‍यो । जसलाई सैन्य कमाण्डले शिरोपर गर्नुपर्‍यो ।

भवन बनाउन सैनिक कल्याणकारी कोषले खर्च गरेको रु.२ अर्ब पनि सरकारले फरफारक गर्नुपर्नेछ । मुलुक र समाजको सांस्कृतिक अग्रगमनको लागि शहरमाझ एउटा यस्तो धरोहर खडा गर्ने कुरामा सरकार उत्सुक र उदार हुनुपर्दछ ।

राजधानीको केन्द्रभागमा यस्तो सांस्कृतिक–बौद्धिक थलोको आवश्यकता राष्ट्रिय राजनीतिक नेतृत्वले महसूस गर्‍यो भने सैनिक कमाण्डलाई ‘कन्भिन्स’ गराउने कुरा मात्र बाँकी रहनेछ ।

त्यताबाट अन्कनाउने काम भयो भने सम्झाउनुपर्ने हुन्छ– “यहाँहरूले भत्काउन नहुने ऐतिहासिक भवन ढाल्नुभो, शहरी मापदण्ड बेगर ‘कोर एरिया’ मा ९ तले भवन बनाउनुभो, विभिन्न मान्यता मुढेबलद्वारा मिच्नुभो, अब व्यापारिक प्रयोजनको विचार पाल्नुभाछ । यस पृष्ठभूमिमा सरकारको निर्णयको पालना नै गर्नुहुनेछ ।”

इतिहास, संस्कृति तथा विगत सम्बन्धी शोध, अध्ययन र प्रस्तुतिको महत्व बुझेका रक्षा मन्त्री ईश्वर पोखरेलले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन सहित मन्त्रिमण्डलको निर्णय गराउन सक्नुहुन्छ । सांस्कृतिक पक्षलाई सरकारले केन्द्रविन्दुमा राखेको छ भनेर जनमानसलाई सन्देश दिने मौका पनि हो, यो ।

पढ्नुहाेस् ।

सेनाको द्रव्य मोह: ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन

त्रि–चन्द्र मिलिटरी अस्पतालः सेनाको स्वार्थमा अड्को

1 Comment


  1. // Reply

    If the army hadn’t done something, the politicians would have found a way to take over the historic building for their own purpose, ie, put it into commercial use for themselves. The army did what it did to prevent that. The facade has been restored and reflects its historic past. Part of the building will house a medical facility while the rest will be leased out. With the country being robbed by the corrupt netas it’s only fair that the army looking to ways to generate income to support welfare schemes that run from providing medical benefits to army dependent S and retirees.

Leave a Reply

Your email address will not be published. Required fields are marked *