साथी शोहिदूललाई यस्तो कष्ट किन ?

हिमाल खबरपत्रिका (१४-२० आश्विन, २०७५) बाट

शोहिदूल आलमलाई जेल चलान, सरकार र राज्यलाई पर्यायवाची ठान्ने प्रधानमन्त्री शेख हसिना वाजेदको स्वेच्छाचारी निर्णयबाट भएको थियो।

सडक सुरक्षाको माग गर्दै स्कुले विद्यार्थीले निकालेको र्याली र शोहिदूलको विचार अल जजिरा बाट प्रसारण भइरहेको दृश्य ।


धेरै नेपाली पत्रकार र फोटो पत्रकारले चिन्ने बांग्लादेशका ‘सांस्कृतिक जुझारु’ शोहिदूल आलम संसारभर नै परिचित छन्– आफ्नो देशका अघोषित र अति प्रभावकारी राजदूत जस्तो।

बांग्लादेशमा फोटोग्राफी विधालाई अग्रस्थानमा लैजान सफल छन् उनी– प्रदर्शनी, प्रशिक्षण र आफ्नै तस्वीरहरूको करामतका कारण। विभिन्न राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोप, दुर्घटना या भूराजनीतिक अनर्थ हुँदा उनको खोजमूलक फोटोग्राफी नै विश्वसनीय हुने गर्छ– गार्मेन्ट फ्याक्ट्रीमा आगजनी होस् वा चट्टग्राम क्षेत्रमा रोहिन्जा शरणार्थीको ओइरो।

अनलाइन पोर्टल र इमेलद्वारा एक्कासि खबर आयो, ‘शोहिदूललाई समाते !’ हो रहेछ। २० साउन (५ अगस्ट) बेलुकी उनको फ्ल्याटमा करीब १५ वटा गाडीमा ३० जनाको डफ्फा पुग्यो र उनलाई सेतो भ्यानमा हालेर हिरासतमा लिइयो। यसरी पक्रने टुकडीमा राष्ट्रिय अनुसन्धान ब्यूरो, प्रहरी गुप्तचर, सैनिक गुप्तचर सबै संलग्न थिए। भोलिपल्ट अदालत लैजाँदै गर्दा उनलाई जस्तो हालतमा देखियो, त्यसबाट शोहिदूललाई त्यो रात यातना दिइएको थाहा भयो।

के गरेका थिए, शोहिदूलले यस्तो कष्ट पाउनका लागि ? को हुन् उनका शिकारी ? र, के जनाउँछ, यसले आजको बांग्लादेशको अवस्था ?

दश–दश वर्ष राजकाज सम्हालेकी बांग्लादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको सत्ता सञ्चालनको तरिका मनमौजी र असहिष्णु बन्दै गएको संकेत केही वर्ष अघिदेखि नै देखिएको हो। दुई वर्षअघि उनले ढाकाका प्रख्यात पत्रकार, द डेली स्टारका सम्पादक÷प्रकाशक महफूज आनामलाई सरकारमाथि द्वेष पालेको भन्दै विभिन्न जिल्लामा ६७ भन्दा बढी मुद्दा हालिदिइन्। तीमध्ये १६ वटा देशद्रोह अभियोग। यता र उता तारिख धाउँदैमा आनामलाई सास्ती छ।

शेख हसिनालाई सत्तामा रहिरहन यहाँको राजनीतिमा राम्रो प्रभाव जमाएको भारत सरकारको पूर्ण सहयोग एकातिर छ भने अर्कोतिर बांग्लादेशमा प्रतिपक्षी दल भन्ने नै रहेन। ‘बांग्लादेश नेशनल पार्टी (बीएनपी) की अध्यक्ष पूर्व प्रधानमन्त्री बेगम खालिदा जिया जेलमा छिन् र हजारौं नेता–कार्यकर्तालाई जताततै झूठा मुद्दाको जालोमा फसाइएको छ।

बांग्लादेशको मुक्ति संग्रामको नेतृत्व गरेका कारण सधैँ राज गर्ने एकाधिकार पाए जस्तै गर्दैछन्, सत्तासीन पार्टी अवामी लिग र नेतृ शेख हसिना। प्रतिपक्षी राजनीति कमजोर हुँदा बांग्लादेशमा स्वतस्फूर्त आन्दोलन उम्लिएर आउने गरेको छ। जब गएको १३ साउनमा एक युवक र एक युवतीलाई बसले ठक्कर दिएर मा¥यो, स्कुले विद्यार्थी एक्कासि मुलुकभरि उर्लिएर सडकमा आए, सरकार नै हल्लाउने गरी।

शेख हसिनाको प्रत्युत्तर थियो, पुलिससहित आफ्नो पार्टीको युवा संगठनलाई सडकमा उतार्ने। ‘छात्रो लिग’ दस्ताका हेलमेटधारी युवकहरू मोटरसाइकलमा चढी हातमा फलामे डण्डा लिएर ८–१० कक्षामा पढ्ने विद्यार्थीमाथि जाइलागे र सबैलाई त्रसित पार्दै प्रहरीले ५० भन्दा बढी केटाकेटीलाई हिरासतमा लिएपछि आन्दोलन जबरजस्ती साम्य भयो।

कुटपिटको घटना सबै खिच्दै थिए शोहिदूल र सडकबाटै फेसबुक लाइभ गरी उनले सरकारप्रति आफ्नो आक्रोश पोख्दै थिए। अल जजिरा टेलिभिजनमा विनासंकोच आफ्नो भनाइ राखेर शेख हसिना सरकारको ‘लेजिटिमेसी’मै प्रश्न गरे।

सरकारको क्रियाकलापबारे प्रश्न गर्नु, आक्रोशित हुनु, कडा शब्द प्रयोग गर्नु त खुला समाजभित्रको नागरिक अधिकारको हो। तर, आज बांग्लादेशमा खुला समाज छ भन्न सकिने अवस्था छैन।

शोहिदूललाई ढाका शहरबाट बुरुगंगा पुलपारि करीब १० किमि पूर्व नवनिर्मित ढाका केन्द्रीय कारागारमा राखिएको छ। त्यहाँ करीब ११,००० कैदी–बन्दी छन्। शोहिदूललाई दिइएको अलि राम्रो कोठा र केही सुविधा हटाउन महान्यायाधिवक्ताले अदालत समक्ष माग राखेका छन्। सरकारविरुद्ध ‘प्रोपोगाण्डा’ मच्चाएको आरोपमा शोहिदूलमाथि मुद्दा हालिएको छ, जमानतमा छुटाउन सकिएको छैन।

नेपालका सञ्चारकर्मी, बौद्धिक लगायत संसारभरबाट नोबेल पुरस्कार विजेतादेखि प्रबुद्ध लेखक, कलाकारहरूले शोहिदूलको रिहाइको माग गरेका छन्, तर शेख हसिनाले आफू झनै दृढ रहेको संकेत दिएकी छिन्। हसिना सरकारको चाहना बुझ्न गाह्रो छैन कि, ढाकाको उकुसमुकुस माझ बौद्धिक जमात– प्रोफेसर, पत्रकार र अन्य विचार निर्माणकर्ताहरू– शोहिदूलको अवस्थाबाट त्रसित होऊन् र तीन महिनापछि हुन लागेको आम निर्वाचनमा अवामी लिग विरुद्धको प्रचारबाजीमा ननिक्लिऊन्। यस अर्थमा शोहिदूललाई ‘उदाहरण’ बनाउन खोजेको छ, हसिना सरकारले।

ढाका केन्द्रीय कारागार। तस्वीर: कनकमणि दीक्षित


गत हप्ता बांग्लादेश पुगेर मैले शोहिदूललाई भेट्ने प्रयास गरें। ढाका केन्द्रीय कारागारका प्रमुख ‘जेलर’ रियाज कबीरको फोन नम्बर फेला पारें, दुई दिन लगाए धेरैचोटि सम्पर्कको कोशिश गरें, केही लागेन। ‘टेक्स्ट मेसेज’ गरें, ‘म शोहिदूलको नेपालबाट आएको मित्र, भेट्न मिल्थ्यो कि?’ उत्तर आएन।

भेट गर्न नपाएपछि कारागार पुगें। शोहिदूललाई मनमनै कामना गरें, ‘सुरक्षित रहनू, सकुशल बाहिर आउनू !’

सरकारको आलोचना गर्दा राज्यद्रोह! लोकतन्त्रको संघर्ष फेरि गर्नुपर्ने समय आएको रहेछ ढाकामा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *