शान्तिको प्राकृतिक प्रक्रिया

हिमाल खबरपत्रिका (१६-२९ माघ, २०६८) बाट

हाम्रो मुलुकमा द्वन्द्व भयो, काटमार भयो तर; अन्य मुलुकमा जस्तो द्वन्द्वपश्चात्को आर्थिक अग्रगमन भएन। बन्दुकको लडाईं अन्त्य भयो; तर विकास निर्माणले गति लिन सकेन, शान्ति छाएन। दुवैतर्फका पीडितका आँसु पुछिएन। राष्ट्रव्यापी रूपमा मानवीय तथा भौतिक संरचनाको पुनर्स्थापना र पुनर्निर्माण हुनुपर्नेमा त्यस्तो केही भएन। शान्ति प्रक्रिया टुङ्गिएको छैन तर संविधान कोर्ने काम भइरहेछ।

यस्तो रह्यो जनआन्दोलन २०६२-६३ सफल गर्ने जनताको इनाम। हिंसारहित राजनीतिको परिकल्पनासहित आम नागरिक गोरेटो र मैदानमा छाएका थिए। तर दण्डहीनताको संस्कृतिले यो पाँच वर्षमा झ्न् जरा गाड्न सफल भएको छ। निरङ्कुश शासन विरुद्ध ६ वर्ष अगाडि नागरिक सडकमा उत्रिएका हुन्। तर संविधान लेख्ने दौरानमा निरङ्कुशताकै खाका कोरिँदैछ।

सत्तारुढ दल होऊन् वा प्रतिपक्ष- सबै लिस्ट कमन डिनोमिनेटर को संविधान बनाउन तयार भएको देखिन्छ। यो पनि जनआन्दोलन २०६२-६३ र जनसमुदायको अपहेलना हो। सर्वोच्च अदालतद्वारा हत्यारा सावित व्यक्ति सभासद्को कुममा कुम मिलाएर बिटुलो संविधान लेराउन तयार छन्। न्यायको सिद्धान्त बिर्सिएर आममाफीको धरातलमा सत्य निरुपण आयोग तयार गर्न राजी छन्। लिस्ट कमन डिनोमिनेटर संविधान बनाउनका लागि विश्वब्रह्माण्डमा स्थापित लोकतान्त्रिक मूल्य-मान्यतामा ठेस पुर्‍याउँदै अतिवादीसँग लेनदेन गर्न तयार देखिन्छन्। गाउँ र जिल्लादेखि राष्ट्रिय तवरको सरकार र संसद्सम्म विना सिद्धान्त अल्पकालीन व्यावहारिक बाटो मात्र समाउँदै विना प्रतिपक्षको निर्दलीय व्यवस्थाको निर्माण भएको छ। सर्वत्र राज्यका संस्थाहरूलाई कमजोर मात्र होइन आन्तरिक स्खलन पार्ने प्रयास सफल हुँदैछ। हुँदाहुँदा आज राष्ट्रिय सेनालाई समेत चलाउने र धावा बोल्ने काम थालिएको छ।

शान्ति प्रक्रिया नटुङ्गिएको प्रतीक हुन्- चौकी, बङ्कर, गार्ड-पोष्ट अगाडि उतिबेला राखिएका बालुवा र माटोले भरिएका बोराहरू। यी स्याण्डव्यागहरू कार्यालय, व्यारेक, संरचनाको लागि खटिएका सुरक्षाकर्मीको सुरक्षाका लागि अल्पकालीन व्यवस्था थिए। मुलुकमा सही हिसाबले शान्ति छाएको भए बृहत् शान्ति सम्झौतामा सही भएको लगत्तै २०६३ साल मङ्सिरमै ती स्याण्डव्यागहरू हटाइन्थे। तर विश्वास रहेनछ।

शान्ति प्रक्रिया आजसम्म सफल भएन, भयङ्कर विश्वासघात भयो। जनताले जसोतसो आफ्नो जोहो गरे, आफूलाई सम्हाले। राजनीतिक नेतृत्व तथा नागरिक अगुवा जनतालाई शान्ति दिलाउन अग्रसर भएनन्, बरु ज्यादतीकर्ता र पीडकलाई नै सहुलियत दिन तम्सिए। जति शान्ति आयो नेपालमा, त्यो मात्र एक-एक नागरिकको धैर्य र सहिष्णुताको कारण हो। यही सहिष्णुता र धैर्यको प्रतीक हुन् ती भासिँदै टुक्रिँदै गएका बङ्करहरू। दलका नेता र नागरिक अगुवा ले जनताको माया गरेका भए ती बङ्कर उहिल्यै उठिसक्ने थिए। तर, जनतालाई आफ्नै जोहो गर्न छाडिदिएको हुनाले समय अलि लाग्यो र समयचक्रको घुमाइमा प्राकृतिक हिसाबले शान्तिलाई भित्र्याइँदैछ, पूर्वाग्रही नेतृत्वले अर्घेल्याईं गर्दा गर्दै। यसैले कतै बोराहरू फुटेका छन्, कतै वनमाराको झयाङमा परिणत भएका छन्, कतै बुट्यान उमि्रएका छन्। आज प्राकृतिक पुनर्स्थापनाको बाटोमा लागेको छ नेपाली समाज र यसको लागि नेपाली जनता नै महान् भन्नुपर्छ- कुनै नेता र अगुवा होइन। यदि शान्तिको यो प्राकृतिक प्रक्रियालाई कसैले भाँजो हाल्न खोज्छ भने जनता शान्तिपूर्वक गैरहिंस्रक, गान्धीवादी तरिकाले तिनीहरूका खिलाफ उत्रने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *