‘वागमती इच्छापत्र’

हिमाल खबरपत्रिका (२-८ चैत, २०७६) बाट

वि.सं. २०५१ को हिउँद । वागमती दुर्गन्धित हुँदै थिइन् । अव्यवस्थित शहरीकरणको ढल सोझै नदीमा ‘चढाउने’ प्रवृत्ति नसच्चिने जस्तो गरी अगाडि बढेको थियो । सुक्खायाममा नदी प्रवाहको करीब ६०–७० प्रतिशत त ढल मात्र बग्ने अनुमान थियो ।

यस्तोमा केही चिन्ताग्रस्त नागरिक थापाथलीको कालमोचन मन्दिर नजिक वागमती किनारमा जम्मा भए, र एउटा बाल्टीमा नदीमा बग्ने पदार्थ लिएर तर्पण गरियो । केही सामाजिक र सांस्कृतिक अग्रज र केही वागमतीको दुर्गतिप्रति चिन्ता राख्ने नागरिकले एउटा घोषणापत्र तयार गरे, त्यसैमा सही गरे अनि सार्वजनिक गरे । त्यो थियो — ‘वागमती इच्छापत्र’ ।

इच्छापत्र सहीकर्ताको ध्येय थियो, सामाजिक मस्तिष्कमा धक्का दिनु । वागमतीका आर्यघाट, टेकू र शंखमूलमा नभई अन्यत्रै अन्त्येष्टि होस् भन्ने व्यक्ति स्वयंको मृत्युपूर्व यस्तो इच्छा प्रकट गर्नाले नदीको दुरवस्थाप्रति सर्वसाधारणको ध्यानाकर्षण होस् र जुझारुपन जागोस् ।

इच्छापत्र सार्वजनिक भएको यो २५ वर्षमा उपत्यकाको जनसंख्या करीब १० लाखबाट ४० लाख नाघेको छ । शहरी बसोबासले पूरै उपत्यका ‘वाल–टू–वाल’ ढाकेको छ, जबकि त्यो वेलासम्म आवादीले ‘स्वनिग’ का तीन शहर र अन्य ससाना बस्तीहरू छुट्टाछुट्टै नै देखिन्थे । यसबीचमा ‘वागमती बचाउ अभियान’ पनि राम्ररी नै चल्यो, आर्यघाटछेउ विद्युतीय शवदाह गृह पनि निर्माण भयो ।

ढल प्रशोधनका लागि विश्व ब्याङ्कको सहयोगमा अरबौं खर्च गरेर प्रशोधन पोखरी सुन्दरीघाटसम्म ढल संरचना बनाइयो, तर सञ्चालनमै आएन । विडम्बनापूर्वक भन्नैपर्छ, उपत्यकामा शहरीकरणको सम्हाल्नै नसकिने माग र चाप धान्न जुन राजनीतिक स्थिरता र राजकाज चाहिन्थ्यो, अहिलेसम्म त्यो देखिएन ।

२५ वर्ष अघिसम्म पनि सिमेन्ट र कंक्रिटको लागि वागमतीको बालुवा दोहन हुँदैथियो । आज वागमती बालुवाविहीन भएकी छिन्, र नदी कालीमाटीको खोंच बनाउँदै बग्दछिन् ।

२०२१ सालको नापीमा केही अतिक्रमण हुँदा पनि, बालुवा पूरै हट्दा पनि वागमतीको तट लगभग पुरानै चौडाइमा थियो । तर, आज सरकारले नै वागमती र विष्णुमती ‘करिडोर’ भन्दै जताततै नदी स्वामित्वको जग्गामा मोटरबाटो दौडाएको छ । ढुङ्गा र सिमेन्टको पर्खालबीच नदीहरु कैद भएका छन्, नालामा परिणत गरिएका छन् ।

जहाँसम्म मलाई सम्झना छ, इच्छापत्र जुराउने काममा मित्र केदार शर्मा र म जुटेका थियौं । इच्छापत्र घोषणाको दिन ५० र पछि १६ जनाले सही गरेका थिए ।

सहीकर्तामध्ये केहीको निधन पनि भइसक्यो । तर, सामुदायिक परम्परा, पारिवारिक अनभिज्ञता वा अनिच्छा, वा अन्यत्र दुर्घटनामा मरणका कारण यीमध्ये कसैको पनि लेखिए जस्तो उपत्यका बाहिरको स्वच्छ नदीमा सद्गत हुन सकेन । आज आएर उपत्यका बाहिरका नदीहरूको पनि दुर्गति शुरु भइसकेको छ, त्रिशूली भन्नुस् वा लिखु वा इन्द्रावती ।

सहीकर्तामध्ये प्रह्लाद योञ्जनको सद्गत आर्यघाटमा भयो भने हुतराम वैद्यको उनको घरछेउ थापाथलीघाटमा नभई आर्यघाटमै गरियो । गोपाल योञ्जनको अन्त्येष्टि स्वयम्भू डाँडामा भयो । आफ्नै ज्यान लिन पुगेका भरतराज उप्रेतीले शरीर विज्ञानलाई दान दिए । चन्द्रप्रसाद गुरुङको निधन ७ असोज २०६३ मा ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा भयो भने एक वर्षअघि ४ असार २०७५ मा न्युरोसर्जन डा. उपेन्द्र देवकोटा बिते ।

‘वागमती इच्छापत्र’ ले गर्नुपर्ने जति काम गरेन जनमस्तिष्कलाई अलि घच्घच्यायो मात्र । तर त्यो वेलाको जागरुक नागरिकले उठाएको बिग्रँदो वातावरण, खासगरी हाम्रा नदीनालाको अवस्थाप्रति आज झनै संवेदनशीलता र क्रियाशीलताको आवश्यकता छ ।

हिजोभन्दा बढी आज मान्छे आफ्नो सुविधाका खातिर प्रकृति मास्न तल्लीन छ, प्राकृतिक सम्पदाको अन्धाधुन्द दोहन चलेको छ । २५ वर्ष अगाडि वागमतीतर्फ आँखा लगाइन्थ्यो भने आज फर्केर हेरिंदैन ।

हामी केहीले त इच्छापत्र लेख्यौं, आज वागमती स्वयं आफ्नो इच्छापत्र लेख्थिन् त भन्थिन् होली, “हे मानव मलाई मेरो जमीन र तट फर्काइदेऊ, निर्मल पानी फर्काइदेऊ, फर्काइदेऊ त्यो प्रवाह !”

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *