लौ आयो ‘लोक परिकारमाला’ !

नेपाल विविधताको देश हो भने परिकार पनि विविध हुनुपर्ने हो । रहेछ !

गएको वैशाख–जेठमा केदार र किरण शर्मा दम्पतीको ‘ज्यूनार दौडाहा’ चल्यो ४० दिन, मुख्यतः सार्वजनिक बसको खाँदाखाँद यात्रामा । यसबाट मुलुकभरिका परिकारको विविध प्रसङ्ग र स्वाद हामीले चाख्न पायौं, हिमाल को २९ असार–४ साउन र त्यसपछिका केही अंकमा ।

पूर्व राष्ट्रपति रामवरण यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल । तस्वीरः चन्द्रकिशाेर

जनसमुदायको हिसाबले नेपाल संसारकै विविधतापूर्ण मुलुकमध्ये पर्दछ । यो विविधता बाजागाजा, रहनसहन, बोलीचाली र लुगा लवाइमा जस्तै खानपिनमा पनि हुनुपर्ने हो ।

तर विदेशी पाहुनाले के हो तिम्रो विशेष ‘नेपाली खाना’ भन्दा पहिले हामीले ‘दाल–भात–तरकारी’ भन्थ्यौं, अलिपछि नेवाः भ्वेः र थकाली थाली अगाडि सार्‍यौं ।

उता आधुनिकीकरणका कारण बढेको ‘सांस्कृतिक विग्रह’, बजारिया खाद्य प्रणाली र पत्रु खानाको विगविगीले सामाजिक–पारिवारिक–सांस्कृतिक थिति र सम्बन्धमा धक्का दिंदै गरेको स्थिति थियो ।

कम्तीमा पनि मुलुकका अनेक भागमा अझै पनि जोगिएका लोकपरिकारको संकलन गर्नुपर्‍यो भनेर हिंडे केदारजी र किरणजी, दौडाहाका लागि नेपाल पर्यटन बोर्डको पनि धेरथोर सहयोग मिल्यो । जसरी हिजो धर्मराज थापा, झलकमान गन्धर्व, गणेश रसिक, हिरण्य भोजपुरे र आजका अमृत गुरुङ लोकगीत संकलनमा समर्पित थिए/छन्, त्यसरी नै दम्पतीले लोकपरिकार संकलक हुन चाहे ।

हिमाल मा लोकपरिकारको लेख शृंखला पढेपछि धेरैमा यस विषयमा चासो बढेको जस्तो लाग्यो — जागरण नै त नभनिहालौं — या मेरो चासोका कारण जताततै विविध हिमाली, पहाडी, मधेशी खानाबारे चर्चा र प्रस्तुति देख्न थालेको हुँ ।

तस्वीरः मनिष पाैडेल

उदाहरणका लागि जनकपुरमा गत साता सम्पन्न नेपाल लिटरेचर फेस्टिभलको पहिलो साँझ आयोजकले स्थानीय गोपाल धर्मशालाको बरण्डामा मिथिला लोकपरिकार चखाए ।

त्यहाँ पूर्व राष्ट्रपति डा. रामवरण यादव र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सँगै बसेर मिथिला स्वाद ग्रहण गरेको बडो सुन्दर दृश्य देखियो । भित्ता र भुईंको सफाइ अलि बढी गर्न सकिन्थ्यो, तर ती दुई भीआईपी अन्य सहभागी जस्तै धक नमानी पलेंटी कसिकन सामूहिक भोजनमा सहभागी हुँदा नेपाली राजनीतिको आमजनसँगको सामीप्य झल्कियो । भोजनले जोड्छ यसै भनिएको होइन ।

गोपाल धर्मशालाको परिदृश्य जस्तो भए पनि भोर्लाको पातमा प्रस्तुत मैथिल खाना ठेट र विशुद्ध स्वादिलो थियो । ‘शुरु घि आ अन्त दही, ओइ भोजन के भोजन कही’ भन्दै बसेका थियौं ।

शुरुको घिउ र अन्त्यको दही बाहेक भात, पुरी, राहैर दाल, कडी बडी, आलुगोभी तरकारी, अदौरी लौका सब्जी, तिलक चटनी, आदक चटनी, तरुवा (आलु, परोर, बैगन, केला र कदिम), भुजल मिर्चाइ, तिलौरी, पापड, मखानक खीर जस्ता खानेकुरा एकपछि अर्को सबै आउँदै गरे ।

जनकपुरको ज्यूनारपछि अब ललितपुरको रात्रिभोज प्रसङ्ग । गैरआख्यान वृत्तचित्र महोत्सव ‘फिल्म साउथएशिया’ मा यस उपमहाद्वीपका ठाउँठाउँबाट नेपाल ओर्लेका सहभागीलाई ‘नेपाली’ खाना खुवाउने योजना बन्यो ।

थकाली पाराको दाल, भात र छोइला–कचिलालाई मात्र ‘नेपाल’ प्रतिनिधित्व नगराउन नयाँ केही खोजौं भन्ने भयो । त्यसैले आयोजकले लोकपरिकार यात्री शर्मा दम्पतीलाई फराकिलो ‘नेपाली मेनु’ तयार पारिदिन आग्रह भयो ।

परिणाम, २८ कात्तिक साँझ महोत्सवका नेपाली लगायत विदेशी अतिथि, सहभागीले धेरै ठाउँका विविध परिकारको रसास्वादन गर्न पाए । यसले ‘नेपालव्यापी लोकपरिकार रात्रिभोज’ कै नाम कमायो । वृत्तचित्र महोत्सवमाझ ‘नेपाली स्वादको मिनी उत्सव’ पो भयो ।

परिकारमाला (मेनु) शुरु भयो पेयबाट — नेपाटिनी (ऐलामा आधारित कक्टेल) र राणाकालको ‘दरबारिया सर्वत’, परिवेशण (‘सिट्–डाउन्’)मा मध्यपहाडभर पाइने सिस्नोको सूप, तराई–मधेशको तरुवा, उपत्यकाको छोइला (हाँस/च्याउ) र पश्चिम तराईको ढिकरी ।

अनि इच्छाभोजन (‘बुफे’) मा हामीले जुम्लाको मार्सीबाट ‘नेपालव्यापी’ सेकुवा, राजवंशी माछाको झोल, जिम्बुले झानेको हुम्लाको सिमीको दाल, दार्चुलाको पिंडौ, नेपालगञ्जको ‘अवधी पनिर’, पूर्वी पहाडको किनेमाको अचार, ‘नेपालव्यापी’ सिन्कीको तिहुन र छुर्पीको अचार (सोलु, ताप्लेजुङ) खायौं । यस्तै मिष्ठान्नमा ‘नेपालव्यापी मालपुवा’ र पूर्वी र मध्यपश्चिम पहाडको ढकने । ‘मुखशुद्धि’ मा पेश भयो मिठा पान ।

‘नेपालव्यापी लोकपरिकार रात्रिभोज’ को परिकारमाला मेनु यस लेख सँगै पेश छ- नेपाली र अंग्रेजीमा । सँगै परिकारमालाका संकलकद्वयले नेपाली व्यञ्जनमालालाई अझ विस्तृत र बृहत् बनाउन सुझावको अपेक्षा पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *