लिपफ्रगः भ्यागुते छलाङ्ग

हिमाल खबरपत्रिका (२३-२९ माघ, २०७३) बाट

नेपाल निरन्तर ओरालोको बाटो लाग्यो १ फागुन २०५२ को दिनबाट, जब नेकपा (माओवादी) सशस्त्र संघर्ष गर्ने भन्दै भूमिगत भयो । त्यसपछिको सामाजिक, आर्थिक, मानवीय चोट आज २० वर्षपछिसम्म जनतालाई पर्दै आएको छ ।

चित्र: सुवास राई, धुमधामको घुमघामबाट

चरम अवसरवादी माओवादी नेतृत्वको क्रियाकलापले ढिलोचाँडो सरकारलाई कठोर बनायो, बौद्धिकहरूले हातखुट्टा छोडे, विदेशी (विशेषगरी भारतीय) हस्तक्षेप निम्त्यायो, मुलुक जानाजान अन्तरसामुदायिक विग्रहको खतरामा पर्‍यो ।

तर, दुईदशक पुगिसक्दा पनि नेपाली जनताले हरेश खाएका छैनन् । राजनीतिक दलहरूको अकर्मण्यताका बाबजूद समाज भोलिको लागि आशावादी र क्रियाशील छ ।

लोकमानसिंह कार्कीको कठोर योजनालाई समेत आखिर नागरिक आवाजले नै असफल बनायो । गलेको, थाकेको, आशा मरेको भए नागरिक यसरी प्रष्ट विचारसहित अगाडि आउँदैनथे ।

निराशाजनक अवस्थाबीच पनि आम–नागरिकको नेपाल अगाडि बढ्छ भन्ने विश्वास ‘रोम्यान्टिसिजम्’ नभई ठोस राष्ट्रिय सम्भावनाहरूमा आधारित छ । हो, विभिन्न कारण हामी खाडलमा पर्‍यौं, तर अन्य कति मुलुकसँग नभएको कुरा हामीसँग छँदैछ ।

आर्थिक क्रान्ति र कायापलटका लागि मिश्रित जनसमुदाय, प्राकृतिक स्रोत, भौगोलिक–जैविक विविधता तथा अनेकन् भित्री–बाहिरी प्रहारसामु समेत कमजोर नभएको सार्वभौमिकता हामीसँग छ । अर्थात्, जनतामा एउटा वैज्ञानिक बुझाइ छ कि नेपाल ‘लिपफ्रग’ गर्न सम्भव छ ।

***
नेपाली भाषामा भ्यागुतोलाई लिएर नकारात्मक या निराशाजनक उक्तिहरू हामी पाउँछौं । ‘भ्यागुताको धार्नी’ ले कहिल्यै पूर्ति नहुने लक्ष्य सुझाउँछ । ‘कुवाको भ्यागुतो’ ले संसार नदेखेको, खुम्चिएको मनस्थितिको ‘पेसिमिष्ट’ मनोविज्ञान झल्काउँछ ।

कसैलाई अगाडि बढ्न नदिन एउटा खाल्डोका भ्यागुताहरूको कथाले आफू पनि निक्लन नसक्ने, जाग्न खोज्नेको खुट्टा तान्ने प्रवृत्ति, एक हीनताबोध र अक्षमताले गाँजिएको समाज चित्रण गर्छ ।

यस्ता निराशाजनक भ्यागुता सन्दर्भको उल्टो हो, ‘लिपफ्रग’ चिन्तन र प्रवृत्ति । यसले तथ्य, तर्क र व्यावहारिकताको आधारमा तीव्र प्रगतिका सम्भावनालाई संकेत गर्दछ ।

नेपाल ‘लिपफ्रग स्टेज’ मा छ अहिले– बाह्य र आन्तरिक दुवै कारण । हामीलाई ‘एक्सेलरेट’ गर्न राज्यबाट राजनीतिक हिसाबले चाहिएको कुरा यति मात्र हो– एक, राजनीतिक स्थायित्व र; दुई, लोकतन्त्र । बाँकी काम जनता र अर्थतन्त्रले आफैं गर्छन् ।

ऐतिहासिक कालमा राजनीतिक स्थायित्व पर्याप्त थियो, तर लोकतन्त्र थिएन । २०४६ सालमा लोकतन्त्र भित्रियो र स्थानीय निर्वाचनदेखि उत्पादन र रोजगारीसम्मले गति लिए केही वर्षसम्म । तर, एउटा ‘फ्रिन्ज’ समूह (माओवादी) का नेताले ‘जनयुद्ध’ शुरू गरिदिए । त्यसको परिणाम हामीसामु छँदैछ ।

लोकतन्त्र आयो, तर राजनीतिक स्थायित्व २०–२० वर्षलाई गुम्यो– आन्तरिक द्वन्द्व र तत्पश्चात्को अनन्त संक्रमण, दुईवटा संविधानसभा तथा आजसम्मको संविधान कार्यान्वयनमा तगारो र विदेशी हस्तक्षेप ।

आश गरौं, अब आउँदो महीना सबैतिरबाट बाटो खुलोस्– (क) दिल्लीले नाकाबन्दीमा गल्ती गरेको महसूस गरेको भन्ने सूचना आएको छ, त्यो हो भने संविधान कार्यान्वयनको अवरोधमा पनि ऊ थकित भई पछि हट्ला, (ख) मधेशकेन्द्रित नेतृत्वले बाँकी मुलुकलाई बन्धक राख्ने र मधेशी जनताको भावना मुखरित नगर्ने नीति त्याग्लान्, (ग) राष्ट्रियस्तरका नेताले मधेशको सम्मान, समावेशिता र राजनीतिक समताको कुरा बुझेर ठोस कदम चाल्लान् ।

यी तीन कुरा हुने हो भने स्थानीय निर्वाचन हुन्छ र लगत्तै प्रान्तीय तथा राष्ट्रिय निर्वाचन पनि । लोकतान्त्रिक राजनीतिक स्थिरता उपलब्ध हुन्छ अनि नेपाल जाग्नेछ ।

हिमाल, पहाड र तराई–मधेशको स्थानीय निकायहरूमा प्रतिनिधिमूलक जवाफदेहीले भूकम्पपश्चात्को पुनःनिर्माणदेखि उत्पादन, वातावरण संरक्षण र समावेशितासम्मका सयौं विषयका गाडी अगाडि बढ्नेछ ।

पहिला विकास र प्रगति हुन समय लाग्थ्यो । अहिले जनमानसको सोच आधुनिक र ‘रिसेप्टिभ’ छ, जमाना डिजिटलको छ जहाँ सोच र तौरतरीका एक मुलुकबाट अर्कोमा जान या एउटा गोलाद्र्धबाट अर्कोमा स्थानान्तरण हुन कत्ति पनि समय लाग्दैन ।

२०६२/६३ ताका मैले लेखेको थिएँ– नेपाली अर्थतन्त्र ‘कोइल्ड स्प्रिङ्ग’ जस्तो छ, त्यो अर्थतन्त्रलाई आकासिन मात्र ‘ट्रिगर’ चाहिएको छ ।

अफसोच, १४ वर्षको संक्रमणको कारण त्यो ट्रिगर दबेन । तर मुलुक यही हो, प्राकृतिक स्रोत कतै गएको छैन, सबै हामीसितै छ । आम जनता देशभित्रको भोगाइ तथा बाहिरको रोजगारले व्यावहारिक र चिन्तनशील बनेका छन् ।

जनताको सुझबुझका कारण अनेकन् व्यवधान पार गर्दै आएका हौं हामी– संविधान लेखियो, नाकाबन्दीको सामना गरियो र समुदाय समुदाय टुक्र्याउने प्रयास सफल हुन पाएनन् ।

अब भ्यागुताले बुर्लुुक्क उफ्रेर खाडल र चट्टान पार गरे जसरी नेपाली समाज र अर्थतन्त्रले फड्को मार्ने टड्कारो देखिन्छ । इतिहास र प्रकृतिले हामीलाई राम्रो भविष्य दिलाएको छ, जसको लागि लोकतन्त्र र स्थायित्व पूर्वाधार हो ।

अरू कैयौं देशलाई इतिहास र प्रकृतिले यसरी साथ दिएको छैन, अतः ‘लिपफ्रग’ गर्न सक्दैनन् । नेपाल सक्छ ।

हालै ‘लिपफ्रग’ गरेका देशहरूको अनुभव पनि बुझौं– विशेषतः र्‌वाण्डा, जर्जिया र क्याम्बोडियाको । उनीहरूले सक्छन् भने नेपाल झन सक्छ । तर ‘लिपफ्रग’ गर्दागर्दै हामीले नमूना देश मान्नुपर्ने भने कोष्टा रिका नै हो जस्तो लाग्छ । कोष्टा रिकाबारे अरू कुनै बेला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *