माछापुच्छ्रे उकालो लाग्दा

हिमाल खबरपत्रिका (१-१५ कार्तिक २०६६) बाट

पोखराबाट माछापुच्छ्रेको भिरालो मुहार देख्दा सधैँ लाग्दथ्यो― सीधै यो हिमालको फेदसम्म जान पाए कस्तो हुँदो हो, के पाइँदो हो। यही पुरानो आकाङ्क्षा पूरा गर्न यसपालि दशैँको छुट्टीमा चार दिनको कडा पदयात्रा गरियो― मार्दी र सेती नदीबीचको पहाडी धारलाई पक्रेर माथि-माथि गाउँवस्ती छाड्दै अझ् माथिको।

पोखरा जत्तिकै उचाइमा रहेको मार्दी फाँट (११२० मिटर) बाट शुरु हुने यो यात्रा छिट्टै एक मात्र रिभान गाउँ पार गर्दै अगाडि बढ्छ र जुका र जङ्गलको संसारमा पुगिन्छ। शरद ऋतु लागिसकेकोले होला धन्न जुकाहरू त्यति आक्रामक थिएनन्, अलि सोमत सिकेका जस्ता थिए। तर ओदानेको डाँडामा भैंसीको राज रहेछ। तल घाचोक र अन्य गाउँबाट छाडा छाडिएका अर्ध-जङ्गली स्वभावका यी चौपायाले ठूलाठूला आँखा पार्दै उत्तेजित भएर हरिण जस्तो बुद्रुक-बुद्रुक उफ्रिँदै उकालो-ओरालो गर्न सिकेकारहेछन्।

अन्नपूर्ण राउण्ड पदयात्रालाई मोटर बाटोले असर पारिरहेको अवस्थामा वास्तविक टे्रकिङलाई बढावा दिन माछापुच्छ्रे मोडल ट्रेक को नाममा यो क्षेत्रलाई प्रचारमा ल्याइने काम भर्खरै शुरु भएको रहेछ। सन् २००९ कै नयाँ नक्सा हातमा लिएर परिवारसँगसँगै माथि उक्लेको थिएँ म। गाउँवस्ती भन्दा उचाइमा पुगेपछिको लागि पाल र खानेकुरासहित देवानसिंह राई र सहयोगीहरू हाम्रो साथमा थिए।

उकालो लाग्दै जाँदा अनेकन चिज देख्यौँ, कुनै रोचक कुनै सोचनीय। पूरै यात्राको क्रममा पोखरा उपत्यकाले साथ छोडेन, मात्र उचाइ अनुसार परिप्रेक्ष्य बदलियो। रातको पोखरा शहरको झिलिमिलि हेर्नलायकको थियो। जोमसोमतर्फ उडेका ट्वीन अटर र डोर्निएर हवाईजहाज भुसुनाजस्तो गरी कालीगण्डकी खोँचतर्फ लागेका देखिए। दक्षिणतर्फ नवलपरासीलाई पहरा दिइरहेको देवचुली डाँडा र अलि पूर्वतिर बन्दीपुरका दुई थुम्का देखिन्थ्यो। तल, पूर्वपट्टि खोँचमा सेती नदी बगिरहेकी थिइन्। शताब्दीयौँ अघि एउटा बिश्यारी फुटेर यतैबाट पोखरा उपत्यकाको फाँट बन्न चाहिने ढुङ्गा र माटो गएको भन्ने प्रमाण यहाँ देखिने डिलको बनावटबाट पुष्टि हुन्छ। डिलको लाइन घाचोक र भुर्जुङ गाउँहुँदै माथिसम्म अगाडि बढेको छ। उकाली बाटोमा ठाउँ-ठाउँमा वस्ती र घरजम उठेको, कान्लाहरू जङ्गलमा परिणत भएको प्रमाण पाइए।

तर मुख्य दृश्यावलोकन त उत्तरतिरको हिमालकै हो। पूर्वपट्टि अन्नपूर्ण-१ लाई अन्नपूर्ण साउथ हिमालले छेक्दथ्यो। पश्चिमपट्टि अन्नपूर्ण-२ को भादगाउँले टोपी नजिकै र उचाइबाट देखियो, अनि लमजुङ हिमाल र अलिपर मर्स्याङ्दी पारिपट्टि गोरखा हिमालको हिमालचुली र बौद्ध चुचुराहरू देखिए।

तर यति माथि आउनु भनेको माछापुच्छ्रेको लागि थियो। पहिलो रात लाल्का जङ्गलमा क्याम्प गर्दा माछापुच्छ्रेको चुचुरो उस्तै, तर अलि नजिकै पाइयो। भोलिपल्ट ३२४५ मि उचाइको खर्कको खुमाइमा बास बस्दा झ्नै नजिक र पर्सिपल्ट ३६८२ मिटर उचाइको कोर्चन डाँडाको टुप्पामा पुग्दा नाकै छुने गरी सामुन्ने पेश भयो। पोखरादेखि माछापुच्छ्रेसम्म एकै लाइनमा हिँडेको हुनाले हिमालको आकार भने अलिकति पनि फरक देखिएन, मात्र नजिक, झ्न् नजिक। माछाको पुच्छरको आकार हेर्न त पश्चिम लान्द्रुक र घान्द्रुकतिर नै लाग्नुपर्थ्यो। यी गाउँ तलै देखिन्थे।

यत्रो कसरत गरेर आइसक्दा पनि माछापुच्छ्रेको पूरा कद भने देख्न पाइएन। बुकेनीको अग्लो धारले फेदको दृश्यलाई ढाकेको थियो। तिमीलाई गाह्रो त भयो होला, तर यति सजिलैसँग चारै दिनमा हिमालको फेद पुग्न सक्छु भन्ने ठान्नु तिम्रो महत्वाकाङ्क्षा थियो बाबु, माछापुच्छ्रेले मैलाई सुनाएर भनेजस्तो लाग्यो।

महत्वाकाङ्क्षामा ठेस पुर्‍याउने अरू कुरा पनि थिए― ३३०० मिटरको उचाइसम्म पुग्दा पनि भैंसीकै बाटो पछ्याएर हिँड्नुपर्दा आफूलाई पराक्रमी पदयात्री कसरी भन्ने? ठूलै उचाइ र उपलब्धि हासिल गरेको ठानिरहेको बेला एकैदिनमा तल खारपानी गाउँबाट उकालो भ्याएका भेडी गोठालाहरू सुसेली हाल्दै उछिनेर माथि लागेको देख्दा वाल्ल परियो।

थकाइ मार्न खुमाइमा बसिराख्दा एक भेडी गोठालाले मेरो किताब उठाएर अङ्ग्रेजी शीर्षक फरर पढे अनि थचक्क बसेर गफ गर्न थाले। घाचोकका शिवराम अधिकारी रहेछन्, आफ्नो पिता बितेपछि पृथ्वीनारायण क्याम्पस पोखरामा बीबीएसको पढाइ छाडेर यो कठिन पेशामा लागेका। पहिले दुई वर्ष खाडीमा बिताइसकेका उनलाई त्यहाँको आम्दानीले जाने-आउने ऋण तिर्न मात्र भ्याएछ। उँभो माछापुच्छ्रे र मार्दी हिमाल (४१२० मि) को ठ्याक्कै फेदीस्थित बुकेनी खर्कमा उनको भेडीगोठ रहेछ। “आम्दानी राम्रै भएपनि यो काम गाह्रो छ। यसमा एकदमै एक्लो भइन्छ। दाइसँग मिलाएर आउने-जाने गर्छु। यो त भएन भनेर लिबिया जाने सोच पनि बनाएको छु। तर फेरि विदेशको कामभन्दा आफ्नै देशमा इलम गर्नु ठीक पनि लाग्छ”, उनले भने।

शिवराम अधिकारीको भनाइमा केही वर्षयता आम जनतामा देखिएको सम्भावना र निराशा नै झ्ल्कन्थ्यो। र, यो पनि सोचनीय छ― तमु/गुरुङ भेकको यो उचाइमा भेटिने यी बाहुन भैंसी र भेडी गोठाला पहिल्यैदेखि यतै थिए, या नयाँ फेनोमेनन् हो? गुरुङहरूको आकर्षण तल्लो भेक, पोखरा र अन्यत्र बढेकोले बाहुनहरू कुरा मिलाएरै यता उक्लिएका हुन् त? विगतमा पहाडे बाहुनहरू असम र बर्मासम्म ग्वाला बन्दै बसाइँ सरेको सन्दर्भमा त पुर्ख्यौली मात्र नभई जातीय पेशा पनि भएकोले माछापुच्छ्रेको फेदमा यो पेशा र यो समुदाय फेला पार्दा आश्चर्य नमान्ने कि?

माछापुच्छ्रेको उकाली सकेर ओराली लाग्दा यस्तै कुरा मनमा लिएर फर्किएँ। यी प्रश्नहरूको जवाफ मसँग थिएन पनि। हिमाल-पहाडमा आएको मोटर बाटोले ल्याएको परिवर्तन र दूरगामी असर, ट्रेकिङ गन्तव्य र पेशामा देखिएको फेरबदल, बसाइँसराइ र व्यवसायको बदलिँदो सामुदायिक अनुहार― यो विश्लेषण गर्नु मेरो बुताभन्दा बाहिर समाजशास्त्री र अनुसन्धानकर्ताको क्षेत्र थियो। चार दिनको पदयात्रामा विषयवस्तुको आकार मात्र पहिचान गर्न सकिन्थ्यो, गहिराइमा बुझन सक्ने सम्भावना थिएन। र, अर्को कुरा― के परापूर्वकालदेखि नै माछापुच्छ्रेको छेउछाउको यो उचाइमा भैंसी पुगेकै रहेछन् त?

1 Comment


  1. // Reply

    तपाईलाई नेपालको हालसम्म उकालो लाग्दा सवै भन्दा बढी अनन्तरमनले छुईएको स्थान कुन होला बताई दिनु हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *