बाज र भँगेरी

हिमाल खबरपत्रिका (१६-३१ बैशाख २०६६) बाट

परम्परागत घरहरूमा काठका झयाल हुन्थे या आँखीझयाल। एक शताब्दीअघि सिसा भित्रिएपछि पहिले महल र दरबारमा पछि सर्वसाधारणका घरका खापामा स-साना ऐना गाँसेर झयाल बनाइन थाले। गत दशकयता एक्कासी ठूला-ठूला प्लेट ग्लासलाई काठको या आल्मुनियमका खापामा राखेर झयाल र ढोकामा समेत जडान गर्ने क्रम बढ्दो छ। यसरी नयाँ प्रविधि र वास्तुअन्तर्गत निर्मित भवनहरू सबैलाई आकर्षक लाग्नु स्वाभाविक हो। कोठा उज्यालो हुन्छ, क्रस भेन्टिलेशन ले घरलाई वातानुकूलित गर्छ।

हामी मानवलाई यी ठूला ऐनाका झयाल-ढोका जत्तिकै पायक परे पनि विभिन्न पक्षी प्रजातिका लागि यो विकास खतरनाक सावित भएको छ। यद्यपि मानवीयताको दृष्टिकोणले हामी अर्को प्राणी जातितर्फ त्यति संवेदनशील हुनसकेका छैनौँ। अलि ठूलो ऐना जडेको झयाल-ढोका भएको कुनै पनि कोठामा समय बिताएको जो कोहीले अनुभव गरेको कुरा हो- बेलाबखत टङ्ग… या डङ्ग… आवाज। त्यो हो विभिन्न चराचुरुङ्गीहरूले ऐना नदेखी खुला ठाउँतर्फ उडिरहेछु भन्दा ऐनामा ठक्कर खाँदाको आवाज। यदि भँगेरो या फिस्टे जस्तो सानो चरो हो भने आवाज टङ्ग आउँछ। तर परेवा या ढुकुर जस्तो ठूलै पक्षी हो भने ठूलै डङ्ग सुनिन्छ।

कुनै बबुरो चराको यस्तो ठक्करबाट घाँटी नै भाँचिन्छ र तत्कालै मृत्यु हुन्छ। कुनै झयालको तल पिँढीमा खस्छन् र अलिबेर फट्फटाएपछि ज्यान अर्पण गर्दछन्। कुनै कुनै भँगेरो या फिस्टे रन्थनिएर यसै डिलमा बस्छन्, अलि पछि उडेर नजिकको बुट्यानतर्फ लाग्छन्। तर तिनीहरूको पनि भविष्य पक्का हुँदैन, यस्तो अवस्थामा कुकुर बिरालाको सजिलै आहार बन्न पुग्छन्।

आखिर यसरी किन पक्षीहरू सीधै ऐनाको भित्तामा ठोक्किँदै आत्महत्या गर्न तम्सन्छन् त? कारण, उत्पत्तिको क्रममा आधुनिक आविष्कार प्लेट ग्लास उनीहरूको मस्ितष्कमा अङ्कित भएको छैन। न त चमेराको प्रजातिहरू जस्तो सोनार र प्रतिध्वनिद्वारा कानले सुन्दै उनीहरू बाटो पहिल्याउँछन्। यी पक्षीहरू त आँखाको भरमा उड्नेहरू हुन् र पारदर्शी प्लेट ग्लास राखिएका झयाल-ढोका हेर्दा उनीहरूले खुला कोठा देख्दछन्, जहाँ ‘त लिन सकियोस् अथवा एउटा झयालबाट छिरेर अर्को झयालबाट निक्लन सकियोस्। अक्सर यसरी मानवगृह भित्रिने चराहरू बाज या चीलजस्ता बर्डस् अफ् प्रे को हमलाबाट बच्न छहारी खोज्दै आएका हुन्छन्। परेवा र भँगेराजस्ता अलि बढी मानव वस्तीमा हेलमेल गर्ने प्रजाति बढी यसरी दुर्घटनामा परेको हामी पाउँछौँ। काग जस्तो बढी चतुर अथवा धोवी चरो, जुरेली/बुलबुल या भद्राई जस्ता अलि बढी जङ्गली प्रजाति यस्तो दुर्घटनामा कम पर्ने गर्दछन्।

आधुनिक प्रविधिद्वारा उत्पादित पारदर्शी ऐनाबाट सुसज्जित भवनमा छहारी खोज्ने क्रममा बित्थामा यसरी दिनहुँ हजारौँ पक्षीलाई चोट परिरहेको हुन्छ। यस्तो दैनिक प्रकोपबाट यी चराहरूलाई बचाउने एउटा उपाय पनि छ, तर अन्य धेरै पीरमर्का र हिंसाको शृङ्खलाबाट आजित हाम्रो समाजले यसतर्फ ध्यान दिन भ्याएको छैन। पश्चिमी मुलुकमा एउटा तरिका अपनाइन्छ, जुन हामीले पनि अँगाल्नु जरुरी छ।

स-साना चराहरू आफूलाई आहार बनाउने चील या बाजसँग सदैव सतर्क रहन्छन्। माथि आकाशको पृष्ठभूमिमा ती मांसहारी चराहरूको कालो आकार तुरुन्तै पहिचान गर्न सक्ने शक्ति उत्पत्तिको क्रममा भँगेरा र परेवाको मस्ितष्कको जिन मै कोरिएको हुन्छ। त्यो आकार देख्दा नै उनीहरू सशङ्कित भई अन्यत्र रफूचक्कर हुन पखेँटा फिजाइहाल्छन्। तसर्थ, त्यस्तो बाज या चीलको छायाँ परेको जस्तो कालो आकार झयाल ढोकाका ठूला ऐनामा टाँसिदिने हो भने चराहरू त्यो आकार देखेर अन्तै भाग्छन् र ठक्कर खानबाट बच्दछन्। प्राणीको जीवन बचाउने यो एउटा तरिका हो।

कुनै पनि खालको प्रताडनाबाट बच्न भनेर कुनै भवनको कोठाभित्र छहारी खोज्न आउने निर्दोष चरालाई यता होइन है, खतरा छ! भनेर सन्देश दिनु जरुरी छ। त्यहाँ एउटा बाज या चील आकारको स्िटकर ऐनामा टाँस्ने हो भने प्रकृति र प्राणीप्रति हामी संवेदनशील रहेको ठहर्छ। भन्नै पर्दा हिंसा र मरण विरुद्ध अर्को प्राणी र प्रजातिको बचाउ गरेकै हुन्छौं।

अफसोच, नेपाली बजारमा त्यस्तो बर्डस अफ् प्रे को आकारको स्टिकर पाइँदैन। यदि मेरो सुझाव तपाईंलाई मन पर्‍यो भने, यसै लेखसँग पेश गरिएको आकारलाई फोटोकपीमा करिब डेढ बित्ता ठूलो बनाई कटिङ गरी आफ्नो झयालको ऐनामा बाहिरपट्टि देखिने गरी टाँस्नुहोला। यसरी निर्दोष, यस जगतको प्राणीलाई खतराबाट आफूलाई बचाउन सूचना दिनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *