बाँदरमुढे नरसंहारको १५ वर्षः पीडक सत्तामा, पीडित अझै शोकमा

हिमाल खबरपत्रिका (२३ जेठ, २०७७) बाट
माडी नरसंहारमा एम्बुसमा परेको बस । तस्बिरहरू: कनकमणि दीक्षित
१५ वर्षअघि २०६२ साल आजकै दिन २३ जेठमा तत्कालीन नेकपा (माओवादी)को विद्युतीय धरापबाट चितवनको कल्याणपुर गाविसस्थित कल्याणपुर र वसन्तपुर बजारबीच बाँदरमुढे खोलामा सार्वजनिक बसमा सवार ३९ जनाको ज्यान गएको थियो ।

घटनाको तीनवर्षपछि र त्यसपश्चात पनि माओवादीको नेतृत्वमा तीनपटक सरकार बन्यो । दुईपटक पुष्पकमल दाहाल र एकपटक बाबुराम भट्टराई प्रधानमन्त्री बने । 

हिंसात्मक विद्रोहलाई नेतृत्व दिएका तिनै दाहाल अहिले तत्कालिन नेकपा (एमाले)सँगको एकिकरण पश्चात बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष छन्। सत्ताका अनगिन्ति सुविधामा छन् । तर, बाँदरमुढेमा ज्यान बाँच्न गुमाएका परिवार र अपांगहरु आजसम्म पनि न्यायका लागि सिंहदरबार भौतारिरहेका छन् ।

बाँदरमुढे संहारको सम्झनामा कनकमणि दीक्षितद्वारा असार, २०६२ मै लिखित स्थलगत रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ ।

माओवादी नेतृत्वको निर्देशनमा फोन गरेको भन्दै दुई साताअघि एक अज्ञात व्यक्तिले यस खबरपत्रिकामा प्रकाशित केही लेख र लेखकको सम्बन्धमा आलोचनात्मक टिप्पणी सुनाए । फोनमा उनको स्वर गम्भीर थियो र शब्द कडा थिए । ‘धम्की दिएको कि सुझाव ?’ भनेर सोधेपछि स्वर अलि नरम पारेर ‘माओवादी पक्षको रिपोर्ट र विश्लेषण सही ढङ्गले गर्ने’ आग्रह गरे ।

“तर तपाईँहरूको नीतिले नै राजनीतिक लक्ष्यप्राप्तिको लागि मानिस मार्न छूट दिन्छ, त्यसलाई कसरी मान्ने ?” प्रश्न गरियो । उनको जवाफ, “हामी सृजनात्मक पुनरावलोकनको कार्यमा लागेका छौँ ।” फेरि प्रश्न गरियोः “आफ्ना कार्यकर्ताहरूलाई मान्छे नमार्ने निर्देशन किन दिनुहुन्न त ?” जवाफः “हाम्रा कार्यकर्ताहरू हिंसात्मक कार्यमा अभ्यस्त भइसकेकोले अलि समय लाग्नेछ ।” अर्थात् बानी परिसक्यो, पर्खनुस् ।चितवन, माडीको २३ जेठको नरसंहारले– विध्वंस गर्न र मार्न अभ्यस्त माओवादी नेता र कार्यकर्ताको त्यही मानसिकता झल्काउँछ । ३९ जना नेपालीलाई लुकेर धरापमा पारी मार्दा वा बच्चाबच्चीको शरीर क्षतविक्षत पार्दा कुन चाहिँ राजनीतिक लक्ष्य प्राप्त हुने हो, ठम्याउन गाह्रो छ ।

तर ठम्याउन कत्ति पनि गाह्रो नहुने कुरा चाहिँ के हो भने– आजसम्म राज्य पक्ष र अन्तर्राष्ट्रिय जगतको तीब्र आलोचना खेपिरहेको माओवादीले अब जनतालाई पनि आफ्नो उत्तिकै कडा शत्रु बनाउँदै गएको छ । आफ्नो राजनीतिक लगानी गुमाउँदै पूर्ण हिंसाको खेतीतर्फ लागेका कारण माओवादीको सामाजिक लक्ष्यप्रति सहमति जनाउनेहरू समेत उसप्रति नकारात्मक हुन पुगेका छन् ।

माओवादीहरूको भनाइ र गराइको अन्तरविरोध जताततै झल्कन थालेको छ । अति राष्ट्रवादको हिलोमा खेल्न र भारतलाई मुख्य विस्तारवादी शत्रु कहलाउन रुचाउने माओवादीलाई आफैँले खनेको खाडलबाट उद्धार गर्न आखिर उही नयाँदिल्ली चाहिने रहेछ भन्ने देखिन थालिसकेको छ । पुष्पकमल दाहालले जतिकै वक्तव्य छाँटे पनि, माफी मागे पनि उनका स्थानीय कमिसारहरूले राजनीतिक दललाई गाउँ पस्न दिएका छैनन् ।

निर्दोष नागरिकलाई चोट पुर्याउने र मार्ने काम रोकिएको छैन । सामरिक मैदानमा सेना र पुलिसलाई परास्त गर्ने ठूलाठूला कुरा गर्ने माओवादी यता आएर लुकिछिपी धराप, एम्बुस र व्यक्ति हत्यामा झन् बढी ओर्लिएको छ । जत्तिकै बबण्डर मच्चाएको भए पनि माओवादीले उठाउन खोजेको सामाजिक परिवर्तनको अभियान नतुहियोस् भन्ने आस थुप्रै नेपालीले नगरेका होइनन् । तर आफ्नो उर्जा सही ढङ्गमा लक्षित गर्न नसकेका कारण उसले त्यो सद्भाव क्रमशः गुमाइरहेको छ ।

आतङ्कवादको विकेन्द्रीकरण

छत र भित्र समेत गरेर सवा सयजति मानिस खचाखच कोचिएको बसलाई दुई सय मिटर टाढा तानिएको बिजुलीको तारमार्फत् विष्फोटमा पारेर माओवादीले आफूलाई ‘क्रान्तिकारी’ बाट टाढा र ‘आतङ्ककारी’ को नजिक पुर्‍याउने कार्य गरेको छ । यो घटनाले माडीका जनतासँगै सम्पूर्ण नेपालीहरूलाई चोट पु्र्याएको छ । पूर्ण तयारीका साथ ‘यसै नै गर्छु’ भनेर गरिएको माडी विष्फोटन धेरै पहिलेदेखिको हत्या र आतङ्कका श्रृङ्खलाको पछिल्लो ठोस प्रमाणका रूपमा रहेको छ ।

बाँदरमुडे खोलाको त्यो हत्याकाण्डले पुष्पकमल दाहाल अगाडि एउटा ठूलो चुनौती तेस्र्याएको छ, आफ्नो सारा ‘क्रान्तिकारी’ लगानीलाई ‘आतङ्कवाद’को स्रोत हुनबाट जोगाउँदै राज्यको राजनीतिमा कसरी क्रियाशील बनाउने ? यो प्रश्नको जवाफ माओवादी नेतृत्वले खोज्न ढिला भइसकेको छ ।माओवादीको शक्ति ‘विकेन्द्रीकरण’ हुँदै, टुक्रँदै, क्षतविक्षत हुने देखिँदैछ र यसको प्रमाण एक्कासी बढाइएको हिंसाले देखाउँदछ । यस्तो अवस्थामा विद्रोहीले ठूलै ‘छलाङ’ हानेर मात्र आफ्नो शक्ति र साख जोगाउन सक्छन् । हिंसा त्याग्नेतर्फको ‘साहसिक’ परिवर्तनको घोषणा र त्यसको कार्यान्वयनका लागि चरणबद्ध कार्यक्रमको निर्माण नै त्यस्तो छलाङ हुनसक्छ । यदि आफ्नो वक्तव्यमा भने झैँ, पुष्पकमल दाहाललाई गाडीको घटनाप्रति साँच्चि नै खेद छ र त्यस्तो नगर्न वा हुन नदिन उनी हृदयदेखि नै प्रतिबद्ध छन् भने यही दुर्घटनालाई अवसरको रूपमा लिई विश्व समुदायले नै तिरस्कार गरिसकेका यस किसिमका जनसंहारकारी एम्बुस, बारुदी धराप आदिको प्रयोग आइन्दा नगर्ने घोषणा उनले गर्न सक्नुपर्छ ।

२४ जेठ २०६२ को साँझ एक दर्जन लाश जलाइसकेपछि रिउ नदीमा मिल्क्याइएका मुढा ।

यसो गर्दा एकातिर माओवादीप्रतिको आन्तरिक र बाह्य धारणामा सकारात्मक परिवर्तन आउँछ भने अर्कोतिर क्रमशः बम, बारुद र बन्दूक बिसाउन मिल्ने अनुकूल परिस्थितिको निर्माण पनि हुन थाल्छ । माओवादीलाई आज चाहिएको सबैभन्दा महत्वपूर्ण कुरा अन्ततः त्यही नै हो ।

तीन वर्षअघिसम्म ग्रामीण भेकमा राजनीतिक चेतना भएकाहरू माओवादीको सिद्धान्त र लक्ष्यसँग सहमत नभए पनि तिनका कुरा सुन्न तयार थिए । आफैँलाई हिंसाले नछुँदासम्म तिनले माओवादीका विरुद्धमा मनस्थिति पनि बनाएका थिएनन् । एक–डेढ वर्षअघि, तिनै ग्रामीण बुद्धिजीवी वर्गमा मानसिक तनाव थियो, माओवादी प्रति प्रश्न उठेको थियो, तर आफ्ना विचार सार्वजनिक गर्ने तत्परता तिनमा पलाएको थिएन । तर आज यो समुदाय माओवादीको विरोधमा आफ्नो विचार प्रस्ट रूपमा व्यक्त गर्न थालेको छ ।

“हामीले पत्याएका थियौँ, ठाउँ दिएका थियौँ तर यिनीहरू त हिंसा र शक्तिका पुजारी मात्र रहेछन्”– माडी उपत्यकाको रेयू नदी किनारमा १३ जनाको दाहसंस्कार सकेर घर फर्कन लाग्दा एक वृद्ध शिक्षकले भने । “पहिले उनीहरूलाई बास दिइन्थ्यो, उनीहरूको कुरा सुनिन्थ्यो । आज आउन् त यहाँ तिनका नेता या कार्यकर्ता, कान्लाकान्ला गरी लखेट्छौँ ।” यस्तो आक्रोश आज माडी मात्र होइन, देशका कुना–कुनाबाट सुन्न र पढ्नमा आइरहेका छन् ।

बाबुराम भट्टराई र पुष्पकमल दाहाल बीचको फूटले माओवादीलाई ठूलो असर परेको छ । फूटको कुरा जति नै नकारे पनि दुई नेताका सार्वजनिक अभिव्यक्ति तथा अनुयायीहरूको भनाइ र गराइले यो फाटोले चिरा नै पारेको प्रस्ट हुन्छ । गाउँगाउँमा ‘प्रचण्ड’ को भेलामा ‘बाबुराम’ का हरू नजानु र शहरबजारमा बाबुरामका समर्थकहरू बिचल्लीमा पर्नुले पनि यो कुराको पुष्टि हुन्छ ।

कुनै बेला, कतै कतै राजनीतिक सिद्धान्तको आधारमा पनि माओवादीको आम जनतामा प्रभाव र पकड रहेको हुन सक्दछ । तर धेरै जसो ठाउँमा आज राजनीतिक विश्वास नभई बन्दूकको डरका कारण माओवादीको प्रभाव रहेको देखिन्छ । मध्यपश्चिम पहाडबाट, विशेषगरी १८ असोजको शाही कदमपछि, डढेलो जस्तै तराई र पूर्वी पहाडमा फैलिएको माओवादी आन्दोलनले झन्झन् बन्दूकमा बढी आड लिँदै गरेको प्रस्ट छ ।

गाउँ र जिल्लामा रहेका राजनीतिकर्मीलाई दबाउन बन्दूक अगाडि तेस्र्याउनेहरूले आम जनतालाई अधीनमा राख्न बन्दूक प्रयोग गर्नु ‘स्वाभाविक’ नै थियो । तर, गाउँगाउँमा छापामारको बोलवाला हुँदाहुँदै पनि देशभर माओवादीप्रति एउटा विद्रोहको भक्कानो बन्दै गएको छ । माओवादी नेतृत्वले यो यथार्थ बुझेकै छैन होला भन्न मिल्दैन, तर उसको नेतृत्वमा छलाङ मार्ने साँच्चिकै क्रान्तिकारी साहस छ कि छैन ?

बाबुराम भट्टराई र पुष्पकमल दाहाल बीचको फूटले माओवादीलाई ठूलो असर परेको छ । फूटको कुरा जति नै नकारे पनि दुई नेताका सार्वजनिक अभिव्यक्ति तथा अनुयायीहरूको भनाइ र गराइले यो फाटोले चिरा नै पारेको प्रस्ट हुन्छ । गाउँगाउँमा ‘प्रचण्ड’ को भेलामा ‘बाबुराम’ का हरू नजानु र शहरबजारमा बाबुरामका समर्थकहरू बिचल्लीमा पर्नुले पनि यो कुराको पुष्टि हुन्छ ।

आजसम्म राजनीतिक दलहरूको चुनौती या सुरक्षाफौजको कारबाही या अन्तर्राष्ट्रिय समुदायको विद्रोहप्रतिको नकारात्मक सोचले भन्दा माओवादीको शक्ति ह्रास, यो फूटले बढी गराएको छ । तसर्थ प्रस्तावित ‘छलाङ’को लागि यो अवसरको उपयोग गर्नु उचित देखिन्छ, किनभने हिंसाको बाटो त्यागेको अवस्थामा मात्र माओवादीको अस्तित्व जोगिन सक्छ ।

माडीको सन्देश

माडी घटनाले माओवादी भित्र मौलाउँदै गरेको प्रवृत्तिलाई सतहमा ल्याइदिएको हो । जस्तै, एक, माओवादी कार्यकर्तामा राजनीतिक चेतना, प्रतिबद्धता घट्ने क्रम शुरु भएको । दुई, कार्यकर्ता र लडाकुहरूमा हिंस्रक छाडापन फैलिएको । तीन, नेतृत्व तहको द्वन्द्वको ‘फिल्ड’ मा परेको असर । र, चार, नेतृत्वको निर्देशन या लक्ष्यलाई ‘फिल्ड’ मा नमान्ने प्रवृत्ति ।

माडीमा जस्तै अन्तका घटनाक्रमलाई ध्यान नदिने हो भने आउँदा दिनमा माओवादीको राजनीतिक चरित्र अझै विलीन हुँदै जानेछ, नेतृत्व पंक्तिदेखि कार्यकर्तासम्मको भविष्यमा प्रश्नचिन्ह उठ्नेछ र अन्तमा नेपालकै माओवादी क्रान्ति पनि अरू जस्तै आन्तरिक ‘डिग्रडेशन्’ द्वारा पतन हुनेछ । यस्तो ‘डिग्रडेशन्’ हुनबाट पार्टीलाई जोगाउन त्यसले राजनीतिलाई प्राथमिकता दिनैपर्ने हुन्छ, जसको मतलब बन्दूकको बोलवालाको अन्त्य हो ।

तर पुष्पकमल दाहाललाई एउटा कठिनाई पक्कै छ । कार्यकर्ता र लडाकूले उनले भनेको कुरा नटेर्ने अवस्था सिर्जना भई नै सकेको छ । वास्तवमा योभन्दा पनि गम्भीर चुनौती अर्कै छ । उनका लडाकूले सजिलै बन्दूक त्याग्न नमान्ने कारण यो पनि होः तिनलाई थाहा छ, अस्त्र बिसाउनासाथ गाउँगाउँ र जिल्लाजिल्लाबाट स्थानीय बासिन्दाले डाँडा कटाउँछन् ।

विद्रोही पक्षको भित्री वस्तुस्थिति यस्तो हुँदाहुँदै पनि बाहिरबाट हेर्दा माओवादी अझै एक भएको अवस्थामा, शान्तिपूर्ण सामाजिक क्रान्तितर्फको आफ्नो नयाँ योजनाको घोषणा गर्नु सामयिक कदम हुनसक्छ । हतियारधारी क्रान्तिको सट्टा आफ्नो सबै माग र अडान साथैमा राखी सामाजिक क्रान्तितर्फ रुपान्तरण गर्ने आँट गरेको अवस्थामा सबैलाई भन्न कर लाग्नेछ– पुष्पकमल दाहाल, बाबुराम भट्टराई, कृष्णबहादुर महरा, रामबहादुर थापा, पोष्टबहादुर बोगटी, हिसिला यमि आदि साँच्चिकै क्रान्तिकारी हुन् !

तर त्यस्तो नयाँ राजनीतिक अभियान घोषणा गरेर मात्र भने पुग्ने छैन । धराप, एम्बुस, हमला, आगजनी, विस्फोट आदिसँगै व्यक्तिहत्याको श्रृङ्खलामा पूर्णतयाः रोक लगाउने निर्णय सार्वजनिक हुनुपर्छ र व्यक्तिहत्या रोकिनै पर्छ । यसो गरिएको खण्डमा, अन्तिम कार्य– विद्रोही पक्षलाई सुरक्षित अवतरण गराउन र उनीहरूले हतियार बिसाउने अवस्था सिर्जना गर्न राष्ट्रिय समाजको हरेक तप्का तयार हुनेछ ।

बन्दूक बिसाउने र हिंसाको बाटो त्याग्नेतर्फ चाहिँ लचकता नदेखाउने कुराले माओवादीप्रति दलहरूसँगै कसैको पनि विश्वास पलाउन दिँदैन । आफूलाई चाहिएको साँच्चिकै क्रान्ति माओवादीको बन्दूकबाट आउँदैन भन्ने कुरा जनताले देखिसके । तर पनि आज जनता कामनासहित नियालिरहेछ– जङ्गलकाहरू राजनीतिमा फर्केर आउन्, यदि आफू, देश र जनता प्रति माया ममता छ भने ।

त्यतिबेला ‘वार कि पार’ लडाइँमा जाने र माओवादीलाई सिध्याउनै पर्छ भन्नेहरूलाई तह लगाउन पनि राजनीतिक दल र नागरिक समाज बलपूर्वक लाग्नेछन् । तर आजको अवस्थामा जब पुष्पकमलका आँशु गोहीका जस्ता देखिइरहेका छन् र उनका बन्दूकधारीहरूले नेतृत्वलाई नमान्ने कुरा सार्वजनिक भइरहेको बेलामा माओवादीसँग कुनै पनि राजनीतिक शक्ति हात मिलाउन जाने छैन । त्यस्तै मानवीयतामा विश्वास गर्ने कुनै पनि नागरिक शक्तिले उसलाई सहयोग पुर्याउने छैन ।

युवायुवतीलाई बन्दूक हातमा थमाएर युद्धमैदानमा होमिन उक्साउन जति सजिलो हुन्छ, समय आएपछि शान्तिपूर्ण राजनीतिमा फर्काउन त्योभन्दा निकै बढी सोच, धैर्य र क्रान्तिकारी साहस चाहिन्छ । पार्टीहरूलाई सहकार्यका लागि आह्वान गर्ने तर बन्दूक बिसाउने र हिंसाको बाटो त्याग्नेतर्फ चाहिँ लचकता नदेखाउने कुराले माओवादीप्रति दलहरूसँगै कसैको पनि विश्वास पलाउन दिँदैन । आफूलाई चाहिएको साँच्चिकै क्रान्ति माओवादीको बन्दूकबाट आउँदैन भन्ने कुरा जनताले देखिसके । तर पनि आज जनता कामनासहित नियालिरहेछ– जङ्गलकाहरू राजनीतिमा फर्केर आउन्, यदि आफू, देश र जनता प्रति माया ममता छ भने ।

(‘१–१५ असार २०६२ काे हिमाल खबरपत्रिका”बाट)

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *