पुष्पकमल हुँदो हुँ त…

हिमाल खबरपत्रिका (१६-३१ बैशाख) बाट

खुला समाजमा अवतरण भएर नेपाली जनता तथा अन्तर्राष्ट्रिय जगतको त्यत्रो सदासयता प्राप्त गर्दा पनि एनेकपा (माओवादी)ले आफ्नो सौभाग्य बुझन सकेन । क्याडरहरूलाई झुक्याउँदै र नागरिकहरूलाई तर्साउदै छलकपट र दुर्इज्रिब्रे बोलीद्वारा अगाडि बढ्न सकिन्छ भन्ने ठान्यो । नागरिक समाजलाई भुल्याउन ऊ सालाखाला सफल भयो । र, युद्धशास्त्रको नियम अनुसार कहिले राष्ट्रपति, कहिले भारत, कहिले गिरिजाप्रसाद, कहिले माधवकुमार नेपाललाई शत्रु खडा गरेर आफ्ना कार्यकर्तालाई मोटिभेट गर्दै अगाडि बढ्न खोज्यो । तर शत्रुको भण्डार पनि रित्तिँदै गए जस्तो छ, आजभोलि ।

कहिले व्रि्रोह, कहिले शान्ति र संविधानको रट लगाउने एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना क्याडरलाई पनि आफ्नै उपयोगितावादको मुहारमा ढालिसकेको जस्तो देखिन्छ । कार्यनीति र रणनीति भन्दै एकैचोटि विपरित दिशामा तान्दा पनि चुमुक्क परेर गइदिने( यता पनि उता पनि । तर, अब अध्यक्ष दाहालले काँडाको छेकबार नाघेर एक पटकको लागि साहसिक रणनीतिक कदम चाल्नुपर्ने बेला आएको छ । स-साना शत्रुको खोजीमा हिँड्नु परेको कारण पनि अब उनले रणनीतिक छलाङ्ग मार्नै पर्नेछ । त्यसअनुसार अध्यक्ष दाहालले एउटा भाषण दिनेछन् र शक्तिखोर भिडियो टेप जस्तै प्रशिक्षणका लागि आफ्नो पार्टीपङक्तिमा बाँड्नेछन् ।

“कमरेडहरू, हामी माओवादी पार्टी हिंसा, भय, पैसा र प्रोपोगाण्डाको प्रयोग गर्दै यहाँसम्म आयौं, तर यसभन्दा अगाडि बढ्नको लागि हाम्रो वास्तविक रुपान्तरण जरुरी छ । सम्पूर्ण पार्टीपङक्तिको भविष्य सुनिश्चित गर्न पनि यो रणनीतिक परिवर्तन जरुरी छ । हाम्रो जनयुद्ध त एउटा सानो दललाई ठूलो बनाउने उपाय मात्र थियो, जसमा हामी सफल भएका छौं । भारतविरोधी उग्रराष्ट्रवाद त मुलुकभरका युवालाई आफूतिर लहस्याउने तरिका मात्र थियो, अब ती युवा हाम्रा भइसके, कतै जान सक्दैनन् । जातीय संघीयता त जनजाति समुदायका कोही-कोहीलाई आफूतिर आकषिर्त गर्ने ट्याक्टिस मात्र थियो ।

हामी र्सवहाराको नाम भजाउँदै यहाँसम्म त आयौं । तर, जुन कारणले हामीले सही समयमा जनयुद्धलाई तिलाञ्जली दियौं, त्यसैगरी उग्र सिद्धान्त, रणनीति र कार्यनीतिलाई खुला घोषणासहित त्याग्ने बेला आएको छ । अब उग्रवाम पार्टी रहिरहँदा तपाईं क्याडर र हामी नेतालाई फाप्नेवाला छैन । त्यस्तो अवस्थामा फुट, शक्ति ह्रास र विलयको बाटो निश्चित छ ।

आज हेर्नुस्, हाम्रो पार्टीको थैली भरिभराउ छ( मुलुकभर चन्दा सङ्कलन, राज्य ढुकुटीको प्रयोग तथा हर क्षेत्रमा रकम असुलीका कारण । त्यो राशीको प्रयोग पूरै मेरो हातमा केन्द्रित छ, जुन हाम्रो पार्टी अग्रगमनको लागि प्रयोग गर्न म कटिबद्ध छु । दलभित्र कोही कोही सैद्धान्तिक अडानको कुरा गर्दछन्, तर तपाईं र मलाई थाहा छ त्यो अधोगतिको बाटो हो । मसँग रहनुभए तपाईंको राजनीतिक नभए पनि व्यावसायिक भविष्य निश्चित छ । उनीहरूसित गए टुटेफुटेका साना वाम पार्टीको जस्तो हुनेछ तपाईंको हालत ।

आज हाम्रा प्रतिस्पर्धी दलहरूमा आन्तरिक ध्रुवीकरणको बेला हामीले फाइदा लिनुपर्ने हो, न कि आफैं निर्रथक विवादमा फँस्ने। हाम्रो र्सवहाराको लागि भनिएको अभियान त प्रयोग थियो, हामीले त अब अन्तर्राष्ट्रिय भूराजनीतिक मागअनुसार रुपान्तरित भएर तपाईंहरूको करिअर सुनिश्चित गर्ने पो हो । एनेकपा -माओवादी) हेर्दा विशाल पार्टी भए तापनि लोकतान्त्रिक दलहरू जति दह्रो छैन, किनकि यो पैसा, तनखा, असुली र भयको भरमा टिकेको पार्टी हो। त्यसैले हामीले २०६३ मा जनयुद्ध त्यागे जस्तै आज अब अर्को फड्को लिनु जरुरी भएको छ ।

१४ जेठ २०६८ आइपुग्न एक महिना मात्र बाँकी हुँदा म केही साहसिक कदमको प्रस्ताव तपाईंहरू सामु राख्दछु । र, म यो प्रस्ताव शान्तिप्रेमी, मानवतावादी, लोकतन्त्रवादी, बहुलवादी भएर गर्दै छैन; माफ गर्नुहोला । म हाम्रो दलको प्रभाव कायम राखेर तपाईंहरूको भविष्य, आम्दानी, प्रभाव, सुरक्षा सुनिश्चित गर्न यसो गर्दैछु । त, मेरा प्रस्ताव छनः

– शिविर व्यवस्थापन गर्ने, ५-६ हजार पूर्व लडाकूलाई सुरक्षाफौजमा गाभेर र बाँकीलाई प्रतिव्यक्ति रु.४-५ लाख दिलाएर ।

– अन्य दलको मागअनुसार पूर्ण लोकतान्त्रिक संविधान स्वीकार्ने, किनकि यसमा हामीलाई कुनै नोक्सान छैन । आउँदो चुनावमा जित हाम्रै हो । यसो गर्दा हाम्रो खोइरो खन्ने देशी-विदेशी दलालहरूको मुखमा बुझो लाग्नेछ ।

– जातीय संघीयता हामीले बोक्न नसक्ने भारी भइसक्यो, त्यसैले अब यसलाई एउटा उच्चस्तरीय आयोग बनाएर थान्को लगाउनुमै पार्टी कार्यकर्ताको भलो छ ।

– राजनीतिमा हिंसाको प्रयोगको पार्टी रणनीतिलाई घोषित रूपमा त्याग्ने । कुनैबेला जनयुद्धको प्रयोगको लागि पनि जनतासामु हामीले क्षमायाचना गर्नुपर्ने हुन्छ, तर यो आजै गरी नहाल्ने ।

– यति गरेपछि हामीले आफ्नो नाम परिवर्तन गर्ने र देश र संसारसामु हाम्रो नयाँ नाम हुनेछ( एकीकृत नेपाल कम्युनिष्ट पार्टी (लोकतान्त्रिक माओवादी) । अर्को एउटा चमत्कार हुनेछ यो, नेपालमा लोकतान्त्रिक माओवादीको जन्म । संसारले ताली पिट्ने छ, चुनावमा जानेछौं भोट हाम्रै हुनेछ ।”

यी वचनद्वारा पुष्पकमल दाहालले आफ्ना क्याडरलाई मनाउनेछन् । किनकि उपयोगितावादी पङ्क्तिलाई पनि थाहा छ, जनयुद्धको नाटक त यहाँसम्म आउनका लागि थियो । जो जो सही सिद्धान्तका लागि लडेका थिए तीमध्ये अधिकांश आत्मा त कहाँ पुगिसके कहाँ !

यसरी जोखिम मोल्न सक्ने पुष्पकमल दाहालले आफ्नो दलको यात्रामा कायापलट गरे रे । संविधान लेखियो र चुनाव तुरुन्तै घोषणा गरियो । के हुन्छ त्यतिबेला अन्य दलको अवस्था – जब एनेकपा -लोकतान्त्रिक माओवादी) पैसाको थैली, हातबाट नत्यागेको डण्डा, प्रोपोगाण्डा र गैर-उत्तरदायी आश्वासन लिएर चुनावी मैदानमा उत्रन्छ, त्यतिबेला अन्य दलहरू गाउँ-गाउँ, जिल्ला-जिल्लामा वैचारिक प्रतिस्पर्धी बनेर सङ्गठित भएर अगाडि बढ्छन् कि बढ्दैनन् – कम्तीमा नेपाली काङ्ग्रेस र नेकपा -एमाले) आउँदो चुनावमा मजबुत वाम-लोकतान्त्रिक गठबन्धन बनाएर जान सक्छन् कि सक्दैनन् –

माओवादी दल टुक्रन्छ भनेर रुमल्लिएर निष्क्रिय रहनुको सट्टा उनीहरूले गाउँ-जिल्लामा सक्रिय हुनु जरुरी छ । नत्र संसार र जनतालाई आफू लोकतान्त्रिक भएको देखाएको तर एकदलीय शासनको आकाङ्क्षा नत्यागेको माओवादी दलले राम्रै परिणाम ल्याउनेछ । अनि आफ्नो वास्तविक एकतन्त्रीय योजना प्रयोगमा ल्याउने छन् अध्यक्ष पुष्पकमल दाहालले । तर, अध्यक्ष दाहालले रचेको योजना नै जहिले पनि लागू हुनेछ भन्ने सुनिश्चित कहाँ छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *