नेपालको हिमाल सबैको !

हिमाल खबरपत्रिका (२४-३० कात्तिक, २०७६) बाट

मनोभावनात्मक एकीकरणको खोजी: मधेशी समुदायको हिमालसँगको सम्बन्ध र समावेशिताको यात्रा ।

नेपालको हिमालयबारे आमजनमा गौरव त छ, तर जानकारी कम । जस्तै, ‘सगरमाथा हाम्रो’ भन्न रुचाउने हामी यस चुलीको आधाउधी उत्तर मोहडा तिब्बत/चीनमा पर्ने तथ्य भुल्दछौं ।

पोखराबाट अन्नपूर्ण शृंखला देखिंदा माछापुच्छ्रे नचिन्ने कोही भएन, तर गङ्गापूर्ण, लमजुङ हिमाल, अन्नपूर्ण १–२–३–४ चुचुरा खुट्याउन हम्मे पर्छ । राजधानी उपत्यकाको ठीक उत्तरमा एक्लो उभिएको सेता पिरामिडको नाम के होला ? (जवाफः लाङटाङ)

आमा डबलाम हिमाल (६,८१२ मी.) चुचुरोमा रञ्जित साह । पृष्ठभूमिमा पुमोरी, नुत्से, सगरमाथा, ल्होत्से (बायाँबाट दायाँ)। तस्वीरः पीक प्रमोसन

‘हिमाल कसको ?’ भनी सोध्ने हो भने जवाफ विभिन्न तहमा आउँछन् । कुनै पनि हिमशिखरमाथिको अग्रणी ‘स्वामित्व’ स्वभावतः सदियौंदेखि फेदमा बस्ने समुदायको हुन्छ र हिमालसँग सम्बन्धित बजारको पहिलो आम्दानी पनि उसको सदस्यलाई हुनुपर्दछ । यस धारणाको सबैभन्दा प्रभावकारी प्रयोग खुम्बुका शेर्पामाझ भएको छ ।

अर्को दृष्टिकोणबाट हेर्दा, नेपालका हिमाल सबै क्षेत्रका सबै नागरिकका खजाना हुन्– जसको गौरव गर्न सकिन्छ; जसबाट पर्यटन, ट्रेकिङ, होटल र लज व्यवसायको फाइदा लिन सकिन्छ । परैको हिमालको पनि वरकाले फाइदा लिन सक्दछन्, जस्तै नेपालगञ्जको ट्याक्सीवालाको कैलाश मानसरोवर यात्रीबाट हुने आम्दानी ।

हिमालबारे चाख लोक संस्कृति र आधुनिक अभिव्यक्ति दुवैमा पाइन्छ । किरण खरेलको शब्दमा तारादेवीले गाएकी थिइन्ः

हिमालको काखमा छ सानो मेरो गाउँ

पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ…

हिमाली क्षेत्रका समुदाय/नागरिकले हिमशिखरलाई आफ्नो ठान्नु स्वाभाविक नै भयो । यस्तै, मध्य पहाडवासीले पनि हिमालको अपनत्व बोध गर्नु स्वाभाविक भयो, चुचुराहरु धेरैजसो पहाडी थलोबाट प्रत्यक्ष देखिनाले र राष्ट्र गाथामा हिमाल र हिमालयको महिमाका कारण ।

तराई–मधेशको रैथाने समुदायमाझ हिमालको अपनत्व राजनीतिक र मानवशास्त्रीय विश्लेषणको विषय हो । हुन सक्छ, तराई–मधेशबाट हिमशृंखलाको दूरी पनि अलि कम उत्साहको कारण हो । यो सँगै, ‘पहाडिया सत्ता’ बाट प्रतिपादित राष्ट्रिय गाथामा हिमालको अधिकतम चर्चा हुनुले पनि अलि दूरी देखिएको हो कि ?

आमा डबलाम हिमाल । तस्वीरः इन्टरनेट

जनकपुर अञ्चल महोत्तरीको जलेश्वरदेखि दोलखाको गौरीशंकर चुचुरोसम्म दक्षिण–उत्तर फैलिएको थियो, तर त्यसले समथरकालाई हिमालसँगको निकटता बसाल्न तात्विक फरक पारेन । किनकि पहाड–मधेश–हिमालबीच यातायात सुविधा थिएन र ‘हिमालय त काठमाडौं केन्द्रित राज्यको’ भन्ने सुषुप्त धारणा छँदैथियो ।

आजभोलि समथरबाट पहिला जति हिमाल पनि देखिंदैन, गङ्गा मैदानको वायु प्रदूषणका कारण तुवाँलोरहित मौसम विरलै पाइने हुनाले । नत्र सर्लाही र रौतहटबाट दूर उत्तर क्षितिजमा लाङटाङ उभिएको नदेखिने होइन, चितवनबाट अन्नपूर्ण र गणेश हिमाल, कपिलवस्तुबाट अन्नपूर्ण साउथ् ।

आज मोटरबाटोको विस्तारले हिमालको भूगोललाई तराई भूगोल निकट ल्याइदिएको छ । मध्य र पूर्व नेपालका धेरै क्षेत्रमा आज मधेशबाट एकै दिनको यात्रामै पहाड छिचोल्दै हिमाली क्षेत्र पुग्न सकिन्छ । जनकपुरबाट सडक मार्ग हुँदै कार्यलुङ्ग र नुम्बुर हिमालको फेदमा रहेको फाप्लु/सल्लेरी एक दिनमै पुगिन्छ ।

उता राज्य जति समावेशी बन्दै गयो, उति नै नेपाल राज्यको गाथाले आफ्नो स्वाभिमान र चिनारीसँग गाँसेको हिमाली शृंखलालाई एक–एक सीमान्तकृत समुदायले समेत ग्रहण गर्नेछन्। र त्यतिवेला नेपालको ‘मनोभावनात्मक’ एकीकरण पूरा भएको हामी भन्न सकौंला।

मधेशवासी र हिमशृंखलाबीचको भौगोलिक दूरी ह्वात्तै घटेको छ भने भावनात्मक दूरी अझै केही बाँकी रहेको देखिन्छ । नयाँ संविधान अन्तर्गतको सामाजिक न्याय र समावेशिताको यात्रामा हरेक तप्का, क्षेत्र र समुदायका नागरिकले समानता दाबी गर्न सक्ने अधिकार प्राप्त छ ।

उता राज्य जति समावेशी बन्दै भयो, उति नै नेपाल राज्यको गाथाले आफ्नो स्वाभिमान र चिनारीसँग गाँसेको हिमाली शृंखलालाई एक–एक सीमान्तकृत समुदायले समेत ग्रहण गर्नेछन् । र त्यतिवेला नेपालको ‘मनोभावनात्मक’ एकीकरण पूरा भएको हामी भन्न सकौंला ।

गजबको कुरा, जनकपुरका साइकलयात्री रञ्जित साह (३१) गएको २७ भदौमा साइकलबाटै सगरमाथा आधारशिविर पुगे । पानपसल चलाएर गुजारा चलाउने उनले जनकपुरबाट आधारशिविरको यात्रा १८ दिनमा पूरा गरेका थिए । यो उत्साह जगाउने खबर आउन नपाउँदै साहले १२ कात्तिकमा पर्वतारोहीहरुमाझ कठिन मानिने चुचुरो आमा डबलामको सफल आरोहण गरे ।

यस अवधिमा धेरैजसो विश्व र नेपाली मिडियाको ध्यान निर्मल पुर्जाले सात महीनाकै अवधिमा ८००० मी. भन्दा अग्ला १४ हिमालको आरोहण गरेको कीर्तिमानमा थियो । पुर्जाले भोटको शिशापाङमा शिखर आरोहण गरेको भोलिपल्ट साहले आमा डबलामको चुचुरोमा टेकेका थिए ।

जसरी पश्चिमा पर्वतारोहीहरू पुर्जाको कीर्तिमानसामु अवाक् परे र बधाईका शब्द धेरै खर्चेनन्, त्यस्तै नेपाली मिडिया र विचार निर्माणकर्ताले पनि साहको कीर्तिमानको पर्याप्त आकलन गरेको देखिएन — आमा डबलाम आफैंमा अग्लो र कठिन चुचुरो हो भनी नबुझेर होला ।

रञ्जित साहको हिमाल आरोहण अतुलनीय छ । एक त गैरपर्वतारोही, त्यो पनि भञ्ज्याङ–बेंसी नगरेका समथरका नागरिकले जसरी सजिलै हिमशिखर चुमे । अर्को, उनको आरोहणले तराई–मधेशको हिमालसँगको दूरी घटाउने जबर्जस्त सन्देश दिएको छ । अतः १४ कात्तिकमा मैले यसरी ट्वीट गरें:

“जनकपुरका रञ्जित साह पुगे गजबको गन्तव्य – आमा डबलामको ६,८१२ मी. चुचुरो, मङ्गलवार बिहान ७ बजे । अघिल्लो दिन मात्र निर्मल पुर्जाको १४ चुचुराको अभियान सफल भएको । विश्व पर्वतारोहणमा नेपालीले पारे आफ्नै छाप, नेपालको हिमाल सबैको ।”

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *