निर्माता पुस्ता

हिमाल खबरपत्रिका (२-८ माघ, २०७३) बाट

पिताजी कमलमणि दीक्षित आधुनिक नेपाल बनाउने पुस्ताका कनिष्ठ सदस्य मध्ये हुनुहुन्थ्यो। बीपी कोइराला, बालकृष्ण सम, नयराज पन्त र महेशचन्द्र रेग्मी जस्ता जाज्वल्यमान सदस्य समेटेको यो पुस्ता पुरानो र नयाँ नेपालबीचको सामाजिक सेतु हो।

इतिहासकालदेखिको सुसंस्कृत निरन्तरता यो पुस्ताले बोकेको थियो भने पटना, बनारस र कलकत्तामा पढाइ गरेर ब्रिटिश साम्राज्यका राम्रा र नराम्रा पक्ष बुझेर राणाकालको अन्त्यपश्चात् राष्ट्रिय समाज निर्माणमा जुट्यो। साहित्य, राजनीति, राज्य प्रशासन, कूटनीति, शिक्षा प्रणालीलगायत यावत् क्षेत्रमाक्रियाशील भयो यो पुस्ता, आधुनिक सोच, दर्शन, व्यवस्था, तौरतरीका र भौतिक संरचना मुलुक भित्र्यायो।

पुर्खाले आर्ज्याको राज्यलाई आधुनिक युगको लागि तम्तयार पार्ने काम यो पुस्ताले गर्‍यो। नेपालको न्यायप्रशासनको जग हरिप्रसाद प्रधानले बसाए, यस्तै प्रहरी सेवामा डीबी याक्थुम्बा, एग्रोफरेस्ट्रीमा पासाङ शेर्पा, कृषिको आधुनिकीकरणमा हुतराम वैद्य, परराष्ट्रनीतिमा यदुनाथ खनाल, राजकाज सञ्चालनमा रामचन्द्र मलहोत्रा, विष्णुप्रसाद धिताल, कुलशेखर शर्मालगायत ब्यांकिङमा हिमालयशमशेर तथा संस्कृति अध्ययनमा सत्यमोहन जोशी। राजनीतिमा अनेकन् नाम छन्, तर बीपी कोइरालाको पहिलो क्याबिनेटको सदस्यता सम्झे पुग्छ क्षमता तथा ‘समावेशिता’ दुवैको लागि।नेपाल राज्यको आजसम्मको ‘मोमेन्टम्’ यो ‘निर्माता पुस्ता’ ले हामीलाई दिएर गएको हो। इतिहासले सुम्पेको राष्ट्र–राज्य (नेशन–स्टेट) को वजन र सम्भावना उनीहरूले बुझे, र सार्वभौमिकताको सौगातलाई आत्मसात् गर्दै यो भूगोल फलिफापको माध्यम बनोस् भनेर लागे।

बुवालगायत आजसम्म स्वर्गारोहण भइसकेको निर्माता पुस्ताका सदस्यले कल्पनाको त्यो नेपाल बन्दै गरेको भने देख्न पाएनन्। तीन दशकको शाही एकतन्त्र, एक दशकको भयावह हिंस्रक द्वन्द्व र अन्ततः लोकतान्त्रिक संक्रमणकाल मात्र देखे–भोगे। संविधान लेखनपश्चात् त मुलुक र जनताले राहत पाउला भनेर निरन्तर आशावादी र क्रियाशील रहेका कमलमणि दीक्षित संविधान लेखिसक्दाको अन्योलबीचै बित्नुभयो। नेपालको भविष्यप्रति त्यस्तो उत्साहित बुवाको पुस्तालाई पछिल्ला पुस्ताहरूले न्याय गर्न सकेनन्। मन चिराचिरा पर्छ।

वंशावलीय निरन्तरता पिताजीमा थियो– ३००/४०० वर्षअघिको सिंजा क्षेत्रदेखि गोरखा, मुड्खु  गाउँ (गोलढुंगा) अनि राणा दरबारसम्मको संस्कृतिको गाथा उहाँले बोक्नुभयो जसको निरन्तरता हामी छोराछोरीमा आएर एककिसिमले टुट्यो। तर उहाँको ‘रेपार्तार’ मा प्राचिन संस्कार मात्र होइन,  आधुनिक युगको विधा पनि जस्तै:एड्भर्टाइजिङदेखि ब्यांकिङ, एकेडेमिक रिसर्च र आर्काइभिङ्गसम्म छ । यस्तै थियो प्राचीन र आधुनिक बीचको डोरो बान्ने निर्माता पुस्ता।कलकत्तामा ‘सोसिएलाइज’ हुनुभएको बुवाले सोच, तौरतरिका र प्रविधि नेपाल भित्र्याउनुभयो। छापाखाना प्रविधि सिकेर ललितपुरमा जगदम्बा प्रेस खोल्नुभयो, जसको लागि वासुदेव लुइँटेलको साथ पाउनुभयो। उतिबेला ज्योतिष पात्रो मात्र चल्ने मुलुकमा भित्तेपात्रो ल्याउनुभयो। जोइन्ट स्टक कम्पनीको महत्व बुझेर विराटनगर जुट मिल्समा जुद्धबहादुर श्रेष्ठसँग सरिक हुनुभयो। ‘पब्लिक प्राइभेट पार्टनरसिप’ शब्दावली भित्रनु धेरैअघि नै साल्ट ट्रेडिङमार्फत नून, तेल, चिनीको देशव्यापी वितरण प्रणाली व्यवस्थापन गरेर सुपथ मूल्यमा उपलब्ध गराउन हेमबहादुर मल्ल र अनङ्गमान शेरचन जस्ता हस्तीसँग लाग्नुभयो।

उहाँहरूसँगै मिलेर हेटौंडामा वनस्पति घिउ उद्योग, गोरखामा गोरखकाली रबर र गुल्मीमा कफी खेतीमा लाग्नुभयो। सहकारी अभियानको महत्व बुझेर विश्वबन्धु थापाको अगुवाइमा साझाको छाता अन्तर्गत स्वास्थ्य, प्रकाशन, पसल, यातायातलाई मैदानमा उतार्नुभयो।

रानी जगदम्बा तथा आफ्नै मातापिता (केदारमणि, विद्यादेवी) को साथमा बिघौं बिघा जग्गा सार्वजनिक कार्यका लागि छुट्याइयो, जो आज एकएक संस्थाको जुहारत भएकाछन्, जस्तै साझा यातायातलाई २२ रोपनी, मदन स्मारक छात्रा विद्यालयलाई २७ रोपनी र पाटन कलेजलाई १२ रोपनी (जहाँ अहिले लाबिम मल रहेको छ)।कृषि कलेज बनाउन भनेर पुल्चोक ‘श्रीमहल’ बीपी कोइरालाकै हातमा थमाइयो। कलकत्ताका दुईवटा मेडिकल कलेजमा बुवाको पहलमा मिलाइएको सीटबाट आजसम्म ११८ नेपाली डाक्टर उत्पादन भइसके। नेपाल–भारत बीपी कोइराला प्रतिष्ठानलाई शुरूको टेवा दिने उहाँ हुनुभयो।पृथ्वीनारायणका दस्तावेजसम्ममा पाइने मौलिक नेपाली ” अक्षरलाई प्रयोगमा ल्याउनुभयो बुवाले।’आयो नुन’ को नामकरण गर्दै साल्ट ट्रेडिङ र भारतीय दूतावाससँग मिलेर नेपालमा ‘क्रेटिनिजम्’ को उन्मूलनमा लाग्नुभयो।

बालकृष्ण समलाई नेपाल ब्यांक लिमिटेडको ‘लक्ष्मी’ लोगो र ग्राफिक डिजाइन बनाउन लगाउनुभयो र कर्पोरेट ब्राण्डिङको युग शुरू भयो। टेकवीर मुखियाले आधुनिक कलाप्रदर्शन गर्ने मौका पाए साझा प्रकाशनका दर्जनौं आवरणहरूमा। बलराम दास मुलसँग नेपाल टाइप फाउण्ड्री स्थापना गरेर ‘लेड टाइप’ मा नेपाललाई आत्मनिर्भर बनाउनुभयो, जसरी पछि देवनागरीमा ‘युनिकोड’ मापदण्ड तयारीमा लाग्नुभयो। ‘डिजिटल एरा’ मा नेपाली भाषालाई लैजान अमर गुरुङ र टीमसँग लाग्नुभयो।

लक्ष्मीप्रसाद देवकोटाका तस्वीरहरूमा कमलमणि दीक्षितको ‘पोर्टेट फोटोग्राफी’ झल्काउँछ भने लैनसिंह वाङ्देल फ्रान्सबाट फर्केपछि उपत्यकाको प्राचीन मूर्तिकलामा अभिरुचि बढाउने पनि उहाँ नै हुनुभयो। ‘विकास’ शब्दको आधुनिक अर्थ नेपालमा भित्रिनुअघि नै बुवा भानुभक्त सिटौलासँगको सहकार्यमा तेह्रथुम आठराई संक्रान्तिमा २०१३ सालमा ‘मदन धारा’ खानेपानी योजना निर्माण भयो। परार साल यो कार्यलाई निरन्तरता दिन उहाँको अगुवाइमा संक्रान्तिमा ‘मुनाफा नकमाउने कम्पनी’ खडा भयो।

नेपालमा सामुदायिक ध्रुवीकरणको बेला नेपाली भाषा प्रयोगको हिमायती भएको नाताले कमलमणिलाई कतिले ‘केन्द्रीकृत सामन्ती राज्यव्यवस्था’ को प्रतिनिधि पात्र ठाने होलान्, तर स्कूलमा नेपाली बाहेक एउटा अर्को राष्ट्रिय भाषा पढाइनुपर्छ भन्ने उहाँको अडान अझै पनि लागू गर्न सकिन्छ। उहाँ आफू असामिया, बंगाली, गुजराती, मराठी र अंग्रेजीमा पारंगत हुनुहुन्थ्यो। हरिवंश र मदनकृष्णको बोलावटमा आफूलाई गैरराजनीतिक भन्न रुचाउने बुवा मुवा अञ्जु दीक्षितसँगै कालोपट्टी बाँधेर प्रजातन्त्रको लागि गिरफ्तारी दिनुभयो २०४६ सालमा। यादव खरेलले ‘भानुभक्त’ फिल्ममा आदिकविको हजुरबुबाको अभिनय गरेका बुवालाई ‘वान टेक आर्टिष्ट’ भनेर बयान गरे।

हामी छोराछोरीलाई संसार चिनाउन बाल्यकालमै ‘न्याशनल ज्योग्राफिक’ र ‘रिडर्स डाइजेस्ट’ जस्ता पत्रिकाको ग्राहक बनाइदिनुभयो, सत्यजीत रेको ‘गुपी गाइन बाघा बाइन’ को ‘एलपी’ रेकर्ड  साथै ‘माई फेर लेडी’ र ‘मेरी पपिन्स’ पनि ।अधिकांश मध्यमवर्गीय परिवारले आफ्ना छोराछोरीलाई डाक्टर र इञ्जिनियर पढाईमा लगाउने त्यो बेला मलाई त्रिचन्द्र कलेजमा ‘तर्क शास्त्र’ विषय पढ्न सुझाव दिनुभयो । (अचेल पढाई नहुने यो विषयको लागि त्यती बेला पनि दुई विद्यार्थी मात्र थियौं ।) कानून पढ्न बुवाले प्रेरित गर्नुभयो र सन् १९७१ तिर ट्रेकिङ् र पत्रकारितामा एकै साथ लाग्दा उहाँले उत्साहमात्र भर्नुभयो ।

यो छोराको आँखाले कमलमणि दीक्षितलाई ‘रेनेसान्स पुरुष’ देख्दछ, र आधुनिक नेपालको निर्माता पुस्ताको प्रतिनिधि पात्र। त्यति थोरै व्यक्तिहरूको कत्रो ठूलो योगदान छ!

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *