दुइटा कुखुरा कि एउटा ?

हिमाल खबरपत्रिका (१० – १६ कात्तिक, २०७६) बाट

शिक्षाविद् तथा दार्शनिक पाओलो फ्रेरेले शिक्षा नै व्यक्तिगत स्वतन्त्रता र सामाजिक अग्रगमनको कसी हो भन्दै विचार पोखेथे, सन् १९६० को दशकताका । फ्रेरेको दर्शनले प्रभावित विकास (‘डिभेलप्मेन्ट’) को पहिलो दशकतिर विदेशी सहायता संस्थाहरूलाई प्रेरित गर्‍यो, नेपालमा प्रौढ शिक्षाको आवश्यकता देखायो ।

यी संस्थामध्ये स्वीस सहायता नियोग (साटा) ले चरिकोट, दोलखा र सिन्धुपाल्चोकको तामाङबहुल डाँडापाखर गाउँमा स्थानीयलाई आधुनिक युगको अर्थतन्त्र, बजार व्यवस्था र बृहत् मुलुकसँग जोड्न नेपाली भाषाको शिक्षा दिनुपर्ने निधो गर्‍यो । कार्यक्रमको नाम थियो ‘सघन पहाडी क्षेत्र विकास योजना’ (आई.एच्.डी.पी.) ।

सन् १९७६ मा ‘राजनीति र विकास’ का विद्यार्थी २९ वर्षीय फ्रान्ज् फ्रेई साटामा ‘इन्टर्न’ भई पाँच महीना डाँडापाखर खटाइए । चित्रकलामा हात बसेकोले उनलाई प्रौढ शिक्षाको काम दिइयो, स्थानीयलाई ‘भिजुअल लिटरेसी’ र शब्द ज्ञान दिलाउने ।

फ्रान्ज् फ्रेईकाे २०३३ सालकाे चित्र ।

साटाका विशेषज्ञ सहित यस्तो चित्र शृंखला कोर्ने निधो गरे, जसले नेपाली भाषाका ४३ व्यञ्जना र १३ स्वर सबै समेटोस्, साथै गाउँघर र बजारमा चाहिने मुख्य क्रियाकलाप र चिजबिजको चित्र प्रस्तुत होस् ।

यसरी शब्द चयन भए — केरा, मामा, पोका, पसल, भान्सा, घाँस, साहु, सर्वाेत्तम पीठो, आलु, तोरी, मुला, बाख्रा, दरखास्त, साझा काम, चर्पी, पशुपालन, हाम्रो देश, काठमाडौं, ई. ।

यी शब्द देवनागरी लिपिमा पेश गर्दै माथिबाट चित्र कोर्ने काम रह्यो फ्रान्ज्को । उनले श्यामश्वेत पेन्–एण्ड–इन्क ड्रइङ्ग बनाए । पहिलो तस्वीर कोर्दा नै उनले आफ्नो पश्चिमी परिवेश र डाँडापाखर समुदायसँगको सांस्कृतिक र सामाजिक दूरीको आभास पाए ।

फ्रान्ज्का चित्र प्रयोग गर्दै प्रौढ शिक्षा संचालन गर्न शिक्षक भर्नाको सूचना २०३३\१०\२५ को पर्चामा यसरी टाइप गरिएको थियोः “एउटा नयाँ तरिकाबाट एउटा नयाँ पाठ्यक्रम तयार पारिएको छ, जसबाट दाजुदिदीहरुले सजिलैसित पढ्न र लेख्न सिक्न सक्नेछन् । उक्त पाठ्यक्रममा उनीहरुको दैनिक जीवनका समस्याका विषयहरु राखिएका छन्, जस्तै विभिन्न बालीहरु, कृषि, स्वास्थ्य, इत्यादि ।”

फ्रान्ज्ले कोरेको पहिलो तस्वीरमै समस्या देखियो । ‘मामा’ शब्द अर्थ्याउन उनले महिला, पुरुष र बालबच्चा सहितको चित्र कोरे र गाउँघरको परिवेश झल्काउन भुईं खोस्रिरहेका दुई कुखुराको आकार पनि राखिदिए ।

आज डाँडापाखरमा होस् वा अन्यत्र जो कोहीले ती दुई कुखुरा चिनिहाल्छन्, किनकि हामी सबै ‘भिजुअली’ साक्षर भइसक्यौं, गत केही दशकको फोटोग्राफी, चित्रकला, पोस्टर, पर्चा, विज्ञापन, पुस्तक र पत्रिकाका कारण ।

उतिवेला त्यस्तो थिएन, र विशेषगरी ‘थर्ड डाइमेन्शन’ को प्रत्याभूति गाउँमा बसोबास गर्ने नागरिकमा थिएन । त्यसैले फ्रान्ज्को पहिलो चित्रमा डाँडापाखरका गाउँलेले अगाडिको तेर्सो गरी उभिएको कुखुरा मात्र देखे, दायाँपट्टि दर्शकतर्फ मोडिएर चरेको कुखुरो मरिकाटे देखेनन् ।

फ्रान्ज्ले ती गाउँलेसँगको सांस्कृतिक र सामाजिक दूरी बुझे, जब उनले सोध्थे घरी–घरी, “एउटा कुखुरा कि दुइटा ?” र जवाफ सधैं आउँथ्यो, “यहाँ त एउटा मात्र कुखुरा छ त !”

यो भयो चार दशक अगाडिको किस्सा । फ्रान्ज् स्विट्जरल्याण्ड फर्कन लाग्दा आफ्ना चित्रहरू राख्न पाटनको एउटा फलामकर्मीलाई गोलाकार बाकस बनाउन लगाए । करियरमा मग्न भए, नेपाल फर्किएर आएनन्।

गएकाे हप्ता तारागाउँ म्यूजियममा । तस्वीर : कुन्द दीक्षित

यता भक्तपुर विकास कार्यक्रममा चार दशकअघि नेपाल आएर सम्पदा संरक्षणमा लागेका वास्तुविज्ञ निल्स् गुत्सो बौद्ध नजिक हायात होटलको प्राङ्गणमा ‘तारागाउँ म्यूजियम’ स्थापनामा जुटे । जहाँ नेपालप्रति समर्पित विदेशीहरूका विभिन्न खाले कृतिको खोजी र संग्रह गरिन्छ ।

गुत्सोले ५–६ वर्ष ताकेता गर्दागर्दा बल्ल गएको साता आफ्ना सबै चित्र उही फलामे ढुङ्ग्रोमा राखेर नेपाल फर्किए फ्रान्ज् र तारागाउँ म्यूजियममा प्रदर्शन शुरू भयो ।

गत बिहीवार प्रदर्शनी उद्घाटन कार्यक्रममा फ्रान्ज्ले आफ्नो अनुभव यसरी सुनाएः

“डाँडापाखरका गाउँलेले किन एउटा मात्र कुखुरी देखे, मैले विश्वको ठाउँठाउँमा अनुभव बटुल्दा बुझ्दै गएँ । मध्यअफ्रिकाको घना जङ्गलमा बस्ने पिग्मी जातिले लामो दूरी कतै देख्न सम्भव छैन, रुख बुट्यान र झारपातका कारण ।

एक पिग्मीलाई केन्याको ठूलो फाँटमा लिएर जाँदा तिनले पर रहेको जङ्गली चौपायालाई सानो कीरा ठाने, र नजिकै जाँदा ‘कीरा’ भैंसी जत्रो ठूलो हुँदा चकित परे ।

यस्तै दक्षिण अमेरिकाको एउटा गाउँमा जनस्वास्थ्य अभियन्ताहरूले औलो रोगबारे बताउन ठूलो पर्दामा लामखुट्टेको तस्वीर देखाए । लामखुट्टे पर्दामा ठूलै देखिने भयो । कार्यक्रम सकिएपछि एक स्थानीय अगुवाले आयोजकलाई भने— हामीलाई औलोको समस्या रहेनछ, किनभने यत्रो ठूलो लामखुट्टे यतातिर पाइँदैन !”

आजको चलायमान आधुनिक युगमा ती पिग्मी, दक्षिण अमेरिकी गाउँले र डाँडापाखरका नागरिक सबैले ‘थर्ड डाइमेन्शन्’ र ‘भिजुअल पर्सपेक्टीभ्’ कसैले नसिकाइकन बुझ्ने भइसके । एउटा होइन, दुइटा कुखुरा !

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *