ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्

हिमाल खबरपत्रिका (४-१० चैत्र, २०७४) बाट

तस्वीर: सुन्दर श्रेष्ठ

माथिको तस्वीरले दर्दनाक क्षण देखाउँछ– हूलले कसैलाई आक्रमण गरिरहेको अवस्था र उत्तिनै बेला एउटा नागरिकले गरेको अर्कोको बचाउ ।

खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ विरुद्ध तत्कालै निर्णय लिई आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ ।

यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।

ज्ञानेन्द्रको ‘कु’ को खिलाफमा जनउभार आएको थियो । कतै, कतै आन्दोलनकारी हिंस्रक पनि भएका थिए । २२ चैत २०६२ मा त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर हातामा प्रहरी र विद्यार्थीबीच झडप हुँदा प्रहरी अफिसर शरद चन्द एक्लो पर्न गए ।

कञ्चटमा ढुंगा लागेका उनी घाइते थिए । उत्तेजित भीडबीच एक्लिन पुगेका डीएसपीको बचाउको लागि अचानक कोही अगाडि आयो । उनी थिए– त्यस बेला त्रिचन्द्र कलेजमा अर्थशास्त्रमा एमए गर्दै गरेका गजेन्द्र लौडारी ।

गजेन्द्रको सोच र साहसबारे तस्वीरले जति बताउँछ, त्यही पर्याप्त छ । यो तस्वीर खिचेका हुन्, फोटोपत्रकार सुन्दर श्रेष्ठले ।

तनहुँको भानु नगरपालिका, लामस्वाँराका गजेन्द्र लौडारी जनआन्दोलनपछि गाउँ फर्केर शिक्षक बनेछन् । आजै पनि उनी भानु नपा–१० रामपुरटारको माध्यमिक विद्यालयमा पढाउँछन् । शरद चन्द प्रदेश–७ का डीआईजी छन् ।

लोकबहादुर लामा

सह-अनुभूति तथा तात्कालिक साहस भएका अर्का व्यक्तित्व हुन् गोरखा मिरकोट गाउँका लोकबहादुर लामा । यो मेरो निजी अनुभवमा आधारित निर्क्यौल हो । एकल पदयात्राको क्रममा म ३ भदौ २०५७ मा लमजुङको लिलीभीरमा खसेको थिएँ ।

घटनाको तेस्रो दिन मलाई फेला पारेको उद्धार टोलीले जब मद्दत मागे, लोकबहादुरजीले बोकिराखेको भारी तत्कालै गोरेटो छेउ बिसाएर डोरीको भरमा तल झरेर, मलाई बुई चढाएर भीरबाट माथि निकाले । अनि आफ्नो भारी बोकेर मनाङतर्फको बाटो लागे ।

अलिपरको धारोमा जीउमा लतपतिएको रगत–पिप पुछपाछ गर्दै गर्दा कसैले सोधेछन्, “किन त्यत्तिकै गरेको त्यस्तो खतरा काम ? ठेक्कामा पो गर्नुपर्थ्यो ।”

लोकबहादुरले जवाफ दिएछन्, “काम होइन, मानव धर्म गरेको ।” म अस्पतालमा रहँदा मेरा साथीहरूलाई तीन महीना लागेको थियो लोकबहादुरजीलाई मनाङको पदमार्गमा फेला पार्न ।

१२ वैशाख २०७२ को भुईंचालोको बेला अर्को बेजोडको साहसिक कार्य टुँडिखेलको महाँकालस्थान नजिकको गेट ढल्दाको सीसीटीभी भिडियोमा कैद छ ।

हीरामाया नेपाली बीच बाटोमा ट्राफिक सञ्चालन गर्दै गरेका प्रहरी जवान करणसिंह भण्डारीतर्फ जाँदैछिन् । मैले सम्झेअनुसार हीरामाया आफूले हाँकेको सफा टेम्पो छेउमै रोकेर ट्राफिक जवान भण्डारीतर्फ अघि बढ्दै थिइन्, के भन्न हो ।

ट्राफिक प्रहरीले पश्चिमतर्फ हेर्दै गर्दा कम्पन आयो र पूर्वतिरबाट टुँडिखेलको गेट सडकतिर बजारियो । यो देख्ने हीरामायाले ‘इन्स्टिङ्कटिभ्ली’ हात समाएर ट्राफिक प्रहरीलाई छेउतिर तान्छिन् र दुर्घटनाको मुखबाट बचाउँछिन् ।

मलाई थाहा छैन, गजेन्द्र लौडारी र शरद चन्दको भेट, भलाकुसारी भएको छ छैन । यस्तै हीरामाया नेपाली र ट्राफिक प्रहरी करणसिंह भण्डारीको पनि । मैले भने लोकबहादुर लामासँग भेट्न र मित्रता गाँस्ने मौका पाएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *