‘टोनी हागन ट्रेल’

हिमाल खबरपत्रिका (४-१० फागुन, २०७६) बाट

टोनी हागनले हिंडेको १४ हजार किमी पदयात्राको नक्शा, उनको किताब ‘नेपाल’ (सन् १९६१) बाट ।

२९ माघमा सोसल साइन्स बहाःले नामुद भूगर्भविद् र नेपालविद्, स्विस नागरिक टोनी हागनबारे चर्चा गर्न ललितपुरमा एक प्रवचन कार्यक्रम आयोजना गर्‍यो । प्रस्तोता थिए, जलस्रोतविद् दीपक ज्ञवाली ।

प्रस्तुतिमा ज्ञवालीले नेपालको भूगर्भ विज्ञान, विकास, पर्यटन र संस्कृति लगायत क्षेत्रमा हागनको योगदानको चर्चा गर्दै एउटा रोचक प्रस्ताव पनि गरेः “टोनीले जसरी पैदल नेपाल भ्रमण गरे, त्यो सम्झाउने गरी युवापिंढीलाई पनि पैदल यात्रा मार्फत नै नेपाली भूभाग, भूगर्भ भ्रमणका लागि उत्साहित गर्न ‘टोनी हागन ट्रेल’ बनाउने हो भने राम्रो हुनेथियो ।”

दर्शकदीर्घाको अग्रिम पंक्तिमा बसेकी थिइन् डा. काट्रिन हागन, जो आफ्ना स्वर्गीय पिताको ‘बौद्धिक उत्पादन’ को अभिलेखीकरण र प्रवद्र्धनमा जुटिरहेकी छिन् । ‘रिकन्स्ट्रक्टिभ् सर्जरी’ विशेषज्ञ डा. काट्रिन वर्षको दुईचोटि नेपालको दुर्गम भेकमा हातखुट्टा भाँचिएर राम्ररी नजोडिएका बिरामीको उद्धार गर्दै आएकी छिन् ।

माइक मागेरै डा. काट्रिनले भनिन्, “टोनी हागन ट्रेल नामकरण गर्ने कुरा त एकदम राम्रो । तर अफसोच म आफैंले बुवासँग डुलेका नेपालका डाँडाकाँडाका पदमार्ग समेत आज मासिएका छन् । मोटरबाटोले जताततै ‘फूट् ट्रेल’ छिन्नभिन्न पारेका छन् । त्यसैले यो सुझाव कार्यान्वयन गर्न सम्भव छ जस्तो लाग्दैन ।”

डा. काट्रिनको निराश अभिव्यक्तिपछि मलाई केही भन्न मन लाग्यो, भनें: “हो दुर्भाग्यवश पुराना मूलबाटो र गोरेटो अब रहेनन्, यसले नेपालको ऐतिहासिक संस्कृतिमा समेत घात गरेको छ । तर अझै पनि कतै टोनी हागनले हिंडेका पैदल मार्ग हुनसक्छन्, डोजर नपुगिसकेको गाउँ–गाउँ बीचका गोरेटो या अन्य भेक ।”

उत्साहित हुँदै डा. काट्रिनले थपिन्ः “हो ! त्यस्तो एउटा पैदल यात्राको बाटो हुनसक्छ पोखरा र मनाङबीचको नामुन भञ्ज्याङ ।”

टोनी हागन नेपालका स्विस सरकारको तर्फबाट पहिलो विकास परामर्शदाताका रुपमा सन् १९४९ मा नेपाल आए । राणाकालको अन्त्यपछि उनी संयुक्त राष्ट्रसंघका विज्ञको रुपमा सन् १९५० देखि सन् १९५९ सम्म नेपाल घुम्नमै बिताए ।

हागनले ती ९ वर्षमा १४ हजार किमी उकाली–ओराली गरे, १० जना जति शेर्पा र भरियाको टोलीसहित । हिमालयको भौगर्भिक उत्पत्ति, पर्यटनको सम्भावनादेखि नदीनालामध्ये जलविद्युत् सम्भावना बोकेका ‘साइट’ पनि पत्ता लगाए, जस्तै, दैलेख–सुर्खेत जिल्ला बीच रहेको ‘कर्णाली बेन्ड’।

हागनको सन् १९६१ मा पहिलोपटक प्रकाशित तस्वीरसहितको ‘नेपाल’ पुस्तकले पर्दा उघारेर मुलुकलाई विश्वसामु चिनायो । पुस्तकको पहिलो संस्करणको प्राक्कथनमा प्रम बीपी कोइरालाले लेखेका छन् — ‘टोनी हागनको नेपाल दर्शनले नेपाली स्वयंलाई लाभान्वित गरेको छ ।’

आफ्नो नेपाल दर्शनको दौरानमा हागन पोखराबाट अन्नपूर्ण शृंखलाको फेद हुँदै मनाङ झर्ने निधो गर्छन् र नामुन भञ्ज्याङको बाटो लाग्छन् । बाटो जोखिमपूर्ण भएकोले भरियाहरूलाई मर्स्याङ्दीको तल्लो बाटो समाउन बगरछाप पठाउँछन् । आफ्ना सहयोगी ऐला शेर्पालाई मात्र लिएर हिउँ र बरफबीचको भञ्ज्याङ काट्छन् र मनाङ झर्छन्।

यो पुरानो बाटो तमु समुदायको उद्गमसँग पनि सम्बन्धित रहेछ । भनिन्छ, दुई हजार वर्षजति अघि गुरूङका पुर्खा मनाङबाट उकालो लाग्दै नामुन भञ्ज्याङबाट दुई–तीन दिनको बाटो झरेर क्होंल सोंथर नाम गरिएको ठाउँमा पहिलो बस्ती बसाए र आजको कास्कीहुँदै अन्यत्र फैलिए ।

नामुन भञ्ज्याङबारे थप कसले बताइदेला भनेर सोचिरहँदा अचानक नेपथ्य ब्याण्डका ‘लोक–रक्’ गायक अमृत गुरुङ सम्झें । झण्डै २० वर्षअघि थारङ्गला हुँदै एक्लै पैदलयात्रामा झरिरहँदा मनाङको हुम्दे विमानस्थल छेउ मैले गुरुङलाई भेटेको थिएँ । उनी नामुन भञ्ज्याङबाटै झरेका थिए ।

शुक्रवार (२ फागुन) बिहान अमृतलाई फोन गरें । र, नामुन ला र टोनी हागन प्रसङ्ग सुनाएँ । उनको प्रतिक्रिया यस्तो रह्योः

“यो पदमार्गलाई टोनी हागन ट्रेल भन्दा गजबै हुन्छ ! यो ठाउँ अनकण्टार, रमणीय छ, तर यहाँ ऐतिहासिकता पनि छ । यो बाटोबाट अन्नपूर्ण, लमजुङ हिमाल र मनास्लु शृंखला राम्ररी देखिन्छ । गुरूङ भाषामा नामुन भञ्ज्याङलाई एङ्ग्रे हे भनिन्छ, जबकि आजभोलि ‘नामुन’ को अपभ्रंश भई ‘नमुना भञ्ज्याङ’ पनि भन्छन् कोही ।

बर्खाको वेला तल लमजुङका मानिस पनि यही बाटोबाट नून लिन मनाङ जान्थे भने अन्यत्रका लागि नूनको बाटो यही थियो । यसरी नामुन भञ्ज्याङको प्रयोग उत्तर र पश्चिम लमजुङ, उत्तर तनहुँ र पूर्व कास्कीका बासिन्दाले गर्थे ।

नामुन भञ्ज्याङबाट एक दिन माथि हिंड्ने हो भने दूधकुण्ड पुगिन्छ । कास्कीको सिक्लेस गाउँबाट नामुन भञ्ज्याङहुँदै मनाङ झर्ने पदमार्गलाई ‘टोनी हागन ट्रेल’ भन्दै नेपालका युवालाई यो बाटो हिंड्न उत्प्रेरित गर्ने हो भने इतिहास र प्रकृति दुवै बुझ्न राम्रो हुन्थ्यो ।”

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *