जीउ-ज्यान र छडको ढुवानी

हिमाल खबरपत्रिका (१-१६ साउन २०६६) बाट

सरकारले आफ्ना पीरमर्का बुझिदियोस्, केही गर्ने आँट र क्षमता देखाइदियोस्, साङ्केतिक रूपमा भएपनि केही गरिछाडोस् भन्ने हुन्छ नागरिकको मनमा। द्वन्द्वकालदेखि कमजोर बन्दै गएको राज्य सम्हाल्नु एकपछि अर्को सरकारका लागि चुनौती थियो र, छ। कानूनी शासन, सक्षम गृह-प्रशासन, मनोबलयुक्त प्रहरी, स्वाभिमानी परराष्ट्र नीति, विकास निर्माणको पुनः थालनी, राजनीतिक स्थायित्व, आर्थिक छलाङजस्ता पहिलेदेखिका आशा र अपेक्षाहरू छँदैछन्, कुनै दलले जनताको निराशालाई उल्ट्याउन सकेका छैनन्। केही नयाँ समस्याहरू प्रधानमन्त्री माधवकुमार नेपालको ढोकामा पनि गएर थुप्रिएका छन्, तर पनि राज्यका भयावह चुनौतीमाझ् हरेक नागरिकका निजी अपेक्षा हुन्छन्। यो लेखकका पनि छन्:

काठमाडौं उपत्यकाको कुरा गर्दा आर्यघाट, शङ्खमूल र टेकुमा शवदाह गृह (क्रिमेटोरिएम) बनुन्।
यो बर्खामा समथलमा बाढी र पहाडमा पहिरोको प्रकोपबाट छिटोछरितो उद्धारको लागि संयन्त्र तयार अवस्थामा रहोस्।
बिजुली गाडीले बजेटमा भन्सार सहुलियत पास् (जो पाएन)।
आउँदो हिउँदमा हुने महा-लोडशेडिङको अवस्था सम्हाल्ने प्रभावकारी योजना बनोस्।
काठमाडौं चक्रपथमा लाइट रेल दौडियोस् र मुलुकभर सार्वजनिक यातायात फस्टास्।
जनकपुर-ढल्केबर सडकलाई उपेक्षाको खाडलबाट उद्धार गरियोस्।
सडक-दुर्घटना न्यूनीकरण योजना कार्यान्वयन होस् (बजेटमा उल्लेख छ)।
दुर्घटनाबाट उद्धार गर्दा ट्राउमा केयर चाहिने बिरामीलाई च्याकुल्झयाइँ पार्दै सार्ने प्रवृत्ति अन्त्य गर्ने अभियान चालियोस्।
शहरबजारमा भुस्याहा भनिने कुकुरलाई सामुदायिक कुकुर को संज्ञा दिइयोस् र विष खुवाएर कुकुरको सङ्ख्या नियन्त्रण गर्ने कार्य अन्त्य होस्।
रूख रोप्दा विदेशबाट आयातित होइन, रैथाने बिरुवा रोप्ने चलन बढोस्।
बागमती ढललाई बागमती नदीमा परिणत गर्न सक्ने जति कामको थालनी आजैदेखि होस्।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पारदर्शी र वैज्ञानिक छनोट प्रक्रियाद्वारा हिउँदसम्ममा दुई होइन, चार वटा हजाईजहाज ल्यास्।
डिसेम्बरमा कोपनहेगेनमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा नेपालले लो कार्बन इकोनोमी को लागि विकासोन्मुख राष्ट्रमाझ् नेतृत्वको भूमिका निर्वाह गरोस्।
द्वन्द्वकालमा उपद्रव गर्ने सिपाही, छापामार जो-कोहीको ज्यादतीको कानूनअन्तर्गत अनुसन्धानको थालनी होस्। … आदि।

विश लिस्ट हरेक नागरिकको लामै हुन्छ र यो पङ्क्तिकारको पनि छ। तर साङ्केतिक रूपमा भएपनि अहिल्यै गर्नुपर्ने काम भन्नुहुन्छ भने मेरो मनमा एउटै कुरा घरी-घरी आउँछ, जुन कुरा पूरा भयो भने मेरो लागि चिन्तनशील, क्रियाशील र संवेदनशील सरकार ठाउँमा आएको सूचना मिल्नेछ। र, कुरा अति नै स्पेसिफिक छ― साइकल गाडा र अन्य साधनबाट खतरनाक हिसाबले छड, पाता, डण्डी, बाँस, पाइपजस्ता धारिलो र सुइरो परेका सामान पछाडि लामो पुच्छर जस्तो निकालेर सार्ने तरिकाको निवारण।

मुलुकभर बाटोघाटोमा बटुवा र अन्य यात्रुका छाती ताकेर ट्याक्टर, ट्याम्पो, ठेलागाडा, साइकलगाडा, ट्रक अथवा गोरुगाडामा घातक सामानको ढुवानी भइरहेको तपाईं जताततै देख्न सक्नुहुन्छ। एउटा नियम हुनुपर्ने हो― गाडीको चार भित्ताभित्र अट्ने गरी मात्र सामान सार-पसार गर्न पाइने। कुनै कुनै सामान बाहिर निकालेर राख्नै परेपनि कम्तीमा पछाडिपट्टि रातो या पहेँलो झ्ण्डा र राति बत्ती बालेर खतराको सङ्केत दिने चलन अनिवार्य हुनुपर्दथ्यो। तर अन्य अनगिन्ती समस्याले पिरोलेका प्रशासन, प्रहरी र नागरिक चिन्तकहरूले यतातिर ध्यान दिनै नपाएको जस्तो छ।

तर ध्यान दिने बेला भइसकेको छ, किनभने समस्या विकराल हुँदैछ। ढुवानीको यो आपत्तिजनक तरिका विशेषगरी शरीरको कम सुरक्षा हुने साइकल, मोटरसाइकल र स्कुटरमा हिँडेका यात्रुहरूका लागि घातक हुन्छ। रोकिरहेको अथवा हिँडिरहेको छड बोकेको ट्रक पछाडि रोपिएरधेरै मोटरसाइकल यात्रु मरिसकेका छन् भने पाताले काटिएर धेरैको अङ्गभङ्ग भएको छ। मोटरसाइकलमा कहिलेकाहीँ पूरै परिवार बसेको हुन्छ, अझ् अगाडिपट्टि हेण्डल समाउँदै रमाएर नाबालक पनि। बाटोका विभिन्न बाधा-अड्चन छल्दै मोटरसाइकल वेगले कुदिरहेको हुन्छ, अचानक अगाडि फलामे छड पछाडि तेर्स्याएर सुस्त गतिमा हिँडिरहेको साइकलगाडा देखापर्दछ। मोटरसाइकल चालकले एक्कासी त्यो देख्छन्, र छल्दै आफू र आफ्नो परिवारलाई बचाउँदै अगाडि बढ्छन्।

ढुवानीको यो तरिका कसरी यति खतरनाक हुन्छ भन्ने वैज्ञानिक आधार नियालौं। छेउबाट हेर्दा छड गाडाको पछाडि तन्किएको सबैले देख्दछन्, किनकि त्यो लम्बाइमा तेर्सिएको हुन्छ। तर गाडाको ठीक पछाडि तपाईं हुनुहुन्छ भने गाडा बाहिर निस्केको ८-१० फीटसम्म लामो चोसो पनि आँखाले हत्पत्ति ठम्याउन सक्दैन। प्यारल्याक्स् को कारण डण्डी या छडको पातलो मुख पट्टिबाट हेर्दा यसको लम्बाइको अनुमान हुँदैन। आँखाले हेर्दा साइकलगाडा या ट्रक अलि परै हुन्छ र तेर्सिएर आफूतर्फ आएको डण्डीमा ध्यान जाँदैन। देखेर छल्न खोज्दा ढिलो भइसकेको हुन्छ कहिलेकाहीँ। मोटरसाइकल चालक सतर्क भएन र एकैछिनको लागि पनि उसको/उनको मन बरालियो भने सत्यानाश हुन्छ, अनुमान गरेभन्दा नजिक छडको सुइरो भेटिन्छ र दुर्घटना हुनजान्छ। हाम्रो बाटाघाटामा दिनहुँ यस्ता घटना भइरहेका हुन्छन्। सरकार, सामाजिक अगुवा सबैलाई सोध्नुपर्ने कुरा― केही गर्न सकिन्न?

हरेक सरकारका सामुझै माधवकुमार नेपालको सरकारका सामु पनि समाजका अनगिन्ती चुनौती र समस्याहरू छन्। सबै कुरामा एकैचोटि ध्यान दिनसक्ने अवस्था छैन। फेरि न्याय, कानून र राज्यव्यवस्था चुस्त बनाउँदै गएपछि समाजमा स्थायित्व तथा आर्थिक अग्रगमन स्थापित हुन्छन् र बाँकी अनगिन्ती समस्या लाखौँ नागरिकको योगदानमा सुल्झिदै जान्छन् पनि। तर पनि हरेक नागरिकले सरकारले यति गरिदिए कस्तो राम्रो हुन्थ्यो भन्ने अपेक्षा राख्दछ र यो पङ्क्तिकारको अपेक्षा मैले भनिहालें। गृह-प्रशासन, नगरपालिका, सडक विभाग, ट्राफिक प्रहरीजस्ता संयन्त्रबीच कुरा मिलाएर चोसो परेका घातक सामानको यस्तो असुरक्षित ढुवानीमा तुरुन्त रोक लगाई सभ्य पाराले ढुवानी गर्ने परिपाटी बसालिदिए कति राम्रो हुन्थ्यो! सडकमा मोटरसाइकल चालक तथा अन्य नागरिकको जीउ र ज्यान बच्ने थियो र सरकार नागरिकप्रति संवेदनशील भएको देखिन्थ्यो। मेरो लागि साङ्केतिक कदम यही हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *