चियाः स्वाद र सम्पर्क

हिमाल खबरपत्रिका (८-१४ फागुन, २०७३) बाट

मरुभूमिमा प्यासले व्याकुल यात्रुले ‘पानी! पानी!’ भन्छ। नेपालमा वास्तविक र सांकेतिक रूपमा ‘चिया! चिया!’ भन्नुपर्ने बेला आएको छ। यसै पनि पूर्वी नेपालमा चियाखेती फैलँदो छ, तर त्योभन्दा बढी उजाड र रित्तिंदै गएको मध्यपहाडको आर्थिक सम्भावनाहरूको पनि चियाको सफलताले संकेत गर्दछ। चिया खेतीमा अलिकति ध्यान दिनु भनेको अर्थतन्त्र फक्रन र फुलाउनेतर्फको सोच पनि हो।

इतिहासबाटै शुरू गरौं। हामीलाई चियासँग ममता अझै जाग्नेछ जब नेपालमा यसको आगमन प्रष्ट हुन्छ, जुन रोमाञ्चक पनि छ। चियाको उत्पत्ति दक्षिणी चीनमा भएको हो। उपनिवेशकालमा बेलायतीहरूले यसलाई दार्जीलिङ, डुवर्स र आसाममा भित्र्याए। नेपालमा पनि त्यतैबाट सर्दै आएको अनुमान धेरैले लगाउँछन्।

तर, भएको के हो भने उतिबेला तीन–तीन वर्ष लगाएर नेपालले चीनका बादशाहलाई सौगात पठाउने चलन थियो– सन् १७९२ को युद्धमा नेपालको हारपछि। बादशाहले पनि सौगात फिर्ता पठाउँथे, र चियाको बीउ पनि एक पटक पठाइयोजंगबहादुरको पालामा मान्चु (‘किंग’) बादशाहको तर्फबाट। जंगबहादुरले इलाममा बडाहाकिम खटिएका आफ्ना सम्धी गजराजसिंह थापालाई ती बीउ पठाएपछि पहिलो चिया बगानको शुरूआत भयो। इलाम सदरमुकामको इलाम चिया कमानका ती बुटाहरू आजसम्म छँदैछन् इतिहासको पहरेदार स्वरुप। पछि नेपाल सरकारको चिया विकास कार्यक्रम तथा बेलायती नेपाल–प्रेमी माइक चेनी जस्ता प्रवर्तकहरूले अन्यत्रबाट पनि चिया ल्याएर रोपे, बगान निर्माण गरे।

चियाको आगमन यति पुरानो हुँदाहुँदै र खपत व्यापक भए पनि नेपालमा प्रयोग भने विविध हुनसकेको छैन। उत्तरबाट आयातीत पत्तीबाट बन्ने भोटे नुनचिया त पूरै हिमाली भेगको आफ्नै हो, तर त्यो एकाध गुम्बाबाहेक तल झारेन। पहाड–मधेशमा दूध–चिया–चिनी नै चलेको छ,कहिलेकाहीं मसला थपेर।

चियाको प्रयोगमा जापानी ‘टी सेरेमोनी’ देखि बेलायतीहरूले आफ्नै विभिन्न तौरतरीका अपनाउँछन्; फिक्का, गाढा, कति बेर उमाल्ने, कतिबेर स्टीप गर्ने (उमालेको पानीमा चियापत्ती भिजाउने), दूध कहिले र कति हाल्ने, तातो वा चीसो आदि इत्यादि। नेपाली स्वाद (यो पंक्तिकारको समेत) भने चियापत्तीलाई भक्भक् उमालेर, दूध मिसाएर थप उमालेर, चिनी थपेर अनि बिस्कुट, पाउरोटी, सेलरोटीसँग खानुमा छ!

पारखीहरु यो ‘व्यवहार’ देखेर चिन्तितसम्म हुने गरेका छन्। किनकि वाइन जस्तै चियाको पनि विभिन्न पहिचान र आयाम हुन्छन््, ग्रीन टी, अर्थडक्स, लिफ् या धूलो मात्र होइन, बिरुवा, मुना र पातले अनि माटो, पाखा, उँचाइ, घाम, पानी र लन्जिट्यूड–ल्याटिट्यूडले पनि फरक–फरक स्वाद र तयारीको तौरतरीका सुझाउँछ।

स्वर्गीय कांग्रेस नेता भीमबहादुर तामाङज्यू चियाका पारखी हुनुहुन्थ्यो। मंसीर २०६९ मा उहाँ बित्नुभएपछि चियाको एउटा ज्ञाताको अभाव समेत खट्किएको छ। दार्जीलिङमा पढ्दा–बस्दा चियासँग उहाँको सम्पर्क भएको थियो। भीमबहादुर दाइले नयाँबानेश्वरस्थित कोठामा छिर्ने आगन्तुकलाई मिठाससहित सरल ‘टी सेरेमोनी’ मा सामेल गराउनुहुन्थ्यो। भन्नै पर्दैन, यसरी ‘चिया कर्मकाण्ड’ को तयारी आफैंमा एउटा ‘मेडिटेटिभ्’ कार्य हो। यसले आन्तरिक र बाह्य मनोवैज्ञानिक सौम्यता प्रदान गर्छ, जो भीमबहादुर दाइको पहिचान पनि थियो।

हामीले चियासेवनलाई अब बृहत् र बहुआयामिक बनाउने बेला आएको छ, किनकि यसले एकएक नागरिकको जिब्रोमा स्वादको घेरा फराकिलो बनाइदिन्छ। अर्कोतर्फ नेपाल संसारकै उच्चतम मापनको किमती चिया उत्पादन केन्द्र बन्ने हो भने यहाँका नागरिकले नै पहिला त्यो स्वादसहित सम्भावना बुझ्नुपर्छ।

वास्तविकता त यो हो कि नेपाली चियाले अनायास फड्को मारिसक्यो। धेरै बढाइँ र बाजागाजाका साथ हुने कार्य दिगो हुँदैन पनि, जुन हामीले तिब्बती कार्पेट तथा पस्मिना उद्योगमा देख्यौं, जहाँ गुणस्तर कायम हुन सकेन र व्यापार धरासायी भयो। चूपचाप हुने अग्रगमनले उद्योगको जग बलियो हुन्छ कसैले सजिलै भाँड्न सक्दैन। पूर्वी नेपालमा सफल भएको चिया उद्योगमा यस्तै भएको छ।

कलकत्ताका व्यापारी तथा दार्जीलिङ–आसामका बहुराष्ट्रिय कम्पनीहरूद्वारा संचालित चिया बगानले नेपाली चियालाई दशकौं अगाडि बढ्न दिएनन्। अहिले नेपाली चिया त्यो बन्धनबाट केही हदसम्म मुक्त भएको बुझिन्छ र विशेषगरी ग्रीन टीले आफ्नै (उच्च) मूल्य कायम गरेको छ, विश्वबजारमा। यसअघिका अनुभवलाई हेरेर यो उद्योगलाई प्रतिरक्षा गर्नुपरेको छ, कसैको आँखा नलागोस्।

उच्च अन्तर्राष्ट्रिय बजारभाउ कायम गर्ने हो भने हामी संगठित र वैज्ञानिक हुनै पर्‍यो। यहाँका बुटा जबर्जस्त छन्। विषादि र विकासे मल न्यून गर्दै जाँदा ती ‘अर्ग्यानिक’ दर्जाका हुन्छन्। खेती गर्ने जनशक्ति (तथा रुचि) कम हुँदै गएका पहाड–मधेशमा चिया खेतीले खेत र गरा फेरि उत्पादनमुखी हुन्छन्। ग्रामीण भेगको रोजगारी र आम्दानी बढ्नेछ। अहिले इलाम–धनकुटामा केन्द्रित चिया खेती पश्चिम सर्दै जान केहीले नरोक्ला।

चियाको यो सम्भावनालाई साकार पार्नु छ र विशेषगरी उच्चतम अन्तर्राष्ट्रिय भाउ कायम राख्न बलियो ‘ब्रान्डिङ’ को आवश्यकता छ। उच्च भाउ र ब्रान्डिङमा नेपाल हरेक क्षेत्रमा चुकेकै हो, पर्यटनदेखि पस्मिनासम्म। चियामा यस्तो नहोस्, साथै उच्च मूल्य मात्रै नकमाओस्, यो धन मालिकदेखि मजदूर सर्वत्र छरियोस्– आम्दानीका साथ ‘इक्विटी’!

चिया खेती र उद्योग हामीले चाहेजस्तो हुनलाई आमजनता स्वयंले चियाको ‘सभ्यता’ बुझ्नुपर्‍यो। म आफैं दूध–चिया–चिनीको आयामबाट भीमबहादुर तामाङ दाइको ‘पारखी’ तह बुझ्न र अपनाउने कोशिशमा छु।

जय चिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *