घरैमा बस्नुस्, इतिहास रङ्गाउनुस् ! (१७ ऐतिहासिक तस्वीरसहित)

हिमाल खबरपत्रिका (२३-२९ चैत, २०७६) बाट

कवि शिरोमणि लेखनाथ पौड्याल । तस्वीर: मदन पुरस्कार पुस्तकालय (मपुपु)

बन्दाबन्दीमा घरैमा बसेर गर्न सकिने सजिलो काम – पुराना एल्बम् पल्टाउने, छानिछानी तस्वीरहरुमा डिजिटल रङ्ग भर्ने अनि विगतलाई वर्तमानसँग जोड्ने।

बन्दाबन्दीको समय पार लाउन हरेकले आ-आफ्नै बाटो रोजेका छन्। ग्राफिक डिजाइनर भूषण शिल्पकारलाई एउटा मौलिक काममा हात हाल्न मन लाग्यो, त्यो थियो परिवारका पुराना फोटो एल्बममा रहेका श्यामश्वेत तस्वीर रङ्गाउने।

शिल्पकारले अनुसन्धानका क्रममा एउटा ‘ओपन् सोर्स’ सफ्टवेयर साइट फेला पारे, ‘डिओल्डिफाई’ नाम गरेको । स्क्यान गरेर पुरानो तस्वीर अपलोड गर्‍याे, साइटले आफ्नै डिजिटल जुक्ति लगाएर ‘ब्लाक एण्ड ह्वाइट’ मा ठिक्क मात्रामा रङ्ग भरिदिंदो रहेछ।

बाकस र एल्बममा थन्किएका पुराना पारिवारिक तस्वीरले ‘कलराइजेशन’मार्फत एकाएक नयाँ जीवन पाउँदा, विषयवस्तु झनै जीवन्त देखिंदा सबै चकित भए । ‘टाइम पास’ गर्न यसो गर्न थालेका शिल्पकार हौसिए। 

साथीभाइ र घरपरिवारको प्रतिक्रियाले उत्साहित शिल्पकारलाई अन्य ऐतिहासिक तस्वीर तथा मुलुकका विभिन्न भाग र भेषभूषा झल्काउने तस्वीरलाई रङ्ग भर्न मन लाग्यो । उनले आफू पहिले आवद्ध संस्था नेपाल पिक्चर लाइब्रेरी तथा मदन पुरस्कार पुस्तकालयका डिजिटल अभिलेखालय चहारेर छानिएका केही तस्वीरमा रङ्ग भरिदिए।

 

पारिजात, हस्ताक्षरसहित। (मपुपु)

कामको हिसाबले यो खासै खर्चिलो, समय लाग्ने होइन, तर यसरी पुराना श्यामश्वेत फोटो सहजै रङ्गिन बनाउने प्रविधि सर्वसाधारणको पहुँचमा आएको हालैमात्र हो । यो प्रयोगले जसरी ऐतिहासिक तस्वीरले वास्तविक, प्राकृतिक रङ्ग पाउँदछ, यसबाट विगत हेर्न र बुझ्न झनै सहज हुन्छ जस्तो लाग्छ।

हो, शुरुका ८-९ दशक फोटोग्राफी केवल श्यामश्वेत मात्र थियो । जब सन् १९५० को दशकमा कलर फाटोग्राफी भित्रियो, रङ्गिन र श्यामश्वेत फोटोग्राफी विशेष ठान्नेहरुका छुट्टाछुट्टै अनुयायी बन्न पुगे । अहिले पनि कतिपयको भनाइमा श्यामश्वेत तस्वीरले जति वास्तविकता राम्ररी चित्रण कसैले गर्न सक्तैन । अनि अर्को पक्ष भन्छ, संसार रङ्गिन छ भने फोटोग्राफीले पनि त्यो रङ्ग देखाउन सक्नुपर्‍यो । ‘न्याचुरल कलर’ फोटोग्राफी नै सही हो . . .।

पछिल्ला दुई दशकमा विकसित डिजिटल फोटोग्राफीले भने यो बहस गौण बनाइदिएको छ । रङ्गिन फोटोग्राफीलाई उत्ताउलो प्रविधि ठान्नेहरुले भन्ने ठाउँ साँगुरिदै गयो। आज आएर त्यही डिजिटल प्रविधिले अब पुराना श्यामश्वेत तस्वीर पनि रङ्गिन बनाइदिने भयो।

खुलामञ्चमा बीपी कोइराला । (मपुपु)

शिल्पकारले जस्तै पारिवारिक र ऐतिहासिक फोटो हामी जोकोही सहजै ‘कलराइज्’ गर्न सक्छौं । “श्यामश्वेत तस्वीरमा आँखाले नदेख्ने, लुकेका कुरा पनि रङ्गिनमा देखिंदो रहेछ”, चकित पर्दै शिल्पकार भन्छन् । “धेरै तस्वीर यसरी ‘एनहान्स’ भएको मैले पाएको छु।”

राजा महेन्द्र र रानी रत्न, जनमत संग्रहताका बीपी कोइराला खुलामञ्चमा भाषण गर्दै, राजा सुरेन्द्र विक्रम शाह बेलायती कूटनीतिज्ञ भेट्दै, पारिजातको पोर्टेट, एक नेवार परिवारको ‘ग्रुप फोटो’ – सबै अब शिल्पकारको थोरै परिश्रमले जस्तो थियो त्यस्तै हेर्न पाइयो।

कुनै तस्वीर डेढ शताब्दी अघिका छन्, जस्तै क्लेरेन्स कोमिन टेलर को राजा सुरेन्द्रको तस्वीर ।  कुनै नेपालमा ‘कलर फोटोग्राफी’ सजिलै उपलब्ध हुनु अघिका तस्वीर छन्, जस्तै विकास रौनियारले खिचेको विद्यादेवी भण्डारीको तस्वीर, सुमित्रा मानन्धर गुरुङले खिचेकाे ‘चौरमा छरिएर बसेका शिष्यहरुको तस्वीर ।

(बायाँ – दायाँ) कृष्णचन्द्रसिंह प्रधान, कमलमणि दीक्षित र केदारमान बेथित । (मपुपु)

केभिन बुब्रिस्की चर्चित अमेरिकी फोटोग्राफर हुन्, जसले सन् १९७० को दशकदेखि ‘लार्ज फोर्म्याट क्यामेरा’ बोकेर नेपालभर घुमे र विविध समुदाय रहनसहन लाई विषयवस्तु बनाए । उनका श्यामश्वेत तस्वीरहरुले नेपाली जनमानसको विविधताको राम्रो ‘पोर्टरेचर’ गरेका छन्। अनलाइनमा उपलब्ध बुब्रिस्कीका सबै तस्वीर शिल्पकारले ‘रङ्गिनीकरण’ गरे र अलि डराई अमेरिका निवासी फोटोग्राफरलाई इमेल गरे । “उनले काम मन पराएको, र मैले लामो सास फेरेँ”, शिल्पकार सम्झन्छन्।

कसैले पुरानो कृतिको कलात्मक सौन्दर्य (‘एस्थेटिक’) लाई यो डिजिटल प्रविधि मार्फत अपहेलना गरियो पनि भन्न सक्लान् । तर, मेरो विचारमा ऐतिहासिक तस्वीरलाई रङ्ग भरेर जीवन्त बनाउने यो काम राम्रै हो । यसले इतिहास नियाल्न नयाँ पुस्ता त के पुरानै पुस्तालाई पनि प्रोत्साहित गर्नेछ । कसैको फोटो माथि  ‘कपीराइट’ छ भने स्वीकृति लिएर मात्र ‘रङ्गिनीकरण’ गर्नु बेस।

तपाईं पनि पुरानो फोटो एल्बमको धुलो टकटकाउनुस् । र, छानिछानी बाजेका पालाका फोटामा घर बसिबसी रङ्ग भर्नुस् !

राजा सुरेन्द्र वीरविक्रम र बेलायती पाहुना, क्लेरेन्स कोमिन टेलर । (मपुपु)
गोसाइकुण्डमा झाँक्री, सन् १९७८ । (केभिन बुब्रिस्की)
यार्सा गाउँ नुवाकोट, सन् १९७४ । (केभिन बुब्रिस्की)
चौरमा जाँच दिंदै चिटी तिलाहर गाउँ (लमजुङ)का छात्रहरु । तस्वीर: सुमित्रा मानन्धर गुरुङ (नेपाल पिक्चर लाइब्रेरी)
भर्‍याङ ओर्लिंदै राजा महेन्द्र र रानी रत्न । (मपुपु)
भिमफेदीबाट बोकेर ल्याइएको मोटर-कार चन्द्रागिरिबाट थानकोट झारिंदै । (मपुपु)
अमलेखगञ्जबाट उत्तर राप्तीको बाटो, उलिनखाटमा शयर गर्दै सरकारी पदाधिकारी । (मपुपु)
नेपालको पहाड, ठाउँ र वर्ष अज्ञात । (मपुपु)
२०५१ सालकाे मध्यावधि निर्वाचन अभियानमा सिफल चाैरमा विद्यादेवी भण्डारी । तस्वीर: विकास रौनियार । (नेपाल पिक्चर लाइब्रेरी)
काजी नारायणभक्त माथेमाको ओमबहाल घरमा महिला र बालबच्चा, सन् १९३० । तस्वीर लिने थहिटीका सानुचा पहलमान । मुकुन्दबहादुर श्रेष्ठ कलेक्शन । (नेपाल पिक्चर लाइब्रेरी)
धरहराको बार्दलीबाट उत्तर–पश्चिम गणबहाल, खिचापोखरी, नयाँसडक र वसन्तपुर पार गर्दै स्वयंभूतर्फ । मुकुन्दबहादुर श्रेष्ठ कलेक्शन (नेपाल पिक्चर लाइब्रेरी)
गुजेश्वरी मन्दिर नजिकको घाटमा असन टोलका मास्के खलक, १९२७ तिर । त्यो समय गुजेश्वरीको यो घाट धेरैले ‘ग्रुप फोटो’का लागि प्रयोग गरेको देखिन्छ । नरेन्द्रलाल मास्के कलेक्शन (नेपाल पिक्चर लाइब्रेरी)
भूषण शिल्पकार, तस्वीर: निरञ्जन कुँवर

 

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *