खोइ कुहिरो ? हरायो

हिमाल खबरपत्रिका (१८-२४ कार्तिक, २०७५) बाट

२०–२५ वर्षको दौरानमा दशौं हजार वर्ष टिकेको वातावरण र हजारौं वर्ष कायम सामाजिक तौरतरिका मासिंदै, हराउँदैछ ।

बाल्यकालको होइन, एकै दशक अगाडिसम्मको पनि सोह्रश्राद्ध बेलाको उपत्यका सम्झिंदा पितृकार्यसँगै स्मृतिमा बिहानको कुहिरो आउँछ । धेरै वर्ष यता, र यस शरद ऋतुमा पनि, नेपालमण्डल उपत्यकामा कुहिरो यो हप्तासम्म देखिएको छैन ।

रातको वायुमण्डल चिसो हुँदै जाँदा झरेको शीत, नदीनालाको बहाव तथा खेतबारीको भिजेको सतहबाट बिहानीपख भुईंकुहिरो उठ्ने अवस्था थियो, आदिकालदेखि । अहिले वागमतीको मूल धार र सहायक ‘मती’ हरूमा पानी कम मात्र भएको छैन, फराकिलो बालुवाको तट समेत अतिक्रमित छ ।

उपत्यकाव्यापी शहरीकरणले गर्दा कुहिरो उठ्ने मैदान र चउर मासिएका छन् । उता रातिको चिसो पनि पहिले जस्तो छैन ।

कुहिरो हराए जस्तै विविधतायुक्त नेपाली वातावरण, समाज र संस्कृतिको ‘किमत’ घट्दो छ । उपत्यकाको कुहिरो गायव छ भने तराईमा बढ्दो शीतलहर प्राकृतिक प्रकोपको रूपमा अगाडि आएको छ ।

विभिन्न कारण (हिउँदे बाली, नहर, तटबन्ध) ले गर्दा जाडोको समयमा हुस्सू उठ्न चाहिने पानी जमीनको सतहमा भूगर्भिक समय (‘जिओलजिकल टाइम’) मा कहिल्यै नभएको ओस आज पाइन्छ । यसै कारण नेपालमण्डलमा कुहिरो हराएको छ भने तराईमा असंख्य जनमानसलाई असिम पीडा दिने शीतलहर जमेको छ ।

हिमालतर्फ आँखा लगाउने हो भने अहिले हिमनदीहरू खुम्चिएका छन्, हिमाली चुचुराहरूको हिउँ÷बरफको बाक्लोपन घट्दो छ । केही हदसम्म विश्वव्यापी वातावरण परिवर्तन र त्योभन्दा बढी धेरै उँचाइमा उडेर आउने दक्षिण एशियाली धूलो र धुवाँ यसको कारण हो, जसले हिउँलाई धुलाम्मे पारेको छ भने घामको रापलाई सोसेर बरफ र हिउँ छिट्टै पग्लन सघाएकोे छ ।

यसै कारण हिमनदी पछाडि सर्दैछन्, र नदीनालामा हिउँदमा बग्ने पानीको मात्रा घट्दो छ । वातावरण मात्र नभई सामाजिक र सांस्कृतिक क्रियाकलापमा पनि फेरबदल हाम्रै पुस्ताको बेलामा द्रुत गतिमा चल्दैछ ।

एकातर्फ पहाडमा सामुदायिक वन कार्यक्रमको सफलता सहित जंगल र जीवजन्तुको संख्या पनि बढेको छ । तर मध्यपहाडमा जंगल बढ्यो भने चुरे क्षेत्र मासिंदै गएको छ । झन् समथरको चारकोसे झाडी संरक्षण गर्न चाहनेको संख्या अति न्यून नै देखियो, जुन कुरा निजगढ विमानस्थल बहसमा देखियो ।

संस्कृतिको कुरा गर्ने हो भने, पहाडको ठाउँ–ठाउँमा दुई–चार वर्षमै हलगोरुको चलन लोप भएको छ, हाते ट्याक्टरका कारण । केही पत्रकार मित्रसँग गएको वर्ष धुलिखेलछेउ गाउँ जाँदा जताततै घरआँगनमा हलो फ्याँकिएको देखेपछि एउटा मागेर ल्याएँ, ऐतिहासिक चिनो (हे. तस्वीर) । ग्रामीण जीविका र संस्कृतिको एउटा पाटो हराउँदैछ ।

बसाइँसराइ गर्दै दुई हजार वर्ष अगाडि नेपाली मध्यपहाडमा आएका समुदायहरूले कान्ला खोस्रेर कृषि कर्मतिर लागे । आज कैयौं पाखामा ऐतिहासिककालमै पहिलो पटक कान्लाहरू बाँझा, बाँदर र बँदेलको क्रीडास्थल बनेका छन्, जंगल फर्केर आएको छ । यसरी हामीले चिनेको नेपाल पूरै अर्कै ‘नेपाल’ बन्दैछ, हाम्रै आँखा अगाडि, आजैभोलि ।

नयाँ नेपाल पुरानो नेपाल भन्दा राम्रो बनाउने हो भने पुरानो नेपालका के के वस्तु, वातावरण, तौरतरिका, संस्कृति गुमायौं हेर्नुपर्ने हुन्छ । कुहिरो लाग्नु एक भौगोलिक, मौसमी प्रक्रिया होला, तर कुहिरो नेपालमण्डलवासीको चालचलन, जीवनीसँग गाँसिएको ‘फेनोमेनन्’ हो ।

इतिहासकालदेखि नै जब जाडोयाममा जो–कोही ‘नेपाल खाल्डो’ आउँथ्यो, उसले देख्थ्यो कचौरामा दूध रहे जस्तै कुहिरोले शहर ढाकेको । त्यो परापूर्वकालदेखि पुर्खाले देखिआएको दूधको सतह हाम्रो लागि रहेन, देख्छौं त धूलो र धुवाँ मिसिएको तुवाँलो ।

कम्तीमा गुमेको कुहिरोलाई फर्केर सम्झौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *