केले जोगायो नेपाललाई ?

हिमाल खबरपत्रिका (१-७ भदौ, २०७६) बाट

बुझ्दै आएको कुरा हो, इतिहास लेखनको क्रममा राजा, राजनेता, वंश र उच्च खानदानको कुरा मुख्यतः लेखिन्छ; ‘भुइँमान्छे’ को अपहेलना हुन्छ । सँगै यो पनि सत्य हो कि ऐतिहासिक ‘एलिट’ पात्रको सधैं सही मूल्याङ्कन र कदर भइरहेको हुँदैन । लोकरिझ्याइँको हावाहुरी, राजनीतिक पाखण्ड या इतिहास पठनपाठन र अनुसन्धानमा कमजोरी यसका कारक हुनसक्छन् । थप, आजको आँखाले हिजोलाई हेर्नाले राजा होस् वा रंक दुवैको प्रस्तुत इतिहासले अवमूल्यन गर्न सक्छ ।

आधुनिक नेपाल बनाउने या प्रतिरक्षा गर्ने श्रेय पाएका विभिन्न पात्रलाई पत्रकार\विश्लेषक महावीर पौड्यालले एक वर्षअघि ‘रिपब्लिका’ अंग्रेजी दैनिकमा प्रस्तुत गरेको अनुसन्धानमूलक लेख यहाँ प्रासङ्गिक छ ।

एकातर्फ मुख्तियार भीमसेन थापालाई विना काम–कारण नेपाललाई बेलायतसँग सन् १८१४–१६ को युद्धमा फसाएको भन्ने कुरा छ, इतिहास शिरोमणि बाबुराम आचार्य पनि यस्तै लेख्छन् । उता बेलायती इतिहासविद् पर्सिभल ल्याण्डन र अमेरिकी पादरी\इतिहासविद् लुड्विग स्टिलर भने भीमसेन थापाले राष्ट्रहित खातिर कूटनीति गरेको दाबी गर्छन् ।

स्टिलर र अर्का अमेरिकी राजनीतिशास्त्री लिओ इ. रोजलाई उद्धृत गर्दै पौड्याल लेख्छन्, “चन्द्रशमशेरले नेपाललाई ब्रिटिशबाट ‘अन्‍रिष्ट्रिक्टेड् इन्डिपेन्डेन्स्’ दिलाउन सफल कसरत गरे, जसले भारतको स्वतन्त्रता पश्चात् नेपाललाई पृथक् र स्वतन्त्र राख्न नजिर स्थापित गर्‍यो ।”

पौड्याल अगाडि लेख्छन्, “आफूसँग भएको हरतरहको काबिल प्रयोग गर्दै नेपाललाई स्वतन्त्र राखिराख्ने मध्ये पर्दछन् सन् १८१६ मा भीमसेन थापा, सन् १८५८ मा जङ्गबहादुर, सन् १९२३ मा चन्द्रशमशेर, सन् १९६० को दशकमा बीपी र महेन्द्र, सन् १९९० मा वीरेन्द्र र कसैलाई मन परे पनि नपरे पनि सन् २०१५ मा केपी ओली ।”

कसलाई केका लागि श्रेय दिने, के विषय या प्रसङ्गलाई महत्व दिने भन्ने सन्दर्भमा ओझेलमा परेको भारतको स्वतन्त्रता सङ्ग्रामसँग जोडिएको नेपालको विषयलाई यहाँ स्मरण गरौं ।

सन् १९४७ मा बेलायतको उपनिवेशबाट भारत\पाकिस्तान स्वतन्त्र राष्ट्रमा परिणत हुँदै गर्दा नेपालको स्थिति नाजुक बन्न पुगेको थियो । एकपछि अर्काे ‘प्रिन्स्ली स्टेट्’ ले आफ्नो अर्ध–सार्वभौमिकता त्यागे, स्वस्फूर्त या दबाबमा परी ।

डेक्कनको ठूलो हैदरावाद राज्यदेखि स–साना गोवा र जुनागढ जस्ता प्रान्त भारतमै गाभिए भने जम्मु र कश्मीर मुश्किलले अर्ध–स्वायत्त स्थितिमा बच्न सफल भए । (त्यही अर्ध–स्वायत्तता पनि नरेन्द्र मोदीको सरकारले २० साउनमा भारतको संविधानको धारा ३७० खारेज गर्दै हडप्यो।)

यस्तो विषम परिस्थितिमा नेपाल कसरी स्वतन्त्रै रह्यो ? मुख्य कुरा त, २५० वर्ष कसैको उपनिवेश नबनेका कारण नेपालको अवस्था उपमहाद्वीपका सबै ‘प्रिन्स्ली स्टेट्’ भन्दा अलग थियो नै । अर्काे, पौड्यालले लेखे झैं बेलाबखतका नेपाली राजनेताले कूटनीति, चतुर्‍याइँ प्रयोग गर्दैै पहिला ‘कम्पनी बहादुर’ र पछि बेलायती सरकारलाई एकहात परै राख्न सफल भए ।

यति भन्दाभन्दै पनि, सन् १९४७ को तरल भूराजनीतिक अवस्थामा भारतका गृहमन्त्री बल्लभभाई पटेलले नेपाल समेत भारतमा गाभ्ने मनसाय नराखेका भने होइनन् । त्यस परिस्थितिमा पनि नेपाल बच्यो ।

जेल–नेल, आन्दोलन, बौद्धिक विमर्श माझ हुर्केका सहयात्रीहरू बीचको मित्रताले नेपाललाई सुरक्षित राख्न मद्दत गर्‍यो । विश्व इतिहासकै अचम्मको रणनीतिक उपलब्धि बन्न पुग्यो, यो ।

‘बच्नु’ को थप एक कारण थियो — नेपालका राणा शासनको विरोध गर्ने क्रान्तिकारीहरूको भारत स्वतन्त्रता सङ्ग्राममा संलग्नता । विश्वेश्वरप्रसाद कोइराला र उनको ‘कोहोर्ट’ ले यो कुरा मज्जासँग बुझेका थिए कि भारतबाट बेलायती शासकको गमन विना नेपालमा राणा शासन अन्त्य सम्भव थिएन । त्यसैले पनि नेपालका विद्रोहीहरू दक्षिणको स्वतन्त्रता अभियानमा दत्तचित्त होमिए ।

लोकतान्त्रिक दर्शन एउटै भएका दुई अभियान, एकको उपनिवेशको मुक्ति, अर्काेको जहानियाँ शासनबाट मुक्ति । यसरी नेपाली अभियन्ता र भारतीय जुझारु बीच सुखद् सहकार्य र ‘शोसिएलाइजेशन्’ हुन पुग्यो — विमर्श, बैठक, आन्दोलन, जुलूस र कारागारमा ।

यस्तै सहकार्यमा १५ अगष्ट १९४७ मा भारतले स्वतन्त्रता हासिल गर्‍यो । नेपाल भने राणाकालमा फसेकै थियो । स्वतन्त्रताको वेगसँगै भारतले ठूला–साना सबै राज्यलाई आफूमा समाहित गर्दै थियो ।

नेपाल अरु राज्य रजौटाहरू भन्दा पृथक् थियो, त्यसैले नेपाल ‘निल्न’ भारतलाई त्यति सहज थिएन । तर, भारतका शासक एकोहोरो लागिपरेका भए शायद यो असम्भव पनि थिएन । किनकि भारतीय स्वतन्त्रताको ‘मोमेन्टम्’ माझ नेपाललाई पनि हत्याउन खोज्दा आउन सक्ने अन्तर्राष्ट्रिय प्रतिक्रिया नयाँदिल्लीले थेग्न सक्ने अवस्था थियो ।

तर, जेल–नेल, आन्दोलन, बौद्धिक विमर्श माझ हुर्केका सहयात्रीहरू बीचको मित्रताले नेपाललाई सुरक्षित राख्न मद्दत गर्‍यो । विश्व इतिहासकै अचम्मको रणनीतिक उपलब्धि बन्न पुग्यो, यो ।

विचार गर्नुस्, बीपी कोइराला मात्रको कुरा गर्दा पनि भारतीय कंग्रेस नेता, समाजवादी नेता र अन्यसँगको पटना, कलकत्ता, वाराणसी, नयाँदिल्लीमा उठबस — जवाहरलाल नेहरु, राममनोहर लोहिया, जयप्रकाश नारायण लगायतसँगको सम्पर्क । कोइरालाको पटना जेलमा राजेन्द्रप्रसादसँगको बसाइ भन्नुस् वा महात्मा गान्धीसँगको सम्पर्क\बहस ।

यस्तै, स्वतन्त्रता सङ्ग्रामको बेला कतिपय विद्रोही नेताले नेपालको तराईमा शरण पाएको कुरा पनि बिर्सनुहुन्न, जसले गर्दा सार्वभौम नेपालप्रति उनीहरूमा संवेदनशीलता जाग्यो ।

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *