काे हुन् नेपालीका पूर्वज ?

हिमाल खबरपत्रिका (२९ भदौ – ४ असोज, २०७६) बाट

मानव उत्पत्ति र बसाइँसराइको विषय अति नै ‘राजनीतिक’ हुने गर्छ, किनकि जसमा पनि ‘शुद्ध’ नश्लको चाहना हुन्छ, भए/नभएको मिथ्या गुथेर आफ्नो पहिचान पृथक् र पवित्र बताउने मनसाय हुन्छ ।

आर्यहरू दक्षिण एशियाली महाद्वीपमा आइपुगेर नयाँ सभ्यता भित्र्याएको र पुरानो ‘अस्ट्रालोइड’ समुदायलाई दक्षिण उपमहाद्वीपतर्फ धकेलेको धेरैको बुझाइ छ । अनुसन्धानले दक्षिण एशियाली मानवको यस्तो ‘स्वच्छन्द’ उत्पत्तिबारे प्रश्नचिह्न उठाउँदै आएको छ, र हालै मात्र भारतबाट प्रकाशित टोनी जोसफको ‘अर्ली इण्डिएन्स्’ पुस्तकले सिन्धु घाँटीको सभ्यता आयातित नभई स्थानीय उत्पत्तिको उपज हो भनेका छन् ।

यसैको फेरोमा ‘अर्ली नेपलीज्’ लेख्ने हो भने भारतको विशाल जनसागरको उत्पत्ति भन्दा नेपालको अझै जटिल पाउनेछौं, किनकि मध्य हिमालयमा पर्ने आजको नेपालको भूभाग मानव बसाइँसराइ (जाने र आउने) दुवैको केन्द्रविन्दु हो ।

प्रख्यात स्विस् भाषाविद् जर्ज भ्यान् ड्रिमले भाषा विज्ञान र आनुवंशिक अध्ययनका आधारमा प्राग्–ऐतिहासिक बसाइँसराइको क्रममा मध्य र पूर्वी हिमालयको महत्व स्पष्ट पारेका छन् ।

उनको बुझाइमा जब ७० हजार वर्षअघि आधुनिक मानव (‘एनाटोमिकल्ली मोर्डन ह्यूम्यान्स्’) अफ्रिकाबाट बाहिरिए, सबैभन्दा ठूलो हाँगो पूर्वतर्फ लाग्यो ।

उतिबेला ‘लिटल आइस् एज्’ का हिउँले ढाकिएको तिब्बत र मङ्गोलिया हुँदै पूर्व लाग्ने अवस्था थिएन, त्यसैले ती फिरन्ते पूर्व–मानव नेपालको भित्री मधेश/तराई र गङ्गा मैदान हुँदै ब्रह्मपुत्र नदी तरे अनि एशियाभरि फैलिए — आजको चीन, दक्षिणपूर्व एशिया, उत्तर साइबेरिया र फिनल्याण्डसम्म ।

यिनीमध्ये केही समुदाय फेरि फर्केर नेपाल लगायत दक्षिण एशिया आए । केही पूरै उत्तर र दक्षिण अमेरिकामा बसोबास गर्ने भए, अन्य आजको न्यूजिल्याण्डसम्म पुगे । अर्थात् त्यहाँका माओरी समुदाय र दक्षिण अमेरिकाको टेरा डेल् फुवेगोसम्मको ‘नेटिभ् अमेरिकन्स्’ का पुर्खा हाम्रै चुरे–भावर बाटो हुँदै गएको अनुमान छ ।

आनुवंशिक अध्ययनले नेपाल एक त बसाइँसराइको थलो र अर्को अन्यत्रबाट फर्किआएकाहरूको सम्मिश्रणको मुलुक हो भन्न सकिन्छ । त्यसो हो भने हाम्रा समुदायको उत्पत्ति कुन कुन कुनाकन्दरासँग गाँसिएको छ ? दक्षिण एशिया वा अन्यत्र ?

जर्ज भ्यान ड्रिमको यो सुझाव पुष्टि गर्न नेपाली भूभागमा पुरातात्विक अध्ययनको जरुरी छ । प्रख्यात अनुसन्धानकर्ता गुड्रुन कर्भिनस्ले दाङ उपत्यकामा यस्तो काम थालेकी थिइन् । तर, द्वन्द्वकालका कारण उनी हट्नु पर्‍यो । अहिले उनी रहिनन् ।

आनुवंशिक अध्ययनले नेपाल एक त बसाइँसराइको थलो र अर्को अन्यत्रबाट फर्किआएकाहरूको सम्मिश्रणको मुलुक हो भन्न सकिन्छ । त्यसो हो भने हाम्रा समुदायको उत्पत्ति कुन कुन कुनाकन्दरासँग गाँसिएको छ ? दक्षिण एशिया वा अन्यत्र ?

हाम्रो प्राग्–ऐतिहासिक पूर्वजको उत्पत्तिको फैलावट एक त हामीलाई चकित/रोमाञ्चित बनाउँछ भने राम्रो बुझाइ भए आजको दिन अन्तरसामुदायिक सहिष्णुतालाई पनि मद्दत गर्दछ । यसै कारण पनि नेपालीको प्राचीन ऐतिहासिक बसाइँसराइबारे बढी खोज हुनुपर्छ ।

साधारण मान्यताको कुरा, आजको ‘खस आर्य’ समुदाय उत्तरपश्चिम भारतबाट मुस्लिम आक्रमणको बेला नेपालको पहाड उक्लिए । तर, ‘खस आर्य’ कस्पिएन सागरदेखि पहाडै पहाड बरालिंदै नेपालको भू–भाग आइपुगेको तर्क पनि छ । हुनसक्छ, नेपालमा उहिलेदेखि नै ‘खस आर्य’ को आगमन विविध दिशाबाट थियो ।

एउटै परिवार या खलकको आनुवंशिक अध्ययनले पनि यो बताउँछ कि, शायद हाम्रा पूर्वजको फैलावट एशियाव्यापी थियो । दुई वर्षअघि सल्यान जिल्लाको एक ‘खस क्षेत्री’ बुढाथोकी थरको पुरुषले अमेरिकामा आफ्नो आनुवंशिक (‘डीएनए’) अनुसन्धान गराएछन् । उनको उत्पत्तिको परिणाम यस्तो देखियो–

उत्तरपूर्व एशिया – २८ प्रतिशत

दक्षिण उपमहाद्वीप – २५ प्रतिशत

उत्तर उपमहाद्वीप – २३ प्रतिशत

दक्षिणपूर्व एशिया – १७ प्रतिशत

मध्य एशिया/साइबेरिया – ५ प्रतिशत

यी बुढाथोकी पुरुषको वंश विवरणले सबै नेपालीको इतिहास भन्दैन, न त अन्य खसका पूर्वजलाई नै योसँग जोड्न सकिन्छ । तर सल्यानका बुढाथोकी हाँगो एशियाको कस्ता र कुन कुनाकन्दरासँग गाँसिएको छ भन्ने छनक भने हामीले पायौं ।

हाम्रा पूर्वज को–को थिए, कता–कताबाट आए, विभिन्न वंशजको वैज्ञानिक उत्पत्ति धार के हो ? यस्तै कौतूहलले मनलाई उत्साहित बनाउँछ ।

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *