काठमाडौंको प्योङ्गयाङ्ग मोह

हिमाल खबरपत्रिका (३१ जेष्ठ-८ अाषाढ, २०७५) बाट

ट्रम्पले भर्खरै मात्र उत्तरकोरियाका अधिनायकसँग हात मिलाए, हाम्रा नेताले त उहिल्यै मीत लगाइसकेका थिए ।

दशकौं भयो, हाम्रा केही वामपन्थी नेताहरूले उत्तरकोरिया यात्रा गर्ने गरेको, कहिले सुटुक्क त कहिले खुलेआम । बाँकी हामीलाई भने सधैं कौतूहल लागिरह्यो– यी चनाखा, सुझबुझे नेताहरू आखिर किन विश्वका अधिकांश मुलुकले छिःछिः र दूरदूर गर्ने उत्तरकोरियाली सत्तासँग भलाकुसारी गर्छन् ?

के कुरा हुँदो हो, कस्ता योजना बुनिंदो हो ? यस्तो किन पनि भने, उत्तरकोरिया र नेपालबीच द्विपक्षीय सहकार्यको कुनै सम्भावना पनि देखिंदैनथ्यो । त्यसैले नेपालको राजनीतिक नेतृत्वको यो व्यवहार लाजै लाग्ने खालको थियो/छ ।

उत्तरकोरिया मानवअधिकार हनन्‌मा संसारकै खत्तम देश मानिन्छ, जहाँ किम परिवारको जहानियाँ शासन छ, जनता जुछे (आत्मनिर्भर) विचारधारा नामको नियन्त्रणात्मक पद्धति अन्तर्गत चल्नुपर्छ, समाज र राज्य पूरै सैनिकीकरण भएको छ ।

बखुण्डोल, ललितपुरस्थित उत्तरकोरियाली दूतावास । तस्वीरः गोपेन राई

हाम्रो पञ्चायत एकतन्त्रीय व्यवस्थालाई दशौं गुणा माथ गर्ने खालको छ जुछे व्यवस्था र, यतिबेला यो देश आणविक अस्त्र र अन्तरमहाद्वीपीय क्षेप्यास्त्र मार्फत संसार तर्साउने क्षमता राख्ने भइसक्यो ।

किम परिवार आफ्ना आलोचकलाई क्रूरतापूर्वक सिध्याउँछ नातागोतालाई समेत, कुशासनका कारण अनिकालमा लाखौं लाख जनताको ज्यान जाँदा समेत आँखा चिम्लन्छ । उत्तरकोरियामा ‘कम्युनिष्ट’ शासन छ भन्न पनि मिल्दैन, यो त जनता मारा जहानियाँ सत्ता हो ।

अतः अनुसरण गर्ने खाले मुलुक नै होइन उत्तरकोरिया । काठमाडौंमा उत्तरकोरियाली दूतावास नभएको होइन, तर यसको कूटनीतिक ‘प्रोफाइल’ नगण्य छ । अन्यत्र जस्तै यहाँको दूतावासले पनि प्योङ्गयाङ्ग सरकारको आयआर्जनको लागि एउटा रेस्टुरेन्ट खोलेको छ, दरबारमार्ग छेवैको ‘नर्थ कोरिया प्योङ्गयाङ्ग आरिराङ्ग रेस्टुरेन्ट’ ।

नेपाल समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाद्वारा समृद्धि खोजिरहेको छ, तर प्योङ्गयाङ्गका अधिनायकको भने एउटै ध्येय छ– मारपिट, प्रोपोगाण्डा, जासूसी तथा सैनिक डण्डाद्वारा सत्ता लम्ब्याइरहने ।

समृद्धिको ‘स’ पनि प्योङ्गयाङ्ग सत्ताको रेडारस्कोपमा पाइँदैन । त्यसैले नेपालका लागि किमार्थ उत्तरकोरिया उदाहरणीय हुन सक्तैन । यस्तो चरित्रको प्योङ्गयाङ्ग सत्तासँग किन बेलाबखत हात मिलाउन जान्छन् हाम्रा कहलिएका नेताहरू ?

के यो नेताको विदेश भ्रमणको लोभ मात्रै हो या नेपाली राजनीतिज्ञको ‘नो–भेकेशन्’ वास्तविकताबाट अलि दिन बेफिक्री हुने मेसो ? प्योङ्गयाङ्ग गएपछि नेताज्यूको काम नै हुन्न— न कुनै महत्वपूर्ण कूटनीतिक काम, न पार्टीको ‘सम्पर्क मञ्च’ को कार्यक्रम, न गैरआवासीय नेपाली (एन्–आर–एन्) च्याप्टरको अभिनन्दन ।

विशुद्ध छुट्टी मनाउन पाइने, चौडा सडकमा यसै भौंतारिए कसैले केही नभन्ने— यही नै हुनुपर्छ भ्रमणको धोको, मेरो तर्क क्षमताले अरु केही सुझाउँदैन ।

अमेरिकी हावादारी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचम्मको कूटनीति गर्दै २९ जेठमा सिंगापुरमा उत्तरकोरियाली राष्ट्रपति किम् जोङ्ग उन्‌सँग शिखर सम्मेलन गरे । उनले यी उत्तरकोरियाली अधिनायकलाई एकै झट्कामा अन्तर्राष्ट्रिय विश्वसनीयता दिलाइदिए, समकक्षीको तहमा ल्याइदिए ।

यो नाटकीय भेटघाट पश्चात् हाम्रा कतिपय नेताहरूलाई लाग्दो हो– ठीकै त गरिएछ आफैंले पनि । अमेरिकाले अहिले आएर उत्तरकोरियालाई मान्नुपर्‍यो, हामीले त उहिल्यै अंकमाल गरेका हौं । तर यो त आत्मरतिमा रमाउने वहाना मात्र हुनेछ ।

ट्रम्प कति नै लोकतान्त्रिक, विश्वसनीय व्यक्तित्व हुन् र उनको ल्याप्चे मुनि हामीले ओत लिने ? साँच्चै नै, ट्रम्पको क्रियाकलापलाई उदाहरणीय भन्दै आफ्नो मुलुकको वजन घटाउने सोच नराखौं ।

शून्यबाट अकस्मात् विस्तारित अमेरिकी–उत्तरकोरियाली सम्बन्ध कता जान्छ, त्यो पनि हेर्न बाँकी नै छ । जे भए पनि यसको लाभ उत्तरकोरियाका पुराना मित्रमा गनिने नेपाली नेताले पाउने सम्भावना भने विरलै छ ।

जताबाट, जसरी, जति पटक नियाल्दा पनि हाम्रा नेताको काठमाडौं–प्योङ्गयाङ्ग–काठमाडौं यात्रा बुझी नसक्नु छ । शायद, उहाँहरूमध्ये कसैले कुनै दिन ‘मेरो प्योङ्गयाङ्ग मोह’ संस्मरण लेख्नुहोला, र चाल पाइएला ।