एनालग फोटोग्राफर !

हिमाल खबरपत्रिका (८-१४ भदौ, २०७६) बाट

फोटोग्राफी ‘डिजिटल’ नहुँदासम्म अर्थात् सन् १९९० को दशकपूर्व यो रसायन, फिल्म माध्यम र प्रकाशको विधा थियो । डिजिटल क्यामेरा र स्मार्ट फोनको जमानामा फ्रेमिङमा मात्र ध्यान दिएर ‘पोइन्ट एण्ड शूट्’ गरे पुग्छ । तर, बेला यस्तो पनि थियो, ‘एपर्चर’, ‘एफ् स्टप’, ‘शटर स्पीड’ बुझ्नुपर्ने । लेन्स छेक्ने प्वाल कति ठूलो या सानो पार्ने सोच्नुपर्‍यो, ‘डेप्ट् अफ फील्ड’ घटाउन वा बढाउनका लागि । जति सानो प्वाल गर्‍यो त्यति नै नजिक र टाढाका दुवै ‘फोकस्’ हुने । उज्यालोको मात्रा हेरेर पनि ‘एफ् स्टप’ निर्धारण गर्नुपर्थ्याे ।

आज डिजिटल फोटोग्राफीको राज छ । तर एपर्चर, एफ् स्टप चलाउने जमात पनि हराइसकेको रहेनछ । यसखाले प्रयोगलाई ‘एनालग फोटोग्राफी’ नाम दिइएको छ, र नेपालमण्डलमा यसका सौखिन प्रशस्तै रहेछन् । सन् १९७८ मै ‘सोलो फोटोग्राफी’ प्रदर्शन गरेको म पनि ‘एनालग फोटोग्राफर’ रहेछु ।

स्मृतिमा एकाएक केही दशकअघिका दृश्य तरङ्गित हुन थाले, मेरो बुबा कमल दीक्षितले हातमा थमाइदिएको १२० मिमि फिल्म रोल चल्ने रोलिप्लेक्स् क्यामेरा र ३५ मिमि फिल्मको ‘एस्एल्आर’ भोइत्लाण्डर क्यामेरा । पूर्णतः अँधेरो डार्करुम्मा रातो बत्ती मुनि फिल्म प्रोसेस् गरेको सम्झना, डेभेलपर र हाइपो फिक्सरको कडा सुवास । यस्तैमा याद आए, काठमाडौं तलेजु मन्दिर उत्तरपट्टि पर्ने त्यो बेलाको फोटोग्राफीको मन्दिर — ‘राज फोटो हाउस’ र सञ्चालक बद्रीदाइ (मानन्धर) । फोटो सामग्री किन्ने र रोल धुने थलो ।

नेपालमा सन् १८६२ मा पहिलोपटक फोटो खिचिएको रहेछ, जब फोटोग्राफर क्लारेन्स् कोमिन् टेलर तस्वीर खिच्नका लागि भनी ‘एसिस्टेन्ट रेसिडेण्ट’ को दरबन्दीमा काठमाडौं रेसिडेन्सीमा खटिए । टेलरले केही मठ–मन्दिरको ल्याण्डस्केप र जङ्गबहादुर तथा परिवारको पोट्रेट खिचे । नेपालका जात–जाति प्रतिनिधित्व गर्ने फोटो पनि खिचे, मुर्मी (तामाङ), लिम्बू, गुरुङ, सुनुवार, नेवार, खस र मगर । यी तस्वीरमध्ये एक गुरुङ युवाको अर्धकद ध्यान तान्ने खालको छ ।

क्लारेन्स् कोमिन् टेलरले सन् १८६२ मा खिचेको गुरुङ्ग पुरुषको फोटो ।

नेपालीको हकमा क्यामेरा पहिले दरबारमा पस्यो, त्यसैले राणाहरूको रहनसहन र पोर्टेचरले अग्रस्थान पायो । मदन पुरस्कार पुस्तकालयमा रहेका एल्बम्हरूमा राणाहरूको भेषभुषा, मुहार, गृहस्थी केही दशकभित्रै ठेट ‘पहाडिया’ बाट ‘युरोपियन’ हुँदै गएको आभास पाइन्छ । विस्तारै फोटोग्राफी नेवार र खस क्षेत्री–बाहुन भारदारको घर छिर्‍यो । र, मलाई पनि यही विरासतकै फल राणा दरबारसँग सम्बन्धित हजुरबुवा र बुवाबाट मिल्यो ।

विस्तारै फोटोग्राफीको दायरा पनि फराकिलो बन्दै गयो, घरपरिवारबाट बाहिर निस्कन थाल्यो । जस्तै कमल दीक्षितले आफ्नो ‘एन्एस्यू’ भेट्भेटेमा वासुदेव लुइँटेल (कवि ‘भूतको भिनाजु’) लाई पछाडि राखी वाङ्मयका शिखरपुरुष लेखनाथ पौड्याल, पारसमणि प्रधान, बाबुराम आचार्य, लक्ष्मीप्रसाद देवकोटा, सोमनाथ सिग्द्याल, भवानी भिक्षुको पोर्टेट् खिच्न यताउता दौडिए ।

सन् १९७० को दशक, जब म आफू एक्लै पदयात्रा गर्दै जिल्लाजिल्ला घुम्न थालें, मेरो मुख्य साथी नै उही भोइत्लाण्डर क्यामेरा रह्यो, जसको टाइमर लगाएर मैले सन् १९७४ मा हेलम्बुको गोरेटो छेउ आजभोलिको लवजमा ‘सेल्फी’ खिचें ।

त्यसताका, फोटोग्राफी सदरमुकाम बाहिर गाउँघरमा खासै फैलिएको थिएन, यो फोटो कलरल्याब भित्रिनु १५–२० वर्षअघिको कुरा । तर, जिल्लाजिल्लामा खटिएका अमेरिकी ‘पीस् कोर’ स्वयंसेवक प्रायः सबैको हातमा क्यामेरा र ब्ल्याक–एण्ड ह्वाइट फिल्म हुन्थ्यो । उनीहरूले कुनाकन्दरामा खिचेका फोटोहरू नै आज हाम्रा लागि ग्रामीण परिवेशको अभिलेख बनेको छ । पूर्व पीस कोर डगहलले हजारौं यस्ता तस्वीर डिजिटाइज गरेर हामीलाई अनलाइन उपलब्ध गराएका छन् ।

लेखकले हेलम्बुमा खिचेको ‘टाइमर सेल्फी’ (सन् १९७४) ।

फोटो खिचिएका बेला जहाँजहाँ आधुनिक तौरतरिका र उपकरण (मोटर बाटो, रेडियो, टेलिफोन, बजारीकरण, ई.) पुगेको थिएन, त्यस भेकको भेषभुषा, रहनसहन, खानपिन, व्यवसाय, वास्तुकला, गोरेटो र पँधेरो दुई शताब्दीअघिको जस्तो नै देखिन्छ । तसर्थ सन् ७० वा ८० को गाउँघरको फोटाले हामीलाई नेपालको प्राचीनकालतर्फ धकेल्छ — कसरी बस्थे हाम्रा पूर्वजहरू आदिकालदेखि दुई–चार दशकअघिसम्म पनि ।

यस अर्थमा एनालग फोटोग्राफी स्वयं हाम्रो इतिहासकालको क्यामेरा भन्न मिल्छ । छिनमै कायापलट भएको हाम्रो समाजले हेर्ने ऐना ।

 

 

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *