अमर लामाको पुनः हत्या

हिमाल खबरपत्रिका (१-१५ असोज २०६७) बाट

दोषी नठहरिएसम्म बेकसुर मानिने सभ्य समाज तथा कानुनी राज्यको सिद्धान्तलाई लत्याउँदै ३ जेठ २०५० को दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रतिको निधन भएपछि नेकपा (एमाले)को नेतृत्वपङ्क्ति नेताद्वयको हत्यामा संलग्न भनेर जीप चालक अमर लामाको चरित्रहत्यामा उत्रिएको थियो । अदालतबाट कसुर भोगिसकेका र आफू निर्दोष भएको सशक्त वकालत गर्दै आएका अमर लामाको ज्यान लिइयो, ११ साउन २०६० मा किर्तिपुरको गल्लीमा लखेटेर । अहिले आएर फेरि सिनेमा हलमा उनको चरित्रहत्या भएको छ ।

दासढुङ्गा दुर्घटनालाई षडयन्त्र भन्ने एमालेको भ्रामक अडानको प्रतिवाद गर्ने बहादुर त्यसवेला धेरै थिएनन्, कानुनीराजको वकालत गर्नेहरूमा समेत । यस्तै सतही सोच राख्ने, तर्क र इतिहासको उपहास गर्ने विचारनिर्माताले मुलुकलाई डोर्‍याएसम्म उग्रराष्ट्रवादको खोल ढ्ने, षडयन्त्रको खेती र कालो धन्दा गर्नेहरूले मनग्ये लाभ हासिल गरिरहने छन्, समाज र अर्थतन्त्र कहिल्यै अघि बढ्न सक्ने छैन ।

दासढुङ्गा दुर्घटनामा अमर लामाले चलाएको पजेरो जीप भारी वषका वेला चिप्लिएर नियन्त्रण बाहिर गई त्रिशूलीमा खसेको थियो । तर एउटा सडक दुर्घटनालाई षडयन्त्रमूलक हत्याको रूपमा चित्रण गरेर पूरै समाजलाई अपुष्ट षडयन्त्रको जालोमा अलमल्याइयो । यो कसले, किन, कसरी गर्‍यो, विश्वसनीय जवाफ खोज्ने कोही भएन । अन्योलको यो जालोलाई अझै उल्झाउन निर्देशक मनोज पण्डित आएका छन्, दासढुङ्गा चलचित्र लिएर ।

मूल नायक अनुप बरालको भूमिकाले धेरै नबोल्ने, नहाँस्ने अन्तर्मुखी इन्भेष्टिगेटरको रूपमा दासढुङ्गा काण्डको अनुसन्धान गर्ने तथाकथित सरकारी अधिकारीको मनोदशा चित्रण गरेको छ । षडयन्त्र पछाडिको शङ्कास्पद पात्रको अभिनयमा सौगात मल्लले राम्रो प्रर्दर्शन गरेका छन् । चलचित्रमा प्रभावशाली भूमिका भने अमर लामा बनेका दयाहाङ र्राईको छ, जसले पात्रमाथिको बज्रपातलाई राम्ररी उजागर गरेका छन् । अमर लामालाई व्यक्तिगत रूपमा चिनेका अधिकारकर्मी सुबोध प्याकुरेल दयाहाङले उनलाई हुबहु उतारेको अनुभव गर्दछन् ।

यो भूमिकाको लागि अमर लामाले आयोगसमक्ष दिएका बयान तथा उनको दासढुङ्गा दर्पण पढेर पात्रको व्यक्तित्व र मनस्थिति बुझन कोशिश गरेका दयाहाङलाई दासढुङ्गा प्रकरणबारे चाहिँ के लाग्दछ – भन्छन्, “सबै कुरा बुझ्न कोशिश गरेँ । दासढुङ्गा दुर्घटना थियो या षडयन्त्र; तर अमर लामाचाहिँ बेकसुर थिए भन्ने लाग्छ ।”

फिल्मलाई निर्देशक मनोज पण्डितको राजनीतिक दृष्टिकोण एवं राष्ट्रवादी चिन्तनले डोर्‍याएको छ । दासढुङ्गालाई षडयन्त्र प्रमाणित गर्न खोजिएको यो प्रयासले आजको अति तरल वाम-उग्रवाम प्रतिस्पर्धात्मक राजनीतिमा पनि असर पार्न सक्छ । अर्ध-वृत्तचित्र, अर्ध-कथानक चलचित्रको ढाँचामा छायाङ्कन र सम्पादनको नयाँ तौरतरिका प्रयोग गरिएको पश्चिमा मिस्ट्री शैलीको यो फिल्ममा सिनेमेटोग्राफी उत्कृष्ट छ । वृत्तचित्र शैलीमा मदन-आश्रति जीवित हुँदाको आर्काइभल फुटेज राम्ररी प्रस्तुत गरिएको छ, तर त्यस्तै शैलीमा फिक्शन फुटेज पनि प्रस्तुत गरिदिँदा कुन कुरा वास्तविक, कुन काल्पनिक छुट्याउन दर्शकलाई गाह्रो परेको छ । चलचित्रको सबैभन्दा आपत्तिजनक क्षण छ -मदन भण्डारी र जीवराज आश्रतिको अभिनय गर्ने कलाकारलाई गाडीभित्रै मुखमा रुमाल हालेर बेहोस पारिएको दृश्य, जसलाई डकुमेन्ट्री शैलीमा पेश गरेर भ्रम खडा गरिएको छ ।

निर्देशक पण्डित भन्छन्, “अनुपको अनुसन्धानकर्ता पात्रलाई मानसिक रूपले विचलित भूमिका दिएर दासढुङ्गामा पूरै मुलुक अन्योलग्रस्त भएको चित्रण गर्न खोजेको हुँ ।” त्यो उद्देश्य उनको होला नै, तर दर्शकहरू दासढुङ्गा दुर्घटना होइन षडयन्त्र हो भन्ने ठोकुवा गर्दै हलबाट बाहिरिन्छन् । अमर लामालाई मार्ने वेलाको किर्तिपुर गल्लीको छायाङ्कनमा पुरुषोत्तम प्रधानको क्यामेरा, निमेष श्रेष्ठको सम्पादन र दयाहाङ र्राईको अभिनयबीच उत्कृष्ट संयोजन भेटिन्छ । तर, यहाँ पनि उनको हत्याबारे र्सार्वजनिक भएका कर्ता र कर्तुतको विश्वसनीय सूचना अनुसार फिल्मको पटकथा बुनिएको छैन ।

दासढुङ्गा दुर्घटनामा मदन-आश्रतिको निधन हुनुअघिसम्म नेताहरूका नजरमा कर्मठ पार्टी कार्यकर्ता चालक अमर लामाप्रति घटनालगत्तै उनीहरूको धारणा बदलिनुमा कुन नयाँ सूचनाले काम गर्‍यो, र्सार्वजनिक भएको छैन । तर, आफू निर्दोष रहेको कुराको राम्रो प्रतिरक्षा गरेका लामाको बृहत् र क्रूर राजनीतिक माहोलसामु केही लागेन । उनको गहिरो तनाव दयाहाङको प्रस्तुतिमा र्छलङ्ग हुन्छ, विना रोदन अथवा मेलोड्रामा । शायद अमर यस्तै थिए ।

मनोज पण्डितले चलचित्र विधालाई न्याय गरे पनि दासढुङ्गा घटना चित्रणको सजिलो बाटो समातेका छन् । उनले अमर लामालाई न्याय दिएको, दिन चाहेको पनि देखिएन । आजसम्मको षडयन्त्रको खेतीबाट माथि उक्लन नसकेको, बरु षडयन्त्रलाई अझै मलजल गर्न पुगेको यो फिल्मले कम्युनिष्ट नेता मदन भण्डारीलाई दासढुङ्गामै जाकेर उनको प्रतिभा र देनलाई संसारसामु ल्याउने बाटोमा अर्को तगारो तेर्स्याएको छ । थप प्रमाण पेश नभएसम्म भन्नै पर्ने हुन्छ, मदन भण्डारी र जीवराज आश्रति हत्याको नभई दुर्घटनाको सिकार भएका थिए र उहाँहरूको सम्झनालाई दासढुङ्गाको कारागारबाट मुक्त गर्नुपरेको छ । तर, अमर लामाको त हत्या नै भएको हो नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *